ललितपुर महानगरपालिकाले दोस्रो चरणमा करिब २५ किमि साइकल लेन बनाउन अध्ययन सुरु गरेको छ। पहिलो चरणमा ५ किमिमा काम गरिरहेको महानगरले दोस्रो चरणको अध्ययन सुरु गरेको हो।
महानगरले पहिलो चरणमा थापाथली–पुलचोक–जाउलाखेल–लगनखेल –मंगलबजारबाट घुमेर फेरि पुलचोकसम्मको काम गरिरहेको छ। उक्त सडक खण्ड करिब ५ किमि छ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद भट्टराईले पहिलो चरणको कामसँगै दोस्रो चरणको लागि अध्ययन सुरु भएको बताए।
‘पहिलो चरणको काम भइरहेको छ। दोस्रो चरणको लागि कुन–कुन ठाउँमा सम्भाव्यता छ अध्ययन हुँदै छ’, भट्टराइले नेपालखबरसँग भने ‘अध्ययन पूरा भएपछि नगरपालिकाको पूर्वाधार विकास बजेटबाट साइकल लेन बन्छ।’
पहिलो चरणको ५ किमिमा करिब २० प्रतिशत काम सकिएको छ । थापाथलीदेखि पुलचोकसम्म साइकल लेनको लागि मार्किङको काम भएको छ भने सडकमा साइकल लोगो, हरियो कलर राख्न बाँकी रहेको छ।

ललितपुर महानगरको साइकल लेन विस्तारको लागि कन्सलटेन्टको काम गरिरहेका सहरी योजनाकार सोमराज रानाले लाइन कोर्ने मात्रै नभई सम्भव भएका ठाउँमा डेडिकेटेड साइकल लेन बन्ने बताए।
महानगरले ६ फेजमा करिब ६५ किमि साइकल लेन बनाउने योजना बनाएको छ।
‘६ वटा फेजमा काम हुँदा ६५ किमि बाटो बन्छ’, रानाले भने, ‘ ललितपुर महानगरपालिकाको साइकल सिटी बनाउने अवधारणाअनुसार दोस्रो चरणमा कुन ठाउँमा डेडिकेटेड बनाउन सकिन्छ भनेर अध्ययन गरिरहेका छौँ।’
उनले दोस्रो चरणमा २४.४५ किमिको लागि अध्ययन भइरहेको जानकारी दिए। गाडी कुदिरहेको सडकमा साइन बोर्ड, साइकल लोगो, हरियो कलर गरी छुट्टिने बताएका छन्।
दोस्रो चरणमा पुलचोकदेखि धोविघाट १.२ किमि, जाउलाखेलदेखि एकान्तकुना ०.८ किमि, महेन्द्र पार्कदेखि रिङ रोड दमधार मार्ग ०.७५ किमि, लगनखेलदेखि सातदोबाटो १ किमि, मंगलबजारदेखि ग्वार्को १ किमि, लोन्ला टोल मार्गदेखि बालकुमारी १.३ किमि साइकल लेन बनाउने अध्ययन भइरहेको छ।
त्यस्तै धावाबाहीदेखि शंखमूल पुलसम्म १.१ किमि, पुलचोकदेखि बखुण्डोल मैन्त्री ०.६ किमि, रिङ रोडदेखि कुपन्डोल २.६ किमि, लगनखेलदेखि महालक्ष्मीस्थान ०.८ किमि, रिङ रोडदेखि वाग्मती पुलसम्म ०.९ किमि, एकान्तकुनादेखि वाग्मती बसपार्कसम्म ४.६ किमि, सातदोबाटोदेखि थैव ४ किमि, सातदोबाटोदेखि ठेचो ३.८ किमिमा सडकमा साइकल लेनसम्बन्धी अधययन भइरहेको छ।
अध्ययनको लागि नेपाल साइकल समाजले सहयोग गरिरहेको छ। शनिबार समाजले साइकलिस्टको सहयोगमा अध्ययन भइरहेको सडकमा साइकल कुदाएर सर्भे गरेका थिए।
साइकलसम्बन्धी कानुन बनेन
ललितपुर महानगरले साइकलसम्बन्धी कानुन बनाउन खोजे पनि विवादमा आएको छ। महानगरले कानुन पास गर्न खोज्दा कांग्रेसका मेयर र नेकपाका वडा अध्यक्षबीच कुरा नमिलेको हो।
तर ललितपुर महानगरपालिकाका कनुन अधिकृत खगेन्द्र प्रसाद वस्तीले भने सडक विभागको कारण कानुन बन्न रोकिएको बताएका छन्।
‘सडक विभागबाट हाम्रो मातहतको सडकमा केही कामअगाडि नबढाउनु भन्ने पत्र आएको छ’, वस्तीले भने, ‘त्यसकारण महानगरले कानुन बनाउन नसकेको हो।’
यो पनि पढ्नुहोस्ः
- ‘कोरोनाबाट बच्न यातायातको उत्तम विकल्प साइकल’
Shares

प्रतिक्रिया