ad ad

कारोबार


लकडाउनविरुद्ध उत्रिँदै सर्वसाधारण : खुल्नथाले पसलहरु, चल्नथाले मोटर

लकडाउनविरुद्ध उत्रिँदै सर्वसाधारण : खुल्नथाले पसलहरु, चल्नथाले मोटर

सन्तोष न्यौपाने
जेठ २१, २०७७ बुधबार १२:१४,

नेपाल खुद्रा व्यवसायी महासंघका पूर्वअध्यक्ष पवित्रमान बज्राचार्य बुधबार दिउँसो टेकुबाट त्रिपुरेश्वरसम्म आउँदै थिए। टेकुबाट त्रिपुरेश्वरसम्मको छोटो दूरीमा हिँड्दा काठमाडौंमा लकडाउन छ जस्तो उनलाई लागेन।

त्यो क्षेत्रमा सबैभन्दा धेरै रहेका हेलमेट पसलहरु खुलै थिए। हार्डवेयर, डन्डी पसल, योगा पसल, मोटसाइकल वर्कशपलगायतका पसलहरु खुलै थिए।

‘मलाई त्यहाँ हिँड्दा लकडाउन जारी छ जस्तो लागेन’, नेपालखबरसँग बज्राचार्यले भने, ‘पसलहरु स्वःस्फुर्तरुपमा खुल्न थालेका छन्।’

khulna thale pasal 1 copy

बज्राचार्यले देखेको उक्त दृश्य टेकुमा मात्र होइन, उपत्यकाको विभिन्न ठाउँमा देख्न सकिन्छ। एकातिर सरकारले लकडाउन जारी रहेको घोषणा गरिसकेको छ भने अर्कोतिर आमसर्वसाधारणहरुले त्यसको उल्लंघन गर्न थालेका छन्।

अहिलेसम्म अत्यावश्यक भनेर खाद्यान्न पसल खुला गर्न अनुमति थियो। केही दिनदेखि भने अन्य पसलहरु एकपछि अर्को गर्दै खुल्न थालेका छन्।

कपडापसल, मोबाइल पसल, बच्चाका खेलौना पसलदेखि केही ठाउँमा चिया पसलसम्म खुल्न थालेका छन्।

khulna thale pasal 3 copy

रोग भन्दैमा दुई÷तीन महिनासम्म पसल बन्द गरेर बस्न नसकिने पेप्सीकोला फुटबल ग्राउन्डमा फेन्सी स्टोर राखेका एक पसलेले बताए।

‘महिनाको हजारौं भाडा तिर्नुपर्छ। कति महिनासम्म पसल बन्द गर्ने?’, उनले भने, ‘बिक्री नभए पनि पसल खोल्दा अलि आनन्द हुन्छ।’

सरकारले अत्यावश्यकबाहेकका अन्य पसल खुला गर्न अनुमति दिएको छैन। लकडाउनलाई जेठ ३२ सम्म पु¥याएपछि ठूला उद्योगी व्यवसायीदेखि खुद्रा व्यवसायीसम्मको आक्रोश बढेको छ।

khulna thale pasal 4 copy

कुनै पनि योजनाविहीन लकडाउन मात्र गरेको भन्ने आक्रोश सर्वसाधारणमा छ। यसैकारण लकडाउन उल्लंघनका घटना बढ्दै गएका छन्।

अब बजार विस्तारै खोल्नुपर्ने नाडा अध्यक्ष कृष्ण दुलालले बताए। अहिलेसम्म सरकाले केही खुकुलो गर्ने नीति ल्याउँछ कि भनेर बसेको उनको भनाइ छ।

‘सरकारले बजार खोलने केही नीति ल्याउँछ कि भनेर २५ गतेसम्म कुर्छौँ’, दुलालले नेपालखबरसँग भने, ‘ल्याएन भने त्यसपछि हामी आफैँ खोल्छौं।’

सरकारले अति आवश्यकबाहेक अन्य पसल खुलाउने अनुमति नदिए पनि बजारमा हरेक दिन एकपछि अर्को गर्दै पसल खोल्ने क्रम बढ्दै गएको छ।

khulna thale pasal 5 copy

बाटामो गाडीको चाप पनि बढ्दै गएको छ। ट्राफिक प्रहरीले केही चेक गर्ने गरेको छ।

दुई महिनाभन्दा लामो समयदेखि घरभित्र बस्नुपरेको त्यसमाथि आफ्नो व्यवसाय गरेर जीविका चलाउन नसकेको अवस्थामा मान्छेमा उकुसमुकुस हुनथालेको छ।

व्यवसाय गर्नेहरुले सटर भाडा लाखौं तिर्नुपरेको अवस्था छ। पहिला उधारोमा ल्याएको सामानको पैसा माग्न थालेका छन् भने घरबेटीले भाडा माग्न थालेका छन्।

khulna thale pasal 6 copy

‘समस्याले विकराल अवस्था लिन थालेको छ’, बज्राचार्यले भने, ‘सरकार नबोलीकन बस्ने तर बजार आफ्नै किसिमले जाने हो भने समस्या झन् बढ्दै जाने देखिन्छ।’

प्रहरीले बाटामा हिँड्नेलाई चेकजाँच गरिरहेको छ। कतिपय ठाउँमा खुलेका पसललाई पनि बन्द गराउँदै हिँडेको समेत छ। एकातिर सर्वसाधारण आफ्नो व्यवसायमा लाग्ने प्रहरीले बन्द गराउँदै हिँड्ने हो भने हुलदंगा पनि हुनसक्ने बज्राचार्यको भनाइ छ।

कतिपय ठाउँमा त्यस्तै अवस्थामा समेत देखिएको छ। पसल बन्द गराउँदै हिँडेका प्रहरीलाई स्थानीयले विरोध गरेर फर्काएका भिडियो समेत बाहिर आउनथालेका छन्।

बेला–बेलामा सरकारले लकडाउको स्वरुप परिवर्तन गर्ने भनिरहेको छ तर परिवर्तित स्वरुप कस्तो हुने भनेको पनि छैन।

अहिलो यातायात व्यवसायसँग सम्बन्धित पसलहरु झण्डै १५ प्रतिशतसम्म खुलेको उनले बताए। वर्कसशहरुलाई खोल्न दिने भन्ने निर्णय सरकारले गरे पनि सञ्चालनको लागि अनुमति दिएको छैन। २५ गतेपछि सबै खुला गरेर अगाडि बढ्ने दुलालले बताए।

त्यस्तै, संस्थागत रुपमा पनि लकडाउन उल्लंघनको चेतवानी आउन थालेका छन्। वाग्मती उद्योग वाणिज्य संघले पनि लकडाउन उल्लंघन गर्ने चेतावनी दिएको छ।

khulna thale pasal 7 copy

७२ दिनदेखि जारी लकडाउनका कारण उद्योग, व्यवसाय, व्यापारमा ठूलो समस्या परेको भन्दै अब स्वःस्फुर्त रुपमा बजार खुल्न थाल्ने उसको भनाइ छ।

अब योजनाबद्ध रुपमा लकडाउन खुलाउनुपर्ने र त्यसरी नखुलेमा पीडित व्यवसायी आफैँले उल्लंघन गर्ने विज्ञप्तिमार्फत चेतावनी समेत दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .