कारोबार


महोत्तरीका वनमा माहुरी चराउँदै चितवनका किसान

महोत्तरीका वनमा माहुरी चराउँदै चितवनका किसान

नेपालखबर
चैत २४, २०८२ मंगलबार २०:२७, काठमाडौँ

पूर्वपश्चिम राजमार्ग दायाँबायाँ महोत्तरीका वन क्षेत्रमा हाल चितवनका किसान माहुरी चराउन व्यस्त छन्। वसन्त ऋतुका बेला वन क्षेत्रका ‘इक्युलिप्टिस’ (मसला) का रूखमा ढकमक्क फूल खिलेको बेला पारेर चितवनका किसान यहाँ माहुरी चराउन आइपुगेका हुन्।

यसपालि यहाँ ठूलो हुरीबतास र असिना नपर्दा माहुरीलाई अनुकूल मौसम भएको माहुरीपालक किसानको भनाइ छ। ‘यहाँका वनमा फागुनको सुरुआतदेखि नै वनस्पतिमा राम्ररी फूल फुलेका छन्, त्यसैले माहुरी चराउन यहाँ आएका हौँ’, चितवन खैरहनी–४ का ४५ वर्षीय सुरेश बस्नेत भन्छन्।

उनले यसपालि फागुन पहिलो साता महोत्तरीका वनमा राखेका दुई ८४ घार माहुरीबाट हालसम्म २० क्विन्टल मह उत्पादन भएको जानकारी दिए। 

‘अझै छ/सात क्विन्टल उत्पादन हुन्छ होला। यसपालि हालसम्म महबाट रु १० लाख जति आम्दानी लिइयो। यहाँका वनका वनस्पतिका फूलमा प्रशस्त रस हुँदा राम्रो मह उत्पादन भएको हो’, बस्नेतले भने। 

चितवन कालिका–७ का अशोक बस्नेतले यहाँका विभिन्न क्षेत्रमा एक सय २५ घार माहुरी राखेका छन्। उनले गत फागुन पहिलो सातायता हालसम्म आठ क्विन्टल मह उत्पादन भएको बताए। यस्तै, खैरहनी–८ का ३५ वर्षीय युवराज कार्कीले एक सय तीन घार माहुरीबाट सात क्विन्टल मह उत्पादन गरिसकेको बताए।

सबैभन्दा पाका ७७ वर्षीय अशोक बस्नेतको प्रेरणाले आफूहरू माहुरीमा रमेको बस्नेत र कार्कीको भनाइ छ। ‘म कमाउन भनेर सउदी अरेबिया पनि गएँ, भनेजस्तो काम नपाएर फर्केपछि यहीँ माहुरीपालनमा लागेँ’, सुरेशले भने, ‘यसै व्यवसायबाट केही गर्न सकिन्छ भन्ने विश्वास पलाएको छ। पछिल्ला तीन/चार वर्षयता राम्रै कमाइ भइरहेको छ।’ 

मामा अशोकको प्रेरणाले आफू माहुरीपालनमा लागेको र अब यही व्यवसायबाट सन्तुष्टि मिलेको कार्कीको भनाइ छ। उद्यम सञ्चालन गर्न चितवनका कृषिसम्बद्ध सरकारी कार्यालय र स्थानीय तहले अनुदान दिएकाले व्यवसाय सञ्चालनका लागि आफूहरूलाई सहयोग पुगेको मौरीपालक किसानले बताउने गरेका छन्, तर कुकाठबाट बन्ने घारमा बढी रकम काटिँदा अनुदान रकमको ठूलो हिस्सा त्यसैमा जाने गरेको धेरैजसोको चनाइ छ। 

‘कृषि कार्यालयले यस्ता घार अनुदान रकमबाट कट्टा हुनेगरी उपलब्ध गराउँछन्, यसको मूल्य प्रतिघार तीन रु हजार ५०० काटिन्छ’, सुरेश भन्छन्, ‘सरकारले हामीलाई कुकाठ उपलब्ध गराए हामी आफैँ कम लागतमा घार बनाउँथ्यौँ। यो व्यवस्था हुन नसक्दा अनुदान रकमको ठूलो हिस्सा घारमै जाने गरेको छ।’

महोत्तरी माहुरीका लागि राम्रो चरणको क्षेत्र भए पनि यही जिल्लाका किसान भने यसतर्फ आकर्षित हुनसकेका छैनन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad