कारोबार


गौतम बुद्ध विमानस्थलमा पहिलो पटक बोइङको विशाल विमान अवतरण हुँदै

गौतम बुद्ध विमानस्थलमा पहिलो पटक बोइङको विशाल विमान अवतरण हुँदै

नेपालखबर
चैत १८, २०८२ बुधबार १३:३८, काठमाडौँ

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो पटक बोइङको ठूलो जहाज अवतरण हुने भएको छ। कुवेतको राष्ट्रिय ध्वजाबाहक कुवेत एयरवेजको बोइङ ७७७–३०० (ईआर) सिरिजको जहाजले भैरहवामा उडान भर्न लागेको हो।

बोइङको यो ७७७-३०० (ईआर) ले १३ हजार ६५० किलोमिटरसम्म नन-स्टप उडान भर्न सक्छ। दुबई-लस एन्जलस जस्ता लामा रुटहरूमा नन-स्टप उडान गर्छ। ७७७-३०० को सुरूवाती जहाजको तुलनामा यो ईआर मोडलको लगातार उड्ने क्षमता ३४ प्रतिशतभन्दा बढी छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्धक श्याम किशोर शाहका अनुसार यसअघि एक पटक बोइङ ७७७-२०० सिरिजको जहाज भैरहवा आएको थियो, जसको तुलनामा यो जहाज ठूलो र अत्याधुनिक पनि हो।

विमानस्थलका प्रबन्धक शाहले नेपालखबरसँग भने, ‘कुवेत सिटीबाट उडेको जहाज साढे चार बजे अवतरण गर्ने तालिका छ। त्यसमा ३ सय १६ जना यात्रु नेपाल आइरहेका छन्,’ प्रबन्धक शाहले भने।

गाैतम बुद्ध विमानस्थलमा ३ सयभन्दा बढी सिट क्षमताको 'ट्रिपल सेभेन' जहाज आउनुलाई उड्डयन क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

कुवेत एयरवेजको बोइङको ७७७-३०० (ईआर)  बिमानको सिट प्लान
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का एक उच्च अधिकारीका अनुसार यो उडानले विमानस्थलको प्राविधिक क्षमता पनि प्रमाणित हुनेछ। ‘ठूला जहाज अवतरण हुन सक्दैनन् भन्ने भ्रमलाई यो उडानले विश्वव्यापी रूपमै चिर्नेछ,’ ती अधिकारीले भने।

कुवेतबाट आइरहेको जहाजमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरू छन्। भैरहवामा अवतरण गरेपछि उक्त जहाज पुनः कुवेत फर्कने वा काठमाडौँ हुँदै जाने भन्ने विषयमा प्राविधिक छलफल भइरहेको प्रबन्धक शाहले बताए।

३ हजार ५ सय मिटर लामो धावनमार्ग रहेको यो विमानस्थलमा ठूला विमानहरू एअरबस ३३० र बोइङ ७७७-३०० सेरिजसम्म अवतरण गर्न सक्ने क्षमता छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad