नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी नेपाल डिजिटल पूर्वाधार कम्पनी पूर्ण रूपमा सञ्चालनमा आएको छ।
सूचना प्रविधि र दूरसञ्चार क्षेत्रमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ प्राधिकरणले पूर्वाधार कम्पनी सञ्चालनमा ल्याएको जनाएको छ। ‘पूर्वाधार साझा गर्ने अवधारणामा आधारित यो कम्पनीले सहरी सुन्दरता बढाउन, दुर्गम क्षेत्रमा इन्टरनेटको पहुँच विस्तार गर्न र सूचना प्रविधि प्रणालीको एकीकृत विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा प्राधिकरणले गरेको छ,’ प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भने।
यस कम्पनीले इन्टरनेट सेवा प्रदायकलाई ‘प्लग-एन्ड-प्ले’ मोडलमा पूर्वाधार उपलब्ध गराउने जनाएको छ। ‘यसो हुँदा सेवा प्रदायकहरूले आफ्नै पोल गाड्ने वा तार टाँग्ने झन्झट गर्नु पर्दैन,’ शाक्यले भने।
प्राधिकरणको पूर्वाधार प्रयोग गर्दा सेवा प्रदायकको पूँजीगत खर्च उल्लेख्य रूपमा घट्ने र त्यसको प्रत्यक्ष लाभ उपभोक्ताले सस्तो इन्टरनेटको रूपमा पाउने प्राधिकरणले जानकारी दिएको छ। त्यस्तै, प्राधिकरणसँग रहेका अप्टिकल फाइबर, भूमिगत डक्ट, पोललाई ‘प्यासिभ एसेट्स’ का रूपमा भाडामा उपलब्ध गराउने पनि जानकारी दिएको छ।
काठमाडौँ उपत्यकाको मुख्य समस्याका रूपमा रहेको ‘तारको गुजुल्टो’ हटाउन यस कम्पनीले प्राथमिकताका साथ काम गर्ने पनि प्राधिकरणले जनाएको छ। ‘भूमिगत पाइपको साझा प्रयोगले सहरी सौन्दर्य फर्काउनुका साथै विद्युत र टेलिफोनका तारहरू आपसमा अल्झिँदा हुने आगलागी र दुर्घटनाको जोखिमलाई समेत न्यून गर्ने अपेक्षा हामीले गरेका छौँ,’ शाक्यले भने, ‘हरेक कम्पनीले छुट्टाछुट्टै सडक खन्ने झन्झट पनि योसँगै अन्त्य हुनेछ।’
डिजिटल पूर्वाधार कम्पनीको स्थापनासँगै नेपालको डिजिटल रूपान्तरणको यात्रामा नयाँ अध्याय थपिएको उनको भनाइ छ। यसले सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’लाई मूर्तरुप दिन कोसेढुङ्गा सावित हुने प्राधिरकणले जनाएको छ।
Shares

प्रतिक्रिया