कारोबार


दूरसञ्चार प्राधिकरण अध्यक्ष बन्न ३२ जना इच्छुक, निमित्त अध्यक्षदेखि नेपाल टेलिकमका पूर्वएमडीसम्म दौडमा

दूरसञ्चार प्राधिकरण अध्यक्ष बन्न ३२ जना इच्छुक, निमित्त अध्यक्षदेखि नेपाल टेलिकमका पूर्वएमडीसम्म दौडमा

उन्नत सापकोटा
जेठ ६, २०८३ बुधबार १६:४०, काठमाडौँ

नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष पदमा ३२ जनाको आवेदन परेको छ।

वैशाख २६ गते तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले रिक्त प्राधिकरण अध्यक्षसहित चार सदस्य पदमा उम्मेदवार छनोट गर्ने गरी नियुक्ति प्रक्रिया अघि बढाएको थियो। 

आवेदन दिने समय हिजो मंगलबार कार्यालय समयभित्र तोकिएको थियो। तोकिएको अवधिभित्र अध्यक्ष बन्न ३२ जना र चार सदस्यका लागि ३३ जनाको आवेदन स्वीकृत भएको मन्त्रालयले जनाएको छ।

सूचना तथा सञ्चार मन्त्रालय स्रोतबाट प्राप्त विवरण अनुसार अध्यक्ष बन्न ३२ जनाको आवेदन स्वीकृत भएको छ। जसमा हाल दूरसञ्चार प्राधिकरणको निमित्त अध्यक्षको जिम्मेवारीमा रहेका अर्जुन घिमिरे, नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य प्राधिकरण अध्यक्ष बन्ने दौडमा सामेल छन्।

घिमिरे र आचार्यबाहेक अध्यक्ष बन्ने रेसमा रमेश श्रीवास्तव, शैलेन्द्र गिरी, बिमल प्रकाश साह, नवीन जिसी, ज्ञानेन्द्र खतिवडा, दिपक लुइटेल, रामप्रसाद पाण्डे, सुनिल मिश्र, सोना उल्ला खान छन्। यी ११ जनाबाहेक अन्य क-कसले आवेदन दिए भन्ने विवरण प्राप्त भएको छैन। 

अध्यक्षबाहेक रिक्त चार सदस्य पदअन्तर्गत दूरसञ्चार सेवासँग सम्बन्धित प्राविधिक वा प्रशासनिक सदस्यका लागि सर्वाधिक १५ जना, बजार व्यवस्थापन सदस्यका लागि ५ जना, लेखा तथा लेखापरीक्षणतर्फ ९ जना र कानुनी तर्फको सदस्य बन्न ४ जनाको आवेदन परेको मन्त्रालय स्रोतले जानकारी दिएको छ।

'अध्यक्ष बन्न ३२ जनाको आवेदन दर्ता भएको छ। रिक्त चार क्षेत्रको बोर्ड सदस्यका लागि ३३ जनाको आवेदन छ।  आवेदन दिएकामध्येबाट नाम सर्टलिस्ट गरेर उनीहरुलाई अन्तर्वार्ता तथा प्रस्तुतीकरण गर्न बोलाइन्छ। त्यसपछि मन्त्रीज्यूले केही उम्मेदवारहरुको नामसहितको प्रस्ताव क्याबिनेटमा लगेर निर्णय गराउनु हुनेछ। अहिलेसम्मको तयारी यतिनै हो। अध्यक्षमा आवेदन हालेका केहीले सदस्य पदमा पनि प्रस्ताव हालेको देखिन्छ', मन्त्रालय स्रोतले नेपालखबरसँग भन्यो।

बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ल्याएपछि १५ सय ३४ राजनीतिक नियुक्ति पाएकाहरु पदमुक्त भएका थियो। राष्ट्रपतिले अध्यादेश जारी गरेपछि मन्त्रालयले वैशाख २१ गते आफू मातहत रहेको दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारी तथा सदस्यहरु कृष्णप्रसाद पोख्रेल, नवराज अधिकारी, रविन्द्र झा र गोकर्णप्रसाद सिटौलालाई स्वत: पदमुक्त गरेको थियो।

रिक्त अध्यक्ष र सदस्य पदका लागि मन्त्रालयले वैशाख २६ गते दरखास्त आह्वान गरेको थियो। तयारी अनुसार मन्त्रालयले आवेदन दिएका ३२ जनाबाट सर्टलिस्ट गरिएका नाम सार्वजनिक गर्नेछ। त्यसपछि ती उम्मेदवारहरुलाई अन्तर्वार्ता तथा प्रस्तुतीकरणको मिति र समय तोकिनेछ।

त्यसपछि कम्तीमा तीन जना उम्मेदवारको नामसहितको प्रस्ताव सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद् बैठकमा लैजानेछन्। 

मंगलबार मात्रै सरकारले अर्को नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न आवेदन बुझाएका ४७ जनाध्येबाट चार जनाको संक्षिप्त सूची प्रकाशन गर्दै छलफलका लागि मिति र समय उपलब्ध गराएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad