कारोबार


एआई ह्याकाथनमा नेपाल र भारतका युवा आविष्कारक: प्रविधिमार्फत समस्या समाधानको खोजी

एआई ह्याकाथनमा नेपाल र भारतका युवा आविष्कारक: प्रविधिमार्फत समस्या समाधानको खोजी

नेपालखबर
चैत ९, २०८२ सोमबार १६:४६, काठमाडौँ

नेपाल र भारतका युवा आविष्कारकहरूको समूह पछिल्लो समय कृत्रिम बौद्धिकता (एआई) का माध्यमबाट परम्परागत समस्याको समाधान खोज्ने मिसनमा केन्द्रित भएका छन्। काठमाडौँमा आयोजित 'एआई ह्याकाथन २०२६' मा सहभागी ३६ वटा टोलीले आफ्ना नवप्रवर्द्धनात्मक सोचलाई वास्तविक धरातलमा उतार्ने प्रयास गरेका हुन्।

ह्याकाथनमा डिजिटल पहिचानको सुरक्षादेखि बैंकिङ क्षेत्रमा हुने ठगी (फ्रड) नियन्त्रणसम्मका विषयमा एआई-संचालित समाधानहरू प्रस्तुत गरिए। सहभागीहरूले विशेषगरी ऊर्जा, स्वास्थ्य, फिनटेक र सार्वजनिक सेवाका चुनौतीलाई प्रविधिमार्फत सहज बनाउने आइडियामा केन्द्रित रहेर छलफल गरेका थिए।

कार्यक्रमको उद्घाटन गर्दै अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख माइक हार्करले अत्याधुनिक प्रविधिको विकासमा अमेरिकाको नेतृत्वदायी भूमिका रहेको चर्चा गरे। उनले नयाँ उद्यमीका आइडियालाई परिष्कृत गरी विश्व बजारसम्म पुर्‍याउन अमेरिकाले सधैँ सहयोग गर्ने प्रतिबद्धता जनाए।

अमेरिकी दूतावासले 'एमच्याम नेपाल'सँगको साझेदारीमा नेपाली स्टार्टअप, शिक्षाविद् र पेशाकर्मीहरूलाई अमेरिकी कम्पनी, लगानीकर्ता र मेन्टरहरूसँग जोड्ने काम गरिरहेको हो।

ह्याकाथनको समापनका क्रममा अमेरिकी दूतावासका प्रवक्ता फ्रान्क सेलिनले साझेदारीबाटै नवप्रवर्तन फस्टाउने बताए। नेपालको बढ्दो डिजिटल इकोसिस्टम विश्वव्यापी एआई क्रान्तिमा योगदान दिन सक्षम रहेको र अमेरिकी प्रविधिको प्रयोगमार्फत नेपाली कम्पनीले विश्वबजारमा स्थान बनाउन सक्ने उनले विश्वास व्यक्त गरे।

नेपालको प्रविधि क्षेत्रमा अमेरिकी फर्महरूलाई आकर्षित गर्न र 'टेक इकोसिस्टम'लाई मजबुत बनाउन यस्ता कार्यक्रम कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad