सरकारले बूढीगण्डकी र पश्चिम सेती जलविद्युत् आयोजनामा बाह्य स्रोत समेत खोज्ने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको आगामी आवको नीति तथा कार्यक्रममा उक्त आयोजनामा आन्तरिक बाहेक बाह्य स्रोत समेत जुटाइने उल्लेख गरिएको हो।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले भनिन्, ‘आगामी आवभित्रै माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरिनेछ। बाह्य स्रोतसमेत जुटाई बूढीगण्डकी तथा पश्चिम सेती जलविद्युत् आयोजनाहरु अगाडि बढाइनेछ।’
बूढीगण्डकी आयोजना निर्माणका लागि सरकारले पेट्रोलियम कर समेत लगाउँदै आएको छ भने आयोजना निर्माणस्थलमा मुआब्जा वितरण समेत गरिरहेको छ।
त्यस्तै, नेपालको पानी जनताको लगानीअन्तर्गत माथिल्लो अरुण, तामाकोशी ५, फुकोट कर्णाली र जगदुल्ला विद्युत् आयोजनाको अध्ययन सम्पन्न गरी निर्माण प्रारम्भ गरिनेछ।
तमोर र मादी जलाशययुक्त जलविद्युत् आयोजनाको अध्ययन सम्पन्न गरी सार्वजनिक निजी साझेदारीमा निर्माण कार्य अगाडि बढाइने भएको छ। दूधकोशी जलाशययुक्त आयोजनाको निर्माण प्रारम्भ गरिनेछ।
पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदनलाई अन्तिम रुप दिई आयोजना विकासका कार्य अगाडि बढाइने भएको छ।

प्रतिक्रिया