कारोबार


नेपाललाई खैरो सूचीबाट हटाउने पहल गरिदिन ईयूका प्रतिनिधिहरूसँग नेपाली उद्यमीको आग्रह

नेपाललाई खैरो सूचीबाट हटाउने पहल गरिदिन ईयूका प्रतिनिधिहरूसँग नेपाली उद्यमीको आग्रह

नेपालखबर
जेठ १३, २०८३ बुधबार २१:१७, काठमाडौँ

नेपाली उद्योगीहरूले युरोपेली संघ (ईयू) आबद्ध देशका प्रतिनिधिहरूसँग नेपाललाई एफएटीएफको खैरो सूचीबाट नेपाललाई हटाउनका लागि पहल गरिदिन आग्रह गरेका छन्।

मंगलबार बिहान साढे ८ बजे मेरियट होटलमा भएको भेटमा उनीहरूले ईयूको ‘ब्ल्याक लिस्ट’ बाट हवाई उड्डयन क्षेत्रलाई पनि बाहिर ल्याउन माग गरेका हुन्।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँग भेट गर्नुअघि ईयूमा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूले नेपाली उद्यमीहरूसँग भेट गरेका थिए।

ईयूका प्रतिनिधिहरूले नेपाली उद्यमीहरूको दुई/दुई जनाको टिम बनाएर १०/१० मिनेट सम्बन्धित क्षेत्रका बारेमा छलफल गरेका थिए।

ईयूका प्रतिनिधिहरूले विशेष गरी नेपालको अर्थतन्त्र र लगानीका सम्भावित क्षेत्र तथा लगानीकर्ताले भोग्नुपरेका चुनौतीका बारेमा जानकारी लिएको एक व्यवसायीले बताए।

नेपाली उद्योगीहरूले प्राइभेट इक्विटी, ऊर्जा, हवाई उड्डयन, आर्टिफिसियल इन्टेलिजेन्स, बैंक तथा वित्तीय संस्था, बीमा, स्वदेशी उत्पादनलगायतका विषयमा प्रस्तुति दिएका थिए।

भेटमा इप्पानका वरिष्ठ उपाध्यक्ष उत्तमभ्लोन लामाले ऊर्जा क्षेत्रको दिगो विकास र सुरक्षा एवं चुनौतीबारे जानकारी दिएका थिए।

त्यस्तै बिजनेस अक्सिजनका अध्यक्ष तथा सीईओ सिद्धान्तराज पाण्डेले नेपालमा छिट्टै रोजगारी सिर्जना गर्न साना तथा मझौला उद्योगमा प्राइभेट इक्विटीमार्फत् लगानी बढाउनुपर्ने बताए। यसका लागि ईयूमा रहेका वित्तीय संस्थाले नेपालको इक्विटीमा लगानी बढाउन उनले सुझाव दिएका थिए।

ईयूका वित्तीय संस्थाहरूले इक्विटीभन्दा पनि कर्जा लगानीलाई प्राथमिकता दिइरहेका छन्। ‘कर्जामा हरेक वर्ष ब्याज तिर्नुपर्छ। इक्विटीमा प्रतिफल प्राप्त नभए पनि भुक्तानी गर्नु पर्दैन,’ उनले भने, ‘त्यसैले मुलुकमा रोजगारी सिर्जना र उद्यमशीलता बढाउन इक्विटीमाथि लगानी बढाउनुपर्छ।’

ईयूका प्रतिनिधिहरूले नेपाली उद्यमीहरूको प्रस्तुतिपछि नेपालमा सम्भावना देखिएका क्षेत्रमा लगानीका लागि आवश्यक नीति तयार गर्ने जानकारी दिएका थिए।

भेटमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत, इप्पानका वरिष्ठ उपाध्यक्ष उत्तमभ्लोन लामा, नबिल बैंकका सीईओ मनोज ज्ञवाली, बिजनेस अक्सिजनका अध्यक्ष तथा सीईओ सिद्धान्तराज पाण्डे, फ्युज मेसिनका संस्थापक तथा सीईओ समीर मास्के, नेपाल स्वीस चेम्बर अफ कमर्शका प्रबन्ध निर्देशक सिद्धार्थमणि राजभण्डारी, हर्वेदा बाटानिकल्सका सीईओ प्रतिभा पाण्डेलगायत थिए।

व्यवसायीहरूसँगको छलफलपछि ईयूका प्रतिनिधिहरूले सोही दिन साढे ११ बजे प्रधानमन्त्री वालेन्द्र शाह (बालेन), परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह, मुख्यसचिव सुमनराज अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत उच्च सरकारी अधिकारीसँग भेट गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad