कारोबार


सेफ सन्तोष साह रिहा

सेफ सन्तोष साह रिहा

नेपालखबर
असार २, २०८३ मंगलबार १०:५०, काठमाडौँ

ठगी मुद्दामा पक्राउ गरिएका सेफ सन्तोष साह रिहा भएका छन्। 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन कुमार भट्टराईले मंगलबार बिहान नेपालखबरलाई दिएको जानकारीअनुसार पीडित पक्षलाई चेकबमोजिमको रकम दिएपछि साहलाई सोमबार बेलुका रिहा गरिएको हो।

‘पछिल्लो ठगी कसुरमा उनले साढे ४ लाख रुपैयाँ पीडितलाई बुझाएपछि साहलाई हाजिरी जमानीमा रिहा गरिएको हो’, उनले भने।

काठमाडौँको गैरीधारामा रेस्टुरेन्ट किन्दा उनले शकुन्तला अधिकारी थापालाई रकम नभएको बैंक खाताको चेक दिएको आरोप थियो। सोही आरोपमा थापाले २५ लाख रुपैयाँको चेक अनादर मुद्दा दायर गरेकी थिइन्।

जुन मुद्दामा अदालतले साहलाई दोषी ठहर गर्दै २५ लाख रुपैयाँ बिगो भराउने फैसला गत वर्ष जेठमै गरिसकेको छ। उनलाई जिल्ला अदालत काठमाडौँले १ महिना कैद र १ लाख २५ हजार रुपैयाँ जरिवाना पनि सुनाएको छ। 

तर अदालतले फैसला सुनाउँदा साह भने उपस्थित भएका थिएनन्।

उनी त्यसलाई बेवास्ता गर्दै बसेको गुनासो पीडितले गरेकी छन्। 

पीडितले अहिले पुन: ४ लाख ५० हजार रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन्।

त्यस आधारमा साहलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयकाे टोलीले गत शुक्रबार राति जनकपुरबाट पक्राउ गरी काठमाडौँ ल्याएको थियो। 

त्यस दिनदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनलाई पीडितले दाबी गरेको रकम बुझाएपछि गएराति रिहा गरिएको हो।

नेपाली खानालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने चर्चित सेफ साह सन् २०२१ मा बीबीसी मास्टरसेफ कार्यक्रममा सहभागी भई चर्चामा आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad