कारोबार


विश्व अर्थतन्त्र दोस्रो विश्वयुद्धपछिकै खराब अवस्थामा : विश्व बैंक

विश्व अर्थतन्त्र दोस्रो विश्वयुद्धपछिकै खराब अवस्थामा : विश्व बैंक

नेपालखबर
जेठ २७, २०७७ मंगलबार ११:२१,

विश्व बैंकले विश्वको अर्थतन्त्र दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खराब अवस्थमा पुगेको बताएको छ।

कोरोना भाइरस (कोभिड–१९) संकटका कारण अतिविकसित मुलुकदेखि अतिकम विकसित मुलुकसम्म आर्थिक मन्दीको अवस्था सृजना भएको विश्व बैंकले सार्वजनिक गरेको जुन २०२०, ग्लोबल इकोनोमिक प्रोस्पेक्टसमा उल्लेख छ।

विश्व बैंकको प्रक्षेपणअनुसार यो वर्ष विश्वको अर्थतन्त्र ५.२ प्रतिशतले ह्रास आउनेछ। यो दोस्रो विश्व युद्धपछिको विश्वको आर्थिक मन्दी हो।

रिपोर्टअनुसार १८७० पछिको विश्व अर्थतन्त्रमा देखिएको सबैभन्दा ठूलो क्षति हो।

विकसित मुलुकमा आन्तरिक माग र वितरण, व्यापार र अन्य आर्थिक गतिविधि नराम्ररी प्रभावित भएका कारण २०२० मा ७ प्रतिशतले खस्किने अनुमान गरिएको छ।

त्यस्तै, उदाउँदो अर्थतन्त्र भएका मुलुक र विकासशील अर्थतन्त्र २.५ प्रतिशतले घट्ने अनुमान छ।

त्यस्तै, विश्वमा प्रतिव्यक्ति आय ३.६ प्रतिशत घट्ने अनुमान विश्व बैंकको छ, जसले गर्दा दशौं लाख मान्छेहरु अतिगरिबीको रेखामुनि जाने सम्भावना रहेको छ।

कोरोना महामारीलाई नियन्त्रण गर्ने उपाय अवलम्बन गर्दा अमेरिकी अर्थतन्त्र यो वर्ष ६.१ प्रतिशतले खुम्चिने प्रक्षेपण विश्व बैंकको छ।

युरोप क्षेत्रमा भने २०२० मा ९.१ प्रतिशतसम्म खुम्चिनेछ। आर्थिक गतिविधिमा आएको मन्दीका कारण जापानको अर्थतन्त्र ६.१ प्रतिशतले घट्ने अनुमान छ।

विश्व बैंकमा अनुसार सन् २०२० मा दक्षिण एसिया क्षेत्रको अर्थतन्त्र २.७ प्रतिशतले खुम्चिने प्रक्षेपण छ। महामारी नियन्त्रणका लागि चालिएका गतिविधिले उपभोग र वितरण गतिविधि अनिश्चित भएको उसको भनाइ छ।

दक्षिण एसियाका नेपालसहित भुटान, श्रीलंका, माल्दिभ्समा पर्यटन क्षेत्रमा खराब अवस्थामा पुगेको छ।

यस क्षेत्रको जीडीपी यो वर्ष २.७ प्रतिशतले खुम्चिने अनुमान छ। छिमेकी देश भारतमा सन् २०१९/२० मा वृद्धिदर ४.२ प्रतिशतमा रहने र सन् २०२०/२१ मा ३.२ प्रतिशतले खुम्चिने अनुमान गरिएको छ।

सन् २०१९/२० मा नेपालको आर्थिक वृद्धिदर १.८ प्रतिशतले मा रहने अनुमान छ।

दक्षिण एसिया क्षेत्रमा बंगलादेश र नेपालको अवस्था उस्तै रहेको भनिएको छ। नेपाल र माल्दिभ्समा पर्यटन क्षेत्र आउँदो दिनमा खराब अवस्थामा पुग्ने अनुमान गरिएको छ।

सबैभन्दा ठूलो आर्थिक क्षति कोरोना संक्रमण धेरै भएका मुलुकमा हुने र जुन मुलुकको अर्थतन्त्र विश्व व्यापार, पर्यटन, वस्तु निर्यात र बाह्य आर्थिक सहयोगमा निर्भर छ, त्यो मुलुकलाई कोरोना संकटबाट ठूलो असर गर्ने विश्व बैंकको भनाइ छ।

विभिन्न क्षेत्रमा फरक फरक किसिमले असर गरेको सन्दर्भमा उदाउँदो अर्थतन्त्र भएका क्षत्र थप संकटमा परेका छन् ।

त्यस्तै, प्राथमिक स्वास्थ्यमा परेको प्रभावले मान्छेको सामाजिक विकासमा पनि प्रभाव पर्दै गएको छ।

‘यो धेरै खराब अवस्था हो, यसले विश्व अर्थतन्त्रमा लामो समयसम्म चुनौती थपिरहनेछ’, बैंकको लागि इक्विटिभ ग्रोथ, फाइनान्स एण्ड इन्टिच्युसन भाइस प्रेसिडेन्ट सेइला पाजार्बासिओग्लुले भनिन्, ‘विश्व स्वास्थ्य र आर्थिक संकटलाई सम्बोधन गर्नु हाम्रो पहिलो प्राथमिकता हुनेछ। साथै, गरिबीमा झर्ने र बेरोजगार हुनेहरुलाई बचाउन र सहयोग गर्ने दायित्व पनि हो।’

राम्रो अर्थतन्त्र भएका मुलुकमा यो वर्षको मध्यपछि मात्र केही सुधार आउनेछ भने विकाशोन्मुख देशहरुमा भने सुधार देखिन अझ बढी समय लाग्ने पनि उसले जनाएको छ।

विश्वको अर्थतन्त्रमा आएको मन्दी सन् २०२१ मा ४.२ प्रतिशतले सुधार हुनेछ। जसमध्ये विकसित मुलुकमा ३.९ र विकासशीलमा ४.६ प्रतिशलते सुधार आउन सक्ने औंल्याएको छ। तर, पनि विश्वमा खस्किएको अर्थतन्त्रमा यस्तो सुधार निश्चित गर्न नसकिने पनि उसले भनेको छ।

गरिबी मुलुकमा यो महामारीका कारण मानवीय र आर्थिक क्षति हुने विश्व बैंकको भनाइ छ। गम्भीर आर्थिक मन्दीका कारण लगानीमा दीर्घकालीन असर, बेरोजगार हुनाले आर्थिक क्षति र विश्व बजार चेन टुट्ने भनिएको छ।

स्वास्थ्य र आर्थिक नीति लागू गर्न अत्यावश्यक रहेको, विश्व सहयोग, अति संवेदनशील मान्छेहरुको सुरक्षा र देशहरुको क्षमता वृद्धि गर्न आवश्यक रहेको विश्व बैंकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad