त्रिभुवन विश्वविद्यालयअन्तर्गतको व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) ले सुन्तला जातका फलफूलको दिगो भण्डारण र बजारीकरणका सम्बन्धी अनुसन्धान गर्न थालेको छ।
यसका लागि आवश्यक नवीन शीतभण्डारण समाधानसम्बन्धी अनुसन्धान परियोजनाबारे प्रारम्भिक कार्यशाला सम्पन्न भएको छ। रिकास्ट पुस्तकालयमा आयोजित कार्यशालासँगै ‘इनोभेसन कोल्ड स्टोरेज सोलुसन फर इनह्यान्सिङ साइट्रस स्टोरेज एन्ड मार्केट्याबिलिटी: अ मल्टिडिस्पिलिनरी अप्रोच’ परियोजनाको सुरुवात गरेको छ। यो परियोजना त्रिविको राष्ट्रिय प्राथमिकता क्षेत्र अनुसन्धान अन्तर्गत इनोभेसन रिसर्च ग्रान्टको आर्थिक सहयोगमा सुरु गरिएको हो।
अहिले सुन्तलाको उपयुक्त भण्डारण पूर्वाधाको अभावमा ३० देखि ४० प्रतिशत उत्पादन खेर जाने गरेको छ। जसले आय र खाद्य सुरक्षामा असर परिरहेको छ।
यो परियोजनाले नेपालको ग्रामीण भूगोल र ऊर्जा अवस्थासँग मिल्ने कम लागत, ऊर्जा दक्ष स्थानीय शीतभण्डारण समाधानको डिजाइन, परीक्षण तथा प्रमाणीकरण गर्ने लक्ष्य राखेको छ। कार्यशालामा मुख्य अनुसन्धानकर्ता डा. दीपेन्द्र पराजुलीले परियोजनाको तीन चरणको मार्गचित्र प्रस्तुत गरेका थिए।
प्राविधिक परामर्शदाता मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका ई. डा. रितुराज लम्साल र राष्ट्रिय कृषि अनुसन्धान परिषद्का डा. उमेश अचार्यले डिजाइन र बागवानी पक्षमा सुझाव दिएका थिए। कार्यक्रममा बोल्दै रिकास्टकी कार्यकारी निर्देशक प्राध्यापक डा. मीना राजभण्डारीले यो अनुसन्धान प्रयोगशालामा सीमित नरहेर व्यावहारिक समाधानमा केन्द्रित रहेको बताइन्।
अनुसन्धान टोलीले अब छानिएका सुन्तला बढी उत्पादन हुने जिल्लामा आधारभूत सर्वेक्षण गर्नेछ। सन् २०२६ को अन्त्यसम्म प्रोटोटाइप तयार पार्ने लक्ष्य रहेको जनाइएको छ।
Shares

प्रतिक्रिया