ad ad

कारोबार


लकडाउनले रोकिएको ठूल्ढुंगा-बन्दीपुर केबलकारको निर्माण सुरु

लकडाउनले रोकिएको ठूल्ढुंगा-बन्दीपुर केबलकारको निर्माण सुरु

कृष्ण न्यौपाने
जेठ ८, २०७७ बिहिबार ११:१७,

लकडाउनका कारण रोकिएको केबलकार निर्माणको काम सुरु भएको छ। तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुंगामा निर्माणाधीन केबलकारको काम मंगलबारदेखि सुरु भएको हो।

स्थानीय मजदुर प्रयोग गरी केबलकार निर्माणको काम सुरु गरिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए। बन्दाबन्दीका कारण न्यून मजदुर प्रयोग गरेर केबलकार निर्माणको काम सुरु गरिएको छ। शर्माका अनुसार हाल १२ जना मात्रै मजदुर प्रयोग गरिएको छ।
‘केबलकार निर्माणमा काम गरिरहेका मजदुरलाई बन्दाबन्दी भएपछि घर पठाएका कारण काम ठप्प भएको थियो, अहिले स्थानीय मजदुर प्रयोग गरेर काम सञ्चालन गरेका छौँ’, शर्माले भने।

१२ जनामध्ये ५ मजदुर यस अगाडिदेखि नै केबलकार निर्माणमा खटिएका मजदुर हुन्। मंगलबारदेखि बटम स्टेशनमा ढलानको कामलाई निरन्तरता दिइएको छ। शर्माका अनुसार निर्माण सामग्री पर्याप्त मात्रामा रहेकाले बन्दाबन्दीकै अवधिमा पनि कामलाई निरन्तरता दिइनेछ। कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि बन्दाबन्दी सुरु भएपछि घर गएका मजदुर फर्कन नसकेपछि केबलकार परियोजनाको काम प्रभावित भएको थियो। बन्दाबन्दी अगाडि केबलकार परियोजनामा १७० मजदुर आयोजनास्थलमा खटिएका थिए।

‘मजदुरलाई फिर्ता बोलाएर काममा लगाउन पनि अहिलेको अवस्थामा सम्भव रहेन, त्यही भएर स्थानीय मजदुरलाई नै प्रयोग गरी सुरक्षितरुपमा काम शुरु गरेका हौँ’, शर्माले भने।
बटम स्टेशनमा निर्माण भइरहेको भवनको लागत रु १८ करोड ५५ लाख रहेको छ। केबलकार परियोजनाअन्तर्गत गत चैत ८ गतेदेखि १३ तलाको होटलसमेत निर्माण शुरु भएको छ। बन्दीपुर गाउँपालिका–४ बरालथोकमा निर्माण शुरु भएको होटलको बेसमा ढलान गरिएपछि काम स्थगित गरिएको थियो। उक्त होटलको लागत रु ८० करोड अनुमान गरिएको छ।

‘बन्दाबन्दीका कारण तोकिएकै मितिमा आयोजनाका सम्पूर्ण काम सम्पन्न हुने अवस्था रहेन’, उनले भने, ‘आयोजनाको निर्माण सम्पन्न अवधि केही समय पछाडि धकेलिन्छ।’
चारतारे होटल निर्माणको जिम्मा काठमाडौंस्थित चन्द्र निर्माण सेवाले पाएको छ। उक्त होटल निर्माणका लागि नेपाल एसबिआई बैंकसँग ऋण सम्झौता गरिएको छ। उक्त भवनमा आधुनिक भ्यूटावर, बेनक्युट हल र ८० कोठाका स्तरीय होटल निर्माण हुने कम्पनीले जनाएको छ।

केबुलकार पनि आगामी दशैँभित्र सञ्चालनमा ल्याउने गरी काम भए पनि बन्दाबन्दीले काममा असर पुगेको छ। बन्दीपुर पर्यटन पूर्वाधारयुक्त परियोजनाको कूल लागत रु एक अर्ब ५६ करोड रहेको छ। हालसम्म केबलकार परियोजनाको काम ३५ प्रतिशत सकिएको छ। शर्माका अनुसार केबलकारको टावरको खाल्टा खन्ने र पिल्लरको काम सकिएको छ। बटम स्टेशनमा केबलकारको खण्ड निर्माण सम्पन्न भएको छ।

केबलकार परियोजनाको परामर्शदाताका रुपमा काठमाडौंस्थित केज कन्सल्ट्यान्ट प्रालि, मेकानिकाल परामर्शदाताका रुपमा भारतस्थित सिआरएस र ब्रिको इङ्ग्ल्याण्ड रहेको छ। आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन प्रालि, पञ्चासे केबुलकार एण्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केबलकार परियोजना निर्माणको कामलाई अगाडि बढाइएको छ। लगानीदाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीको कम्पनी हो, जहाँ एक हजार १०० भन्दा बढी लगानीकर्ता रहेका छन्।

प्रारम्भमा रु ५६ करोडको लागतमा केबलकार सम्पन्न गर्ने योजना रहेकामा कम्पनीले केबलकार प्रविधिलाई आधुनिक ‘मोनोकेबल डिटाचेबल प्यासेन्जर सिस्टम’ जडान गर्ने र सुरक्षाको पक्षलाई महत्व दिएर सुरक्षा उपकरण जडान गर्ने योजना थप गरेको थियो। साहसिक पर्यटनको मज्जा दिन बन्दीपुरदेखि छिम्केश्वरी फेदीसम्म माउन्टेन जंगल सफारीको सेवा सुरु गर्ने गरी कम्पनीले लगानी गर्ने जनाएको छ।

कम्पनीले केबलकारको पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने जग्गा प्रयोग गरेबापत जग्गाधनीलाई रु ४५ लाखबराबरको शेयर प्रदान गरिसकेको छ। ठूल्ढुंगास्वाँराबाट बरालथोकसम्म जोडिने केबलकारबाट घण्टामा २०० जना वारपार गर्न सक्ने छन्। एशियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्ने विश्वास लिइएको छ। ठूल्ढुंगास्वाँराबाट शुरू हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ। केबलकारले एक किलोमिटर ६०० मिटर यात्रा गर्नेछ।

तनहुँको डुम्रे बजारदेखि बन्दीपुर पुग्न सात किलोमिटरको उकालो दूरी बसमा करिब २० मिनेट लाग्छ। केबलकार निर्माण भएपछि केबुलकारमा नौ मिनेटमा बन्दीपुर पुग्न सकिन्छ। केबलकारमा दुई सामान बोक्नेसहित १७ वटा बाक्सा रहनेछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .