नेपाल राष्ट्र बैंकले रियल–स्टेट (घरजग्गा) कारोबारको वर्तमान अवस्था तथा प्रवृत्तिसम्बन्धी तथ्याङ्क प्रकाशन सुरु गरेको छ।
बैंकले आर्थिक वर्ष २०७९/८० लाई आधार वर्षको रुपमा लिई रियल–स्टेट कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क प्रकाशन गर्न सुरु गरेको हो।
भूमि व्यवस्थापन तथा अभिलेख विभाग, आन्तरिक राजस्व विभाग र राष्ट्र बैंकले सङ्कलन गर्ने तथ्याङ्कका आधारमा रियल–स्टेट कारोबारसम्बन्धी तथ्याङ्क त्रैमासिक रुपमा प्रकाशन गरिने जनाइएको छ।
रियल–स्टेट कारोबारको प्रवृत्तिको विश्लेषण लिखत पारितअन्तर्गत राजिनामा कारोबारको आधारमा गरिएको छ। रियल–स्टेट कारोबारको संख्या, कारोबारको मूल्य, कारोबार भएको क्षेत्रफल, राजस्व सङ्कलन र रियल–स्टेट क्षेत्रमा गएको बैंक कर्जाजस्ता तथ्याङ्कका आधारमा रियल–स्टेट कारोबारको प्रवृत्ति विश्लेषण गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ।
रियल–स्टेट कारोबारलाई राष्ट्रियस्तरका अतिरिक्त प्रादेशिक, महानगरपालिका र उप–महानगरपालिका स्तरमा समेत विश्लेषण गरिएको छ। साथै, कारोबार भएको जग्गाको क्षेत्रफललाई विभिन्न तहमा विभाजन गरी सोहीअनुरूप कारोबारको सब्ख्या र थैली रकम तथ्याङ्कलाई प्रस्तुत गरिएको छ।
त्रैमासिक तथ्याङ्कअनुसार घरजग्गा कारोबारमा मौसमी प्रवृत्ति देखिएको छ। पहिलो त्रैमासिकमा न्यून र तेस्रो तथा चौथो त्रैमासिकमा रियल–स्टेट कारोबार उच्च हुने देखिएको छ। कारोबार सब्ख्याका आधारमा मधेश प्रदेश अग्रस्थानमा छ। त्यसपछि लुम्बिनी प्रदेश र कोशी प्रदेश रहेका छन्। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम कारोबार हुने गरेको छ।
कारोबार भएको जग्गाको क्षेत्रफलका आधारमा मधेश प्रदेशको हिस्सा सबैभन्दा उच्च छ। त्यसपछि कोशी प्रदेश र लुम्बिनी प्रदेश रहेका छन्। जग्गाको कारोबार भएको क्षेत्रफलका आधारमा मधेश प्रदेशबाहेक सबै प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका प्लटहरू सबैभन्दा बढी कारोबार हुने गरेको छ भने मधेश प्रदेशमा २० आनाभन्दा माथिका प्लटहरूमा बढी कारोबार देखिएको छ। घोषित मूल्य (थैली रकम) का आधारमा बागमती प्रदेश अग्रस्थानमा रहेको छ। महानगर तथा उप–महानगरपालिकामा ५ देखि १० आना क्षेत्रफलका प्लटहरू सबैभन्दा बढी कारोबार भएको देखिएको छ।
आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म घरजग्गा कर्जा ७२.४१ प्रतिशत र आवासीय कर्जा ६१.५५ प्रतिशतले वृद्धि भएको छ। घरजग्गा क्षेत्रबाट प्राप्त सरकारी राजस्व आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिकमा २३.७ अर्बसम्म पुगेको थियो। त्यसपछि घट्दै २०७९/८० को पहिलो त्रैमासिकमा रु.८.२ अर्बमा झरेको र पछिल्लो अवधिमा पुनः सुधार भई २०८१/८२ मा करिब रु.१५ अर्बसम्म पुगेको छ।
रियल–स्टेट कारोबारसम्बन्धी यस प्रकृतिको तथ्याङ्कबाट रियल–स्टेट क्षेत्रको गतिविधि आकलन गर्न सहयोग पुग्ने विश्वास लिएको छ। उपर्युक्त तथ्याङ्कका आधारमा घरजग्गा मूल्य सूचकाङ्क निर्माण तथा प्रकाशन गर्ने दोस्रो चरणको तयारीसमेत यस बैंकले गरिरहेको छ।
यस्तो छ प्रतिवेदन
Shares

प्रतिक्रिया