झण्डै तीन महिनादेखिको लकडाउनका कारण डेरी उद्योगले जाडोमा उत्पादन गरेको झण्डै ५ अर्ब रुपैयाँबराबरको बटर र पाउडर दूध (एसएमपी) यतिकै थन्किएको छ।
सामान्यतया जाडोमा दूध उत्पादन धेरै हुन्छ। उक्त समयमा धेरै भएको दूधलाई पाउडर दूध बनाइन्छ। पाउडर दूध बनाउँदा निकालेको फ्याटबाट बटर पनि उत्पादन हुन्छ।
यसरी जाडोमा उत्पादन भएको पाउडर दूध र बटरलाई दूध अभाव हुने गर्मीयाममा प्रयोग गरिन्छ।
यसपालि गर्मी सुरु भएसँगै मुलुकभर लकडाउन सुरु भयो। जसले गर्दा पाउडर दूध मात्र होइन उत्पादन भएको दूध समेत खपत हुनसकेको छैन।
मुलुकभरका डेरी उद्योगहरुले गर्मीको लागि भनेर उत्पादन गरेको पाउडर दूध र बटर झण्डै ५ अर्ब रुपैयाँबराबरको भएको नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहालले बताए।
जसमध्ये दूग्ध विकास सस्थानको एक अर्ब रुपैयाँ र निजी क्षेत्रको ४ अर्ब रुपैयाँबराबरको भएको उनको भनाइ छ।
राष्ट्रिय दुग्ध विकास बोर्ड सहायक निर्देशक बाबुकाजी पन्तका अनुसार ३ हजार ५ सय टन धूलो दूध र करिब ३ हजार टन बटर स्टक रहेको छ। उनले पनि ४ अर्बभन्दा माथिको दूध स्टक रहेको बताए।
‘यो पाउडर र बटर ८/९ महिनाभित्र प्रयोग गरिसक्नुपर्छ’, पन्तले भने, ‘यसको प्रयोग कसरी गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ।’
स्टकमा रहेको पाउडर दूध र बटरलाई खपत गर्ने विषयमा अहिलेसम्म तीनवटा विकल्प छलफल गरिएको छ। कृषि मन्त्रालय, बोर्ड र डेरी उद्योगीले ती विकल्पबारे छलफल अगाडि बढाएका छन्।
खपतका तीन विकल्प
१. निर्यात गर्ने– ठूलो मात्रामा स्टकमा रहेको पाउडर दूध तथा बटर स्वदेशमा खपत गर्नसक्ने सम्भावना धेरै कम भएकाले यसको निर्यात गर्नुपर्ने विषय उठेको छ।
यस विषयमा केही चरण छलफल समेत भएको तर मूल्यको विषयमा समस्या आएको पन्तले बताए।
‘पठाउन सक्ने सम्भावना कहाँ छ भनेर हामीले हेरिरहेका छौं,’ पन्तले नेपालखबरसँग भने, ‘दुवई, बंगलादेशमा पठाउनसक्ने सम्भावना पनि देखिएको छ।’
ती देशले दूध पाउडर आयात गरेर खाइरहेको भए पनि नेपालबाट पठाउन भने उत्पादन मूल्यको समस्या देखिएको छ। ती देशको उत्पादन मूल्यभन्दा नेपालको उत्पादन मूल्य महंगो देखिएको छ।
ती देशमा प्रतिकिलो पाउडर दूधको मूल्य दुई डलर रहेको र नेपालमा भने ४ डलर प्रतिकिलो परेको छ।
‘नेपालको पाउडरको मूल्य १.७५ डलर महंगो भएको कुरा आइरहेको छ’, पन्तले भने, ‘अब यो ग्यापलाई कसरी मिलाउने भन्ने बारेमा छलफल हुनलागेको छ।’
केही दिनभित्र यही विषय कृषि मन्त्रालयमा छलफल हुने तयारी समेत गरिएको छ।
दाहालले पनि झण्डै २ डलरको घाटा कसले व्यहोर्ने भन्ने अहिलेको समस्या भएको बताए।
२. राहत प्याकेजमा दिने– स्टकमा रहेको पाउडर दूध र घिउको खपतको लागि अहिले सबैभन्दा राम्रो उपाय राहत प्याकेजमा समावेश गर्ने रहेको बोर्डको भनाइ छ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण केन्द्र सरकार, स्थानीय तहले राहत सामग्री वितरण गरिरहेका छन्।
त्यसमा दाल, चामल, तेल, नूनलगायतको सामग्रीमा एक किलो घिउ र दूधको पाउडर समेत समावेश गर्न सकिने बोर्डले विकल्पको रुपमा अगाडि सारेको छ।
‘कोरोनाका कारण सबै स्थानीय तहमा राहत वितरणमा एक किलो घिउ र एक किो धूलो दूध पनि राखिदियो भने हाम्रो समस्या यहीँ समाधान हुन्छ’, पन्तले नेपालखबरसँग भने, ‘यो गर्नसके अन्य धेरै झन्झट लिनुपर्दैन।’
यस विषयमा पनि मन्त्रालयमा छलफल भएको उनले बताए।
३. एक किलो सित्तैमा– स्टकमा रहेको पाउडर दूध र बटरलाई बिक्री गर्न एक किलो अफरको स्किम ल्याउन सकिने विषयमा पनि छलफल भएको थियो। दुई किलो किन्दा एक किलो दिन सकिने विषयमा छलफल भए पनि त्यो अगाडि बढ्नसकेको छैन।
पन्तले अफरभन्दा पनि राहत वितरणमा दिन पाए राम्रो हुने आफ्नो मत रहेको बताए।
किसानको भुक्तानी रोकियो
झण्डै पाँच अर्ब रुपैयाँको पाउडर दूध र बटर स्टकमा रहेपछि डेरी उद्योगले किसानलाई दिनुपर्ने भुक्तानी रोकिएको छ। प्रायःजसो किसानबाट उठाएको दूधको भुक्तानी १५ दिनदेखि एक महिनाभित्र समयचक्र मिलाएर हुने गरेको थियो।
अहिले यस्तो भुक्तानी तीन महिनादेखि हुनसकेको छैन। ‘पाउडर दूध र बटर स्टकमा रहेकाले किसानको भुक्तानी समेत हुनसकेको छैन’, दाहालले भने, ‘बजारबाट अन्य रकम पनि उठेको छैन।’
किसानसँग डेरी उद्योगमा कार्यरत कतिपय कर्मचारी तथा मजदुरले समेत तलब पाउनसकेका छैनन्।
किसानको रकम लामो समयसम्म राख्न नहुने भन्दै सरकारले यसमा सहयोग गरिदिन व्यवसायीले आग्रह गरेका छन्।
अहिले डेरी उद्योगमध्ये जसको जति पाउडर दूध र बटर स्कटमा रहेको छ, त्यो बराबरको ‘ब्रिज मनी’ उपलब्ध गराइदिन आग्रह गरेको दाहालले बताए।
‘ब्रिज मनी उपलब्ध भएमा अहिले किसानको भुक्तानी पूरा गर्छौं’, दाहालले भने, ‘सहज हुँदा त्यो पैसा फिर्ता गर्नेछौँ।’ अथवा, यसको सट्टामा दुई वर्षको सहुलियतदरको रकम सरकारले उपलब्ध गराइदिने विकल्प पनि रहेको उनले बताए।
मुलुकमा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुन्छ। त्यसमध्ये ३१ लाख लिटर बजारमा आउनेछ भने ३१ लाख लिटर किसान आफैँले प्रयोग गर्छन्।
लकडाउनको अवधिमा ३१ लाख लिटर दूधमध्ये डीडीसी र निजी क्षेत्रको गरेर ३५ प्रतिशत बजारमा आएको छ। ६५ प्रतिशत बजारमा आउनसकेको छैन।
सहरका होटल, रेष्टुरेन्ट, स्कुल, कलेज, पार्टी प्यालेस सबै बन्द भएका कारण ठूलो मात्राको दूध प्रयोग हुनसकेको छैन।
हाल मुलुकभर दुईवटा संस्थामा दर्ता भएका डेरी उद्योगको संख्या २ सय ३० रहेको छ। त्यसबाहेक दर्ता नभईकन उद्योगको रुपमा एक हजार उद्योग सञ्चालनमा रहेको दाहालले बताए।
साथै, उद्योगको रुपमा नभएर घरेलु रुपमा चलेका ६ हजार डेरी रहेका छन्। दूध उत्पादनको रुपमा ५ लाख कृषक परिवार संलग्न छन् भने डेरी उद्योगमा २५ हजारले रोजगारी पाएका छन्।

प्रतिक्रिया