ad ad

कारोबार


कृषिमा बजेट बढ्छः मन्त्री भुसाल

कृषिमा बजेट बढ्छः मन्त्री भुसाल

नेपालखबर
जेठ ६, २०७७ मंगलबार १६:९,

कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले आगामी बजेटमा कृषि क्षेत्रका लागि अघिल्ला वर्षहरुभन्दा बजेट बढाइने बताएका छन्।

नेपाल उद्योग परिसंघले सोमबार गरेको वेभिनारमा मन्त्री भुसालले कोभिड–१९ को महामारीका कारण संकटमा परेको कृषि क्षेत्र उठाउन राज्यको भूमिका बढाइने बताए। महामारीका कारण यो क्षेत्रमा संकट देखिएको र त्यसको समाधानका लागि पनि यही क्षेत्रबाट खोजिनुपर्नेमा उनले जोड दिए। कूल ग्राहस्थ उत्पादन (जीडीपी) मा २७ प्रतिशत योगदान रहेको यस क्षेत्रको ६० प्रतिशत जनसंख्या आबद्ध भएको कृषि क्षेत्रलाई दुई प्रतिशत बजेट पर्याप्त नहुने उनले बताए। महामारीका कारण सम्भावित भोकमरीबाट बच्न सरकारले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने अवस्था आएको उनले औँल्याए।

मन्त्री भुसालले तत्कालीन समस्या मात्रै नभएर कृषि क्षेत्रको दीर्घकालीन विकासका लागि नै मन्त्रालयले ‘सुरक्षित कृषि, सुनिश्चित बचत’ को कार्यक्रम ल्याएको उनले बताए। उनले भने, ‘किसानले अपहेलित भएर बस्नुपर्ने तत्कालीन अवस्थाबाट मुक्त हुँदै कृषि क्षेत्रमा लगानी बढाउने अवसरसमेत अहिले तयार भएको छ।’

उत्पादन, भण्डारण र बजारीकरणको संयन्त्र सबै स्थानीय तहसम्म लैजानुपर्नेमा मन्त्री भुसालले जोड दिए। कृषि उत्पादन बढाउन स्थानीय सरकारलाई सशक्त र प्रभावकारी बनाउनुपर्ने उनले बताए।

यस क्षेत्रको यान्त्रीकरणका लागि सरकारले वस्तुगत तथ्यका आधारमा योजना ल्याउने उनले बताए। उनले भने, ‘पहिले हामीलाई पुग्ने खाद्यान्न उत्पादन गर्ने अवस्था सिर्जना गर्नुपर्छ।’

यो महामारीकै कारण १५ लाख अतिरिक्त श्रमशक्ति थपिने र अहिले ३० प्रतिशत पहाडी जमिन बाँझो भएको उनले बताए। सरकारले समेत कृषि क्षेत्रमा लगानी सुनिश्चित गर्ने कार्यक्रम ल्याएको र निजी क्षेत्रले लगानी गर्ने राम्रो अवसर भएको उनले बताए। महामारीकै कारण सिर्जित समस्या हल गर्न सकिएन भने यो अवसर नभएर चुनौती मात्रै रहने पनि मन्त्री भुसालले औँल्याए। उनले भने, ‘यसका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर कृषि क्षेत्र उकास्न तयार रहेको छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .