ad ad

कारोबार


कृषकका आलु गाउँपालिकाले नै किनिदियो

कृषकका आलु गाउँपालिकाले नै किनिदियो

हिमलाल पराजुली
असार १२, २०७७ शुक्रबार ९:४३,

आँधीखोला गाउँपालिकाले कृषकले उत्पादन गरेको आलु बारीबाटै खरिद गरिदिएको छ। आँधीखोला–१ भक्किमले, दत्तेलटे र त्रिवेणीका बर्खे आलु बारीबाटै सो गाउँपालिकाले खरिद गरिदिएपछि उनीहरु उत्साहित भएका छन्। त्यहाँका ५४ घरका कृषकले ९० रोपनी बाँझो जमीनमा सामूहिक रुपमा आलु लगाएका थिए। गाउँपालिकाले ४२ टन आलु रु ५५ का दरले खरिद गरेको हो।

तरकारी, फलफूल लगायतका उत्पादित वस्तु लकडाउनका कारण बिक्री नभएर त्यतिकै फाल्नु पर्ने साथै बिचौलियाले कृषकसँग सस्तो मूल्यमा लिएर महँगो मूल्यमा बेच्दै आएको अवस्था रहेको थियो।

गाउँपालिकाका अध्यक्ष सुधीरकुमार पौडेलले बन्दाबन्दीका समयमा कृषकले उत्पादन गरेको बर्खे आलु गाउँपालिकाले खरिद गरेर बिक्री गर्ने व्यवस्था मिलाएको बताए।
उनले भने, ‘बन्दाबन्दीको बेला ६ जना किसानले सामूहिक रुपमा लागाएको आलु बिक्री नभएमा कृषक हतोत्साहित हुन सक्ने भएकाले कृषकलाई ऊर्जा थाप्नका लागि गाउँ पालिकाले नै बिक्रीको जिम्मा लिएर बेचिरहेको छ।’
व्यावसायिक कृषक तयार गर्दै कृषिमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यअनुसार गाउँपालिकाले काम गरिरहेको बताउँदै कृषकले उत्पादन गरेको सम्पूर्ण वस्तुको जिम्मा गाउँपालिकाले लिने उनले जानकारी दिए। कृषकको उत्पादन खेर नजाओस् भन्ने उद्देश्यका साथ गाउँपालिकाले आलु संकलन गरी कृषि एम्बुलेन्समार्फत बिक्री गरेको उनको भनाइ रहेको छ।

युवा कृषक चुडामणि पौडेलले भने, ‘आलु त लगाइयो यो बन्दाबन्दीको समयमा कसरी बिक्री गर्ने भन्ने चिन्ताले सताएको थियो। गाउँपालिकाले हाम्रो बारीबाटै उत्पादित आलु खरिद गरिदिएपछि यतिबेला निकै खुशी लागेको छ।’

अहिलेको बन्दाबन्दीको अवस्थामा गाउँपालिकाद्वारा उपभोक्ताको घरघरमै सुपथ मूल्यमा आलु पु¥याउन थालेपछि स्थानीय उपभोक्ता उत्साहित भएको गाउँपालिका उपाध्यक्ष शर्मिलादेवी पौडेलले बताइन्। गाउँपालिकाका कृषि शाखाका प्राविधिक सहायक विवेक आचार्यले आलु खेतीका लागि यस ठाउँको माटो, हावा र पानी उपयुक्त भएकाले आलु खेतीबाट राम्रो आम्दामी लिन सकिने बताए। उनले कृषकका हरेक समस्यामा आफू फिल्डमा नै पुगेर समस्या समाधानका लागि सल्लाह सुझावसमेत दिँदै आएको जानकारी दिए।

गाउँपालिकाले किसानहरुलाई कृषि पेशातर्फ आकर्षण गर्नका लागि समयसमयमा मौसमअनुसारका बीउ बिजन, कृषि यन्त्रका साथै प्राविधिक सहयोगसमेत गर्दै आएको जनाएको छ।

गाउँपालिकाले १ नं वडाका भक्किमले, दत्तेलटे र त्रिवेणीका कृषकले उत्पादन गरेको बर्खे आलु बारीबाटै खरिद गरेको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .