ad ad

कारोबार


विरुवा उत्पादन र वितरणमा वर्षेनी लाखौं लगानी, संरक्षण नहुँदा बालुवामा पानी

विरुवा उत्पादन र वितरणमा वर्षेनी लाखौं लगानी, संरक्षण नहुँदा बालुवामा पानी

गोकुल जोशी
असार १८, २०७७ बिहिबार १३:२,

प्रत्येक वर्ष लाखौँको लगानीमा विरुवा उत्पादन गरेर वितरण गरिँदै आएको भए पनि उपलब्धि भने निराशाजनक रहेको छ। डिभिजन वन कार्यालय कञ्चनपुर र मातहतका कार्यालयहरुबाट वर्षेनी लाखौँको लगानीमा विरुवा उत्पादन गरेर वितरण गर्ने गरिन्छ तर त्यसको उपलब्धि लगभग शुन्य रहेको सरोकारवाला बताउँछन्।

वन कार्यालयबाट निःशुल्क विरुवा लगेर सामुदायिक, राष्ट्रिय, निजी वन, विभिन्न संघ–संस्था तथा कृषकहरुले हरेक वर्ष वृक्षारोपण गर्ने गरेका छन्। तर संरक्षण नहुँदा वर्षेनी लाखौँ विरुवा मर्ने गरेका छन्। लाखौँ लगानीमा उत्पादन गरिएका विरुवा संरक्षण हुन नसक्दा उपलब्धि निराशाजनक छ। यसले गर्दा सरकारी लगानी ‘बालुवामा पानी’ जस्तै भएको स्थानीयको तर्क छ।

वन कार्यालय कञ्चनपुरको तथ्यांक अनुसार आर्थिक वर्ष २०३३/०३४ सालदेखि हरेक वर्ष वृक्षारोपण हुँदै आएको छ। एक हेक्टर जमिनमा १६ सय विरुवा रोप्ने गरिन्छ। अहिलेसम्म कञ्चनपुरमा २ हजार हेक्टर भन्दा बढी क्षेत्रमा वृक्षारोपण भएको छ। तर वृक्षारोपण भए अनुसारको वनजंगल विस्तार भने भएको देखिँदैन।

संघीय सरकार र प्रदेश सरकारबाट विरुवा उत्पादन कार्यक्रम अन्तर्गत डिभिजन वन कार्यालयलाई एक विरुवा उत्पादनको रु ९ का दरले बजेट उपलब्ध गराउने गर्दछ। अर्थात डिभिजन वन कार्यालयले एक विरुवा उत्पादनमा रु ९ देखि रु १० सम्म खर्च गर्छ। गत वर्ष ७ लाख भन्दा बढी विरुवा वितरण गरिएको थियो। सरसर्ती हेर्दा त्यसकाे लागत १० लाख रुपैयाँ हाे।

डिभिजन वन कार्यालय र ६ वटा सब–डिभिजन वन कार्यालयबाट गरी यस वर्ष ६ लाख ३२ हजार विरुवा उत्पादन गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले बताए। वन कार्यालयका नर्सरीमा सिसौ, मसाला, टिक, कोइराला, टाँकी, बकाइनो, सितलचिनी, अम्बा, कागती, अशोक, पारिजात, अर्जुन, विजय साल लगायतका प्रजातिका बिरुवा उत्पादन गरिएको छ।

वन कार्यालयले विरुवा उत्पादनमनै अहिलेसम्म करोडौँ खर्च गरेको छ। तर संरक्षण नहुँदा लगानी ‘बालुवामा पानी’ जस्तै भएको भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष आसेफ कुवँरले बताए।

‘लाखौँ लगानी गरेर विरुवा उत्पादन गछौँ, वृक्षारोपण पनि गर्छौ तर ती विरुवा बच्दैनन्’ उनले भने, ‘यसले गर्दा लगानी अनुसारको उपलब्धी हासिल गर्न सकिएको छैन।’

संरक्षणको अभावमा वृक्षारोपण गरिएकोमध्ये ५० प्रतिशत विरुवा मात्रै बचाउन सकिएको सामुदायिक वन समन्वय समितिका अध्यक्ष शिवदत्त पन्तले बताए।

‘वृक्षारोपण गरिएको ठाउँलाई घेरबार नगरिँदा तथा आगलागी लगायतका कारणले विरुवा मर्ने गरेका छन्’ उनले भने।

वृक्षारोपण पछि हेरचाह नहुँदा विरुवा मर्ने गरेको डिभिजन वन कार्यालयको दाबी छ।

‘व्यवसायिक रुपमा वृक्षारोपण गरेकाहरुको राम्रै फस्टाएको छ। केही विरुवा त लैजाने बेला पनि बिग्रिन्छन्, राम्रो हेरचाह भएका विरुवा राम्रै फस्टाएका छन्’ सूचना अधिकारी अवस्थीले भने।

वन कार्यालयले निम्नस्तरका विरुवा बाँड्ने भएकोले विरुवा राम्रो नफस्टाउने गरेको कृषकहरुको तर्क छ। वन कार्यालयले भने मौसम अनुकुलको प्रजातीको विरुवा उत्पादन गर्ने गरिएको दाबी गरेको छ।

डिभिजन वन कार्यालयले विरुवा वितरण पछि अनुगमनलाई वेवास्ता गरेको छ। पहिले रोपिएका विरुवाको अवस्था बारे कार्यालय अनभिज्ञ छ।

वृक्षारोपण गर्ने भनेर लगेका विरुवा कसरी वृक्षारोपण गरेका छन्, विरुवाको अवस्था कस्तो छ भनेर ३/४ वर्षयता अनुगमन नगरेको पाइएको छ। ३/४ वर्ष अगाडि अनुगमन हुने गरेको तर त्यसयता भने अनुगमन नभएको सूचना अधिकारी अवस्थीले स्वीकारेका छन्।

सरकारको ठुलो लगानीमा विरुवा उत्पादन गरिने भएकाले विरुवा वितरणमा मात्रै सीमित नभएर संरक्षण, अनुगमनतर्फ पनि सम्बन्धित निकायको ध्यान जानु जरुरी रहेको स्थानीय बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .