कारोबार


इटहरीमा छैठौँ इस्टर्न ट्राभल मार्ट सुरु

इटहरीमा छैठौँ इस्टर्न ट्राभल मार्ट सुरु

नेपालखबर
चैत १४, २०८२ शनिबार १९:४२, काठमाडौँ

नेपाल पर्यटन बोर्ड र इटहरी उपमहानगरपालिकाको सहकार्यमा छैठौँ इस्टर्न ट्राभल मार्ट २०२६ शनिबारदेखि इटहरीमा सुरु भएको छ। 

कोसी प्रदेशका पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने लक्ष्यसहित सुरु भएको मार्ट उद्घाटन गर्दै कोसी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भिम पराजुलीले कोसी प्रदेश प्राकृतिक, सांस्कृतिक र धार्मिक हिसाबले अत्यन्त समृद्ध रहेको बताए। ‘कोसी प्रदेश नेपालको पर्यटनको गेटवे बन्ने क्षमता राख्छ। हामी यसलाई योजनाबद्ध रूपमा विकास गर्दै अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने दिशामा अघि बढिरहेका छौँ,’ उनले भने। 

त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले मार्ट पूर्वी नेपालको पर्यटन प्रवर्द्धनका लागि प्रभावकारी मञ्च बन्ने विश्वास व्यक्त गरे। ‘हामी पर्यटनलाई अर्थतन्त्रको प्रमुख आधारका रूपमा अगाडि बढाइरहेका छौँ,’ निरौलाले भने, ‘१६औँ आवधिक योजना र नेपाल पर्यटन दशक अभियानमार्फत पर्यटनलाई रोजगारी र आय वृद्धिको मुख्य माध्यम बनाइँदै छ।’

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले पर्यटनलाई संस्कृति, अर्थतन्त्र र मानिसलाई जोड्ने माध्यमको रूपमा व्याख्या गरे। उनले पूर्वी नेपाललाई साहसिक, सांस्कृतिक र प्राकृतिक पर्यटनको महत्वपूर्ण केन्द्र भएको उल्लेख गरे। 

नेपाल एसोसिएसज अफ टुर एन्ड ट्राभल्स (नाटा) कोसी प्रदेशका अध्यक्ष एवं मार्ट संयोजक पूण्यप्रसाद भट्टराईले मार्टको उद्देश्य सीमा क्षेत्रका पर्यटन व्यवसायीलाई एउटै प्लेटफर्ममा ल्याई व्यापार विस्तार गर्नु रहेको बताए। ‘यो मार्ट कोसी प्रदेशको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने मञ्च हो,’ उनले भने। 

कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरलाई सम्मान गरिएको छ। ऐरले नेपालको पूर्वी क्षेत्रको पर्यटन प्रबर्द्धनसहित देशभरका सातै प्रदेशमा ट्राभल मार्ट सुरु गरेका थिए। 

कार्यक्रममा भारतीय दूतावासका प्रथम सचिव नारायण सिंह लगायत भारत र भुटानबाट आएका पर्यटन व्यवसायीको  सहभागिता रहेको छ। भारतका पश्चिम बंगाल, बिहार र सिक्किम तथा भुटानबाट एक सयभन्दा बढी पर्यटन व्यवसायीको सहभागिता रहेको छ। त्यस्तै, नेपालका विभिन्न प्रदेशबाट ५० भन्दा बढी व्यवसायी सहभागी भएका छन्। मार्ट आगामी चैत १६ गतेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad