कारोबार


महासंघ निर्वाचन : अन्जन श्रेष्ठको टिम घोषणा, वस्तुगत उपाध्यक्षमा शिव प्रसादको उम्मेदवारी

महासंघ निर्वाचन : अन्जन श्रेष्ठको टिम घोषणा, वस्तुगत उपाध्यक्षमा शिव प्रसादको उम्मेदवारी

नेपालखबर
चैत ९, २०८२ सोमबार १६:३५, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघको आगामी  निर्वाचनका लागि भावी अध्यक्ष अन्जन श्रेष्ठको टिम घोषणा भएको छ।

सोमबार काठमाडौँमा घोषणासभा गर्दै ६०औं वार्षिक साधारण सभा तथा निर्वाचनका लागि टिम घोषणा भएको हो। 

वरिष्ठ उपाध्यक्ष श्रेष्ठ स्वतः अध्यक्ष बन्दै छन् । श्रेष्ठ प्यानलमा वस्तुगत संघबाट उपाध्यक्षमा शिव प्रसाद घिमिरे, एसोसिएटको तर्फबाट उपाध्यक्षमा प्रबल जंग पाण्डे र जिल्ला नगर तर्फबाट उपाध्यक्षमा दिल सुन्दर श्रेष्ठ र कृष्ण प्रसाद शर्माले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। 

महासंघको ६०औं वार्षिक साधारणसभा आगामी चैत २९ र ३० गते हुँदै छ।

वस्तुगत उपाध्यक्षका उम्मेदवार शिव प्रसाद घिमिरेले निजी क्षेत्रलाई राष्ट्रिय विकासको मेरुदण्डका रूपमा व्यवहारमा उतार्दै महासंघलाई सबै तहका उद्योगी व्यवसायीको साझा, विश्वसनीय र प्रभावकारी संस्था बनाउने प्रतिबद्धता व्यक्त गरे। 

उनले यसका लागि निजी क्षेत्रमैत्री नीतिगत सुधार, नीति निर्माण प्रक्रियामा निजी क्षेत्रको जिम्मेवार र अर्थपूर्ण सहभागिता जनाउने बताए। 

उनले भने, ‘महासंघलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउँदै सचिवालयलाई पेसागत, दक्ष र सेवा-केन्द्रित संस्थाका रूपमा विकास गर्नेछौँ। केवल प्रतिबद्धता मात्र होइन, परिणाम देखिने गरी काम गर्ने संस्कृतिको विकास हाम्रो प्राथमिकता हुनेछ। यो घोषणापत्र निजी क्षेत्रको केवल सपना होइन कार्यको प्रतिबद्धता हो।’ 

उनले आफूले जितेमा सिङ्गो निजी क्षेत्रको सम्मान, सुरक्षा र भविष्य सुनिश्चित गर्ने अवसर दिलाउने दाबी गरे। 

एसोसिएटतर्फका उपाध्यक्ष उम्मेदवार प्रबलजंग पाण्डेले सरकारसँगकाे सहकार्यमा विभिन्न शीर्षकमा लाग्दै आएकाे करकाे दर सुधार गर्न सहजीकरणका लागि भूमिका निर्वाह गर्ने बताए। उनले भ्याट १० प्रतिशतमा झार्नुपर्ने, भूत प्रभावी कर लगाउन नहुने बताए।

त्यस्तै, जिल्ला नगर उपाध्यक्षमा उमेदवार दिल सुन्दर श्रेष्ठले  महासंघलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउँदै सचिवालयलाई पेसागत, दक्ष र सेवा-केन्द्रित संस्थाका रूपमा विकास गर्ने बताए।

उनले केवल प्रतिबद्धता मात्र नगरी परिणाम देखिने गरी काम गर्ने संस्कृतिको विकासलाई प्राथमिकता दिने उल्लेख गरे। आगामी सरकारसँग सहकार्य गरेर स्थानीय उत्पादनलाई प्रोत्साहन गरिने उनको भनाइ छ।

यसअघि उपाध्यक्ष हेमराज ढकालले आगामी निर्वाचनपछि वरिष्ठ उपाध्यक्षको उम्मेदवारीसहित टिम घोषणा गरिसकेका छन्। ढकालको प्यानलबाट एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छन्। 

हाल उनी एसोसिएट उपाध्यक्ष नै छिन्। त्यस्तै, ढकालको प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा उमेश डालमिया, कल्पना गैरे, वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र उपाध्यक्ष प्रस्तावित महिलामा कमला श्रेष्ठलगायतले उम्मेदवारी घोषणा गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad