विराटनगरका लागि उडेको बुद्ध एयरको विमानमा ल्यान्डिङ गियरमा समस्या देखिएपछि काठमाडौं फर्काइएको छ।
बिहीबार दिउँसो करिब १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उडेको बुद्ध एयरको उडान नम्बर ७०७ मा समस्या देखिएको थियो।
‘जहाज उडेको केहीबेरमा पाइलटलाई ल्याण्डिङ गियरमा समस्या भएको लागेपछि काठमाडौं फर्काइएको रहेछ। विस्तृत रिपोर्ट प्राप्त हुने क्रममा छ’, त्रिभुवन विमानस्थलका प्रवक्ता सन्जय कुमारले नेपालखबरसँग भने।
‘उडानका क्रममा जहाजमा प्राविधिक संकेत देखिएपछि आवश्यक सुरक्षा सतर्कता अपनाउँदै विमानलाई सुरक्षित रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइए हो’, बुद्ध एयरको सूचना अधिकारी दीपेन्द्र कर्णले भने।
जहाज फर्काएलगत्तै यात्रुलाई अर्को जहाजमा राखेर विराटनगर लगिएको कर्णले बताए।
प्राविधिक समस्याको कारणबारे प्राविधिक टोलीले विमानको थप परीक्षण गरिरहेको उनले बताए।
Shares

प्रतिक्रिया