ad ad

कारोबार


दैनिक सयौँ बस आउजाउ गर्ने नयाँ बसपार्कमा सन्नाटा, पार्किङमै थोत्रिए सवारीसाधन (भिडियो)

दैनिक सयौँ बस आउजाउ गर्ने नयाँ बसपार्कमा सन्नाटा, पार्किङमै थोत्रिए सवारीसाधन (भिडियो)

वसन्त अर्याल
असार २६, २०७७ शुक्रबार १२:२७,

दैनिक सयौँ गाडी बाहिरिने र भित्रिने काठमाडौंको नयाँ बसपार्क साढे तीन महिनायता शून्य बनेको छ। विश्व महामारी कोरोना संकट गहिरिनथालेसँगै गरिएको लकडाउनले दिनरात चहलपहल भइराख्ने बसपार्कमा शून्यता छाएको हो।

बसपार्कमा लामो दूरीका ८/१० वटा बसहरु रोकिराखिएका छन् भने उपत्यका चल्ने मयुर यातायातका केही बसहरु पनि पार्किङमा देखिन्छन्।

गाडी आउजाउ बन्द भएपछि बसपार्कको पिचमा लेउ लागेको छ। कतै कतै त घाँसै उम्रिसकेका छन्। टिकट काउन्टरहरु धूलोमैलोबाट धमिलिएका छन्।

Main image buspark n

बसपार्कभित्रका पसलहरुको हालत पनि उस्तै छ। केही व्यापारी आउँछन् सटर खोल्छन्, सरसफाइ गर्छन् अनि निराश हुँदै घर फर्किन्छन् ।

‘बसपार्क यति लामो समय शान्त भएको कहिल्यै देखेको थिइनँ’, लामो समयदेखि बसपार्कमा काम गर्दै आएका एक कर्मचारीले शुक्रबार नेपालखबरसँग भने, ‘दैनिक हजार गाडी आउजाउ हुने बसपार्क सुनसान हुँदा अचम्म लागेको छ।’

Buspark n 6

ती कर्मचारीले भनेझैँ त्यहाँ पुग्ने जो कोहीले अनुभव गर्न सकिने गरी शून्यता छाएको छ। अझै पनि गाडी कहिले चल्ने टुंगो छैन। साउन ७ गतेसम्म त अहिलेकै अवस्थाको लकडाउन कायमै छ।

उपत्यकामा आंशिक बजार खुलेको छ। भर्खरै सरकारले उपत्यकाभित्र सार्वजनिक यातायात पनि खोलिदिएको छ। अन्य जिल्लामा पनि अर्को जिल्ला जान नपाउने गरी सार्वजनिक यातायात खुलाइएको छ। तर यातायात व्यवसायीले आफ्नो माग पूरा नभएको भन्दै गाडी चलाएका छैनन्।

चैतमा उपत्यकाबाहिर गएका सर्वसाधारण आफ्नो व्यवसाय, रोजगारीका लगि उपत्यका आउन चाहेका छन्। तर लामो दूरीको यातायात नचल्दा उनीहरु आफ्नै घरमा रोकिन बाध्य छन्।

Buspark n 5

नयाँ बसपार्कबाट पूर्व र पश्चिमका लामो दूरीमा बस छुट्छन्। उपत्यकाकै विभिन्न ठाउँमा समेत सञ्चालन हुन्छन्।

‘नयाँ बसपार्कबाट लामो दूरीका दैनिक करिब ४ सय गाडी बाहिरिन्छन्, उपत्यकामा करिब १०० गाडी बाहिरिन्छन्’, बसपार्कमै रहेको ल्होत्से बहुउद्देश्य प्रालिका एचआर पंकज मल्लले भने।

ती गाडीहरुको आवाजको न्यास्रो मल्ललाई पनि लाग्नथालिसकेको छ।

पार्किङमै थोत्रिए बसहरु
लामो समययता रोकिनुपरेपछि भएका बसहरुको समेत पार्किङमै झ्यालका सिसा फुटेका छन्। कुनै कुनैको त टायर पन्चर भइसकेको देखिन्छ। साढे दुई वर्षअघि सार्वजनिक यातायातको सिन्डिकेट तोडेर चर्चा बटुलेको मयुर यातायातका बस १० वर्ष पुरानाझैँ देखिन्छन्।

Buspark n 4

मयुरका नयाँबस साढे ३ महिनादेखि थन्किएका हुन्। गाडीभित्र माकुराले जालो लगाएको छ। अधिकांश बसका टायर बिग्रिसकेका छन्। व्यवसायीका अनुसार एउटा बस मर्मत गर्न एकदेखि दुई लाखसम्म खर्च लाग्छ।

‘बस कस्तो अवस्थामा छ भनेर हेर्न आएको कुनै बस स्टार्ट नै हुँदैनन्। कुनै टायर नै काम लाग्ने अवस्थामा छैनन्’, मयुर यातायातमा कार्यरत सुनिल रिजालले भने, ‘सरकारले सार्वजनिक यातायात सञ्चालन गर्ने भने पनि चलाउनसक्ने अवस्था छैन।’

Buspark n 9

बस नचल्दा दैनिक काम गरेर खाँदै आएका रिजालजस्ता धेरै यातायात मजदुरलाई ज्यान पाल्नै गाह्रो भएको छ।

उनले भने, ‘केही दिन त साहुजीसँग खर्च माग्यौँ। तर साहुहरुले पनि बस सञ्चालन नभएपछि कहाँबाट खर्च दिने भन्नुहुन्छ।’

उनीहरुले लकडाउनअघि दैनिक पैसा कमाएर साहुलाई बुझाउँथे। अब बस नै नचलेपछि मजदुरलाई पनि कसलाई के भन्ने अवस्था सिर्जना भएको छ।

उनले सार्वजनिक यातायात खुले पनि गाडीको किस्ता के हुने भन्ने निश्चित नहुँदा शुक्रबार गाडी नचलाएको बताए।

Buspark n 12

‘हामीले आज गाडी निकाल्दा भोलि बैंकले किस्ता माग्छ। नभए गाडी जफत गर्नसक्छ’, रिजालले भने, ‘साढे ३ महिना लकडाउन भएको अवस्थामा किस्ता तिर्ने पैसा छैन।’

किस्ता तिर्ने समय ४ देखि ६ महिना पर सारे गाडी चलाउन तयार रहेको उनको भनाइ छ। सरकारले सार्वजनिक यातायातमा ५० प्रतिशत भाडा वृद्धि गरे पनि आधा मानिस बोकेर खर्च नउठ्ने उनले बताए।

सबैको एउटै हालत
मयुर यातायात मात्रै होइन, सबै बसको अवस्था उस्तै छ। सार्वजनिक यातायात व्यवसायीले यथास्थितिमा सार्वजनिक सवारीका साधनहरु नचलाउने घोषणा गरेका छन्।

सार्वजनिक यातायात केन्द्रीय महासंघले त पाँच बुँदे माग अघि सार्दै पूरा नभए सरकारलाई नै चाबी बुझाउने बताएको छ।

Buspark n 10

महासंघले सार्वजनिक यातायात साधनहरुमा विश्व स्वास्थ्य संगठनले मापदण्डअनुसारको व्यवस्था गरिदिनुपर्ने, यातायात मजदुर तथा आम यात्रुहरुको स्वास्थ्यको पूर्ण व्यवस्थासहित हस्पिटालिटीको व्यवस्था हुनुपर्ने, २०७७ असोज मसान्तसम्म बैंक किस्ता नलाग्ने व्यवस्था हुनुपर्ने, लकडाउन अवधिको कर छुटसहितको माग उसले अगाडि सारेको छ।

नेपाल यातायात राष्ट्रिय महासंघले पनि माग पूरा नभएसम्म सार्वजनिक यातायात सञ्चालन नगर्ने निर्णय गरेको छ। महासंघको शुक्रबार बसेको बैठकले आफूहरुका माग सम्बोधन पूरा भएपछि मात्रै सवारी चल्ने निर्णय गरेको हो।

‘हामीले सरकारसँग हाम्रा माग राखेका छौँ, माग पूरा भए मात्रै गाडी चलाउने निर्णय गरेका छौँ’, महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले शुक्रबारको बैठकपछि नेपालखबरसँग भने, ‘हाम्रो किस्ता के गर्ने, ब्याजदर के हुने, स्वास्थ्य मापदण्डलगायतका माग पूरा भए गाडी सञ्चालन गर्न सहमत भएका छौँ।’

भिडियो हेर्नुहोस् - 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .