कारोबार


‘ब्रान्ड प्रमोटर प्राइम मिनिस्टर’, जसको एउटा तस्बिरले ह्वात्तै बढाइदियो बजारमा माग

‘ब्रान्ड प्रमोटर प्राइम मिनिस्टर’, जसको एउटा तस्बिरले ह्वात्तै बढाइदियो बजारमा माग

प्रधानमन्त्री बालेन विभिन्न ब्रान्ड पहिरनमा


उद्धव थापा
जेठ २०, २०८३ बुधबार १९:३१, काठमाडौँ

सेतो सर्ट, स्ट्रिप्ड ट्राउजर र सेतै जुत्ता।

गत वैशाख २६ गते प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुक पेजमा तस्बिर राख्दै आफ्नो हुलिया प्रदर्शन गरे। सधैँझैँ कालो चश्मामा सजिने उनको ‘रिफ्रेस मुड’ यसमा झल्किन्थ्यो।

प्रधानमन्त्री बालेनकोे यस्तो हुलिया देखेपछि ग्राहकहरु लोभिए। बजारमा त्यस्तै पोसाक खोज्न थाले। लगत्तै उनकै जस्तो पोसाकमा सजिएका तस्बिरहरुले सञ्जाल भरिन थाल्यो। 

पछिल्लो समय व्यवसाय प्रवर्द्धनको गतिलो डिजिटल प्लेटफर्म बनिरहेका टिकटक, रिल्स र इन्स्टाग्राममा उनले लगाएको स्ट्रिप्ड ट्राउजरको चर्चा चुलियो। ती सञ्जालहरुमा ‘बालेन भाइरल ड्रेस’ भनेर हजारौँ ह्यासट्याग बनेका छन्। 

जेठ २० सम्ममा तीन हजार नौ सय पटक सेयर भएको प्रधानमन्त्रीको यो पोस्टमा नौ लाख ६४ हजार नौ सयवटा लाइक छ भने एक लाख सात हजार चार सय ‘कमेन्ट’ छन्। 

एउटा राजनीतिक नेतृत्वको प्रभाव केवल राजनीतिक भूमिकामा मात्रै सीमित नरही उपभोक्ता बजारसम्म कसरी फैलिन सक्छ भन्ने उदाहरण बनेको छ, बालेनको उक्त तस्बिर।

बालेनको पहिरनको भाइरल तस्बिर (उनकै फेसबुक)

उनले प्रयोग गरेका वा सार्वजनिक रूपमा समर्थन गरेका वस्तुहरू एकाएक चर्चाको केन्द्र बन्न थालेका छन्। यसले शाहलाई अनौपचारिक रूपमै ‘ब्रान्ड प्रमोटर प्राइम मिनिस्टर’को चिनारी दिएको छ।

यसको सबैभन्दा उल्लेखनीय उदाहरण हो— डीडीसीको याक चिज। नेपाल सरकारको स्वामित्वमा रहेको डेरी डेभलपमेन्ट कर्पोरेसन (डीडीसी)ले उत्पादन गर्ने याक चिज लामो समयदेखि बजारमा उपलब्ध भए पनि सीमित उपभोक्तामाझ मात्रै परिचित थियो। 

तर प्रधानमन्त्री शाहले जेठ २ गते शनिबार अघिल्लो पोस्टमा देखिएकै पोसाकमा ‘याक चिज’को तस्बिर सार्वजनिक गरेपछि अवस्था फेरियो।

सामाजिक सञ्जालमा चिजको चर्चा चुलियो, मानिसहरू त्यसबारे खोजी गर्न थाले र बजारमा माग उल्लेखनीय रूपमा बढ्यो। 

एउटा साधारण पोस्टले सरकारी उत्पादनलाई राष्ट्रिय चर्चाको विषय बनाइदियो।

प्रधानमन्त्रीले मोडलिङ गरेको यो विज्ञापन जति भाइरल भयो, डीडीसीका लागि त्योभन्दा बढी भाइरल बन्यो– याक चिज। हुन पनि दिनमा एक–डेढ सय किलो मात्रै चिज बेचेर सुस्ताइरहेको डीडीसीलाई अहिले चिज बेच्न भ्याइनभ्याइ छ। 

याक चिजको प्याकेट टेबलमा राखेर उनले स्टाटस लेखेका छन्– ‘से चिज, डीडीसीको चिज’। 

तस्बिर : प्रधानमन्त्रीको फेसबुक

उनको यो पोस्ट पनि भाइरल भएको छ। जेठ २० सम्ममा चार हजार तीन सय सेयर भएको यो पोस्टमा पाँच लाख १९ हजार चार सयले लाइक गरेका छन् भने ४९ हजार आठ सय कमेन्ट भएको छ। 

कमेन्टमा केहीले प्रधानमन्त्रीले निजी कम्पनीको विज्ञापन गरेको टिप्पणी गरेपछि उनले प्रस्टीकरणमा लेखेका छन्– ‘डीडीसी इज नेपाल सरकारको, ब्रो सिसहरू!’

दुग्ध विकास संस्थानका महाप्रबन्धक एवं कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डा. शरणकुमार पाण्डे भन्छन्, ‘प्रधानमन्त्रीको पोस्टपछि १५ दिनमा पाँच हजार किलोग्राम याक चिज बिक्री भयो। अहिले डीडीसीमा याक चिज स्टक छैन। बजारमा माग आएको आयै छ। चिज बनाउन दूध संकलन बढाइरहेका छौँ।’ 

पाण्डेले बताएको तथ्यांकअनुसार याक चिजको बिक्री दिनमै औसतमा ५४ प्रतिशतले बढेको देखिन्छ। 

यसअघि डीडीसीको याक चिजको ठूलो बिक्रेतामध्ये भाटभटेनी पनि थियो। जेन–जी आन्दोलनमा भाटभटेनीमा क्षति भएपछि चिजको बिक्री सुस्ताएको पाण्डे बताउँछन्। 

तर, प्रधानमन्त्रीले ब्रान्ड प्रवर्द्धनमा सहयोग गरेपछि देशभरबाट नयाँ डिस्ट्रिब्युटरको लागि माग भइरहेको पाण्डेले जानकारी दिए। 

पछिल्ला दिनमा डीडीसीको उत्पादनमध्ये याक चिज मात्रै होइन, अन्य उत्पादनको माग पनि दिनदिनै बढिरहेको पाण्डे बताउँछन्। 

डीडीसीको बढेको चिज बिक्रीले बताउँछ– अर्थतन्त्र उकास्न राजनीतिक नेतृत्वको नीति, योजना र भाषण मात्रै कामयाब हुने होइन, उनीहरुले आफ्नो व्यक्तिगत प्रयोग, पहिरन र सामाजिक सञ्जालका माध्यमबाट नेपाली उत्पादनलाई चर्चा र बजार दिलाउन पनि सक्छन्। 

यस्तै प्रभाव जुत्ताको बजारमा पनि देखियो। जेठ १५ गते आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत हुने संसद् बैठकमा जाँदा प्रधानमन्त्री शाहले नेपाली चर्चित ब्रान्ड ‘गोल्डस्टार’को जुत्ता लगाए। 

प्रधानमन्त्री बालेनसँग गोल्डस्टारकी सञ्चालक एवं रास्वपा सांसद विदुषी राणा

५५ वर्षदेखि किरण सुज म्यानिफ्याक्चर्सले उत्पादन गर्दै आएको गोल्डस्टारको मालिक समेत रहेकी विदुषी राणा अहिले प्रधानमन्त्री शाहकै राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद छिन्।

त्यस दिन संसद् बैठक सकिएपछि संसद् बैठक कक्षको ढोकामा सांसद एवं किरण सुज म्यानिफ्याक्चर्सको सञ्चालकमध्येकी एक राणासँग प्रधानमन्त्री शाहको जम्काभेट भयो। त्यही बेला प्रधानमन्त्रीले राणालाई आफूले लगाएको गोल्डस्टारको जुत्ता देखाए। 

बाहिर निस्किएर प्रधानमन्त्रीले सांसद राणासँग जुत्ता देखाउँदै तस्बिर खिचाए। त्यही तस्बिर सामाजिक सञ्जालमा फैलियो। 

यो तस्बिरले नेपाली उत्पादनको प्रयोगप्रति प्रधानमन्त्रीको प्रतिबद्धताको सन्देश मात्रै गएन, गोल्डस्टार ब्रान्डले पनि अतिरिक्त प्रचार पायो।

नेपाली उत्पादन प्रयोग गर्ने प्रधानमन्त्रीको छविले स्वदेशी उद्योगप्रति सकारात्मक धारणा निर्माण गर्न सहयोग पुर्‍यायो।

प्रधानमन्त्रीसँग तस्बिर खिचाएपछि सांसद राणाले भनेकी थिइन्, ‘प्रधानमन्त्रीले गोल्डस्टार जुत्ता लगाएको छु भनेर मलाई देखाउनुभयो। आफ्नो जुत्ता चिनिहालेँ। उहाँले गोल्डस्टारको सेतो जुत्ता लगाउनुभएको रहेछ। मलाई एकदमै खुसी लाग्यो। अहिलेसम्म कुनै पनि देशको प्रधानमन्त्रीले यसरी नेपाली उत्पादन लगाएर प्रवर्द्धन गरेका छैनन्।’

प्रधानमन्त्रीले आफ्नो कम्पनीले उत्पादन गरेको जुत्ता लगाउनु आफ्नो लागि गर्वको कुरा भएको राणाले त्यही दिन बताइएकी थिइन्। 

उनले आफ्नो कम्पनी चिनाउँदै भनेकी थिइन्, ‘गोल्डस्टार ५५ वर्ष पुरानो कम्पनी हो। तीन हजारभन्दा बढी कार्यरत छन्। त्यसमा पनि ७५ प्रतिशत महिला हुनुहुन्छ। ५५ वर्षदेखि चलाइरहेको प्रडक्ट लगाइदिनु भनेको त मेरो लागि एकदमै ठूलो गर्वको कुरा हो।’ 

किरण सुज म्यानिफ्याक्चर्सका सेल्स एन्ड मार्केटिङ प्रमुख इरज श्रेष्ठ पनि प्रधानमन्त्रीले गोल्डस्टार जुत्ता लगाएको चर्चासँगै एआरसी जुत्ताको माग बढ्न थालेको बताउँछन्। 

श्रेष्ठ भन्छन्, ‘हामीसँग प्रधानमन्त्रीले लगाएको जुत्ताको स्टक सीमित थियो। अहिले केही मात्रामा माग बढेको छ। उहाँले आफ्नो फेसबुक पोस्टमै राखिदिनुभएको भए अझ राम्रो हुन्थ्यो। प्रधानमन्त्रीले हाम्रो जुत्ता लगाएको भनेर मिडियाले चर्चा गरिदिएका कारण ठूलो सहयोग मिलेको छ।’

सोसल मिडियामा प्रधानमन्त्री शाहको ठूलो संख्यामा फ्यान फलोअर्स छन्। पहिरनको सन्दर्भमा शाह काठमाडौं महानगरपालिकाको मेयरको चुनावदेखि नै चर्चामा रहँदै आएका छन्। २०७९ सालको स्थानीय तहको चुनावको बेला लगाएको कालो चस्माले पनि विशेष चर्चा कमाएको थियो। 

सामाजिक सञ्जालमा मानिसहरूले चस्माको ब्रान्ड, मूल्य र उपलब्धताबारे खोजी गर्न थाले। चुनावी अभियानसँगै चस्मा पनि उनको पहिचानको एक हिस्सा बन्यो। मेयर बनेपछि पनि त्यो चर्चा रोकिएन। एउटा साधारण फेसन सामग्रीले राजनीतिक व्यक्तित्वसँग जोडिएर कसरी लोकप्रियता हासिल गर्न सक्छ भन्ने उदाहरण बनेको थियो त्यो चस्मा।

गत फागुनमा सम्पन्न संसदीय निर्वाचन अभियानभरि शाहले एडिडास ब्रान्डको कालो रङको टेरेक्स ज्याकेट लगाएका थिए। उक्त ज्याकेटले पनि उत्तिकै चर्चा बटुल्यो। चुनावी माहोलको बेला सार्वजनिक कार्यक्रममा देखिएको उक्त ज्याकेट सामाजिक सञ्जालमा भाइरल बन्यो। धेरैले त्यसको डिजाइन, ब्रान्ड र उपलब्धताबारे चासो देखाए। 

हुन त प्रधानमन्त्रीले कुनै औपचारिक विज्ञापन अभियान चलाएका होइनन्। न त उनले कुनै उत्पादनको व्यावसायिक दूतको भूमिका नै निर्वाह गरेका छन्। तर, उनको लोकप्रियता, सार्वजनिक छवि र सामाजिक सञ्जालको पहुँचले उनले प्रयोग गर्ने वा समर्थन गर्ने वस्तुहरूलाई स्वतः चर्चामा ल्याउने गरेको छ। 

डिजिटल युगमा प्रभावशाली व्यक्तिको एउटा पोस्ट, एउटा तस्बिर वा एउटा सार्वजनिक उपस्थितिले परम्परागत विज्ञापनभन्दा बढी प्रभाव पार्न सक्छ भन्ने तथ्य यसबाट पुष्टि हुन्छ।

स्वदेशी उत्पादनको प्रयोग र प्रवर्द्धन सधैँ नेपाली उद्योगका लागि चुनौती र अवसर दुवैको विषय रहँदै आएको छ। यस्तो अवस्थामा देशको नेतृत्वतहमा रहेका व्यक्तिले नेपाली उत्पादनलाई प्राथमिकता दिँदा त्यसले उपभोक्तामा सकारात्मक सन्देश दिन्छ नै। त्यति मात्र होइन, स्वदेशी उत्पादन केवल उपभोगका वस्तु मात्रै नभएर त्यसले राष्ट्रिय आत्मविश्वास र आर्थिक स्वावलम्बनको प्रतिनिधित्व पनि गरिरहेको हुन्छ। 

नेपाली उत्पादनको प्रवर्द्धनमा राजनीतिक नेतृत्वले सचेततापूर्वक सहयोग गर्दा आयात विस्थापनमा देशलाई नै योगदान पुगिरहेको हुन्छ। 

‘ब्रान्ड प्रमोटर प्राइम मिनिस्टर’को यो प्रयास जारी रहोस्, यसबाट अरू नेतृत्वले पनि प्रेरणा लिऊन् र नेपाली उत्पादनले उन्नतिको बाटो समातोस्! 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad