चालू आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा सरकारले करिब ५४ प्रतिशत बजेट खर्च गरेको छ।
चालू आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्बको बजेट ल्याएको थियो। जसमध्ये चैतसम्म सरकारले १० खर्ब ५९ अर्ब बजेट खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ।
कार्यालयका अनुसार विनियोजित बजेटमध्ये सबैभन्दा बढी चालुतर्फ खर्च भएको छ। चालु खर्च भनेको सरकारको दैनिक सञ्चालन र नियमित कार्यका लागि गरिने खर्च हो।
यो खर्चले नयाँ सम्पत्ति सिर्जना गर्दैन वा दीर्घकालीन प्रतिफल दिँदैन। सामान्यतया यो कुल बजेटको दुई तिहाईसम्म पुग्ने गर्छ।
चालुतर्फ सरकारले यस वर्षका लागि ११ खर्ब ८० अर्ब बजेट छुट्टाएको थियो। समीक्षा अवधिसम्म सरकारले सात खर्ब ४७ अर्ब बजेट खर्च गरिसकेको छ।
विकास खर्च भनेर चिनिने पुँजीगततर्फ सरकारले धेरै खर्च गर्न सकेको छैन। पुँजीगत खर्च सडक, पुल, विद्यालय भवन, अस्पताल, सिंचाई, जलविद्युत् जस्ता दीर्घकालीन पूर्वाधार निर्माणमा खर्च हुन्छ। यस्तो शीर्षकमा बजेट खर्च हुन सकेको छैन।
खासगरी मध्यपूर्वमा देखिएको तनावले निर्माण व्यवसायीले बिटुमिन इन्धनको अभाव झेलिररहेका छन्। जसको असर पुँजीगत खर्चमा देखिएको छ।
पुँजीगततर्फ चालु आर्थिक वर्षमा खर्च गर्न सरकारले चार खर्ब सात अर्ब छुट्टाएको थियो। यसमा ९६ अर्ब १९ करोड खर्च भएको छ। यो खर्च विनियोजित बजेटको २३.५८ प्रतिशत हो।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार सार्वजनिक ऋण व्यवस्थापनका लागि सरकारले यस वर्षका लागि छुट्टाएको बजेट पनि ठूलो मात्रमा भएको छ। यो शीर्षकमा छुट्टाइएको बजेट सरकारले पहिले लिएका ऋणको साँवा र ब्याज तिर्ने गरेको छ।
यसका लागि सरकारले तीन खर्ब ७५ अर्ब छुट्टाएको थियो। जसमध्ये दुई खर्ब १६ अर्ब बजेट खर्च भइसकेको छ। सरकारले चालु आर्थिक वर्षको चैत मसान्तसम्म नौ खर्ब सात अर्ब आम्दानी गरेको छ। राजस्वबाट मात्रै सरकारले आठ अर्ब ८६ करोड संकलन गरेको छ।
Shares

प्रतिक्रिया