कारोबार


उपत्यकामा सवारीसाधनको चाप बढेसँगै पेट्रोलियम पदार्थको खपतमा वृद्धि

उपत्यकामा सवारीसाधनको चाप बढेसँगै पेट्रोलियम पदार्थको खपतमा वृद्धि

नेपालखबर
जेठ २७, २०७७ मंगलबार १०:५७,

जारी बन्दाबन्दीकै बीच काठमाडौं उपत्यकाका मुख्य सडकमा विगत तीन दिनदेखि सवारी साधनको चाप बढेको छ।

लामो समय लकडाउन हुँदा जनजीवन सँगसँगै आर्थिक जीवनसमेत प्रभावित हुन थालेपछि मानिसहरु काममा निस्कन थालेका कारण सडकमा सवारी साधनको चाप बढेको हो।

प्रहरीले सवारी साधनको जाँचलाई केही खुकुलो बनाएको देखिन्छ।

अत्यावश्यक सेवा, ढुवानी सेवा, पासवाहक सवारी साधन बाहेक पनि सरकारी कर्मचारी, बैंक तथा उद्योग प्रतिष्ठानका कर्मचारीलाई परिचय पत्र हेरी सवारी सञ्चालन गर्न दिइएको छ। कुनै पनि संस्थाको परिचयपत्र बिना सवारी चलाउनेलाई भने प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ। सवारी साधनको चाप बढेसँगै पेट्रोल र डिजेलको खपतमा समेत वृद्धि भएको छ।

नेपाल आयल निगम थानकोट डिपोका प्रमुख प्रदीप यादवका अनुसार अन्य दिनको तुलनामा पेट्रोल र डिजेलको खपतमा १०० किलोलिटरसम्म वृद्धि भएको छ। गत शुक्रबारसम्म दैनिक २०० किलोलिटर पेट्रोल र ४०० किलोलिटर डिजेलको खपत हुँदै आएकामा आइतबार २२६ किलोलिटर पेट्रोल र ५२९ किलोलिटर डिजेल खपत भएको छ। सोमबार २८८ किलोलिटर पेट्रोल र ४३७ किलोलिटर डिजेल खपत भएको सो डिपोले जनाएको छ।

प्रमुख यादवका अुनसार थानकोट गृहको भण्डारण क्षमतामध्ये पेट्रोल ८५ प्रतिशत र डिजेल ७५ प्रतिशत मौज्दात रहेको छ। क्षमता हुँदाहुँदै पनि भारी मात्रामा तेल राख्न नमिल्ने कारण ट्यांकरमा नै तेल राखिएको उनले जानकारी दिए। उनका अुनसार ८० ट्यांकर पेट्रोल र १२० ट्या.कर डिजेल डिपोमा राखिएको छ। लकडाउनभन्दा अघिसम्म उपत्यकामा मात्र दैनिक ६०० किलोलिटर पेट्रोल र ८०० किलोलिटर डिजेलको खपत हुँदै आएको थियो।

डिजेल खपतमा कमी एसोसिएसन
आइतबारदेखि निजी सवारी साधन सञ्चालन हुँदा पेट्रोलको खपतमा वृद्धि भएता पनि डिजेलको खपतमा कमी आएको पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले जनाएको छ।

पहिलाका तुलनामा पेट्रोलियम पदार्थको खपत केही मात्रामा वृद्धि भएता पनि डिजेल खपतमा कमी आएको एशोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले बताए। उनले भने, ‘दुई पाङ्ग्रे निजी सवारी साधन सञ्चालनमा आउँदा पेट्रोलको खपतमा वृद्धि भएको हो। सार्वजनिक यातायात र उद्योग पूर्ण क्षमतामा सञ्चालन नहुँदा डिजेल खपतमा कमी आएको छ।’

एसोसिएसनका अुनसार आइतबारदेखि काठमाडौँ उपत्यकामा पेट्रोलको खपतमा ३० प्रतिशतले वृद्धि भएको छ भने देशैभरमा पेट्रोलियम पदार्थको खपतमा ३३ प्रतिशतले वृद्धि भएको छ।

नयाँ रिफ्युलर थप
नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन भर्न २७ हजार लिटर क्षमताका चार नयाँ रिफ्युलर (हवाईजहाजमा इन्धन भर्ने ट्यांकर) थप गरेको छ। नयाँ ल्याइएको दुई रिफ्युलर सोमबार भैरहवा भन्सार कार्यालयमा जाँचपास भएको निगमले जनाएको छ। नयाँ खरिद गरिएको चार रिफ्युलरमध्येमा दुई रिफ्युलर बन्दाबन्दीअघि नै ल्याइएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad