कारोबार


निजी क्षेत्र संयमित, जिम्मेवार र एकताबद्ध ढंगले अघि बढे अर्थतन्त्रमा सकारात्मक परिणाम देखिन्छ : अध्यक्ष ढकाल

निजी क्षेत्र संयमित, जिम्मेवार र एकताबद्ध ढंगले अघि बढे अर्थतन्त्रमा सकारात्मक परिणाम देखिन्छ : अध्यक्ष ढकाल

नेपालखबर
चैत ४, २०८२ बुधबार १३:४९, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र संयमित, जिम्मेवार र एकताबद्ध ढंगले अघि बढे अर्थतन्त्रमा सकारात्मक परिणाम देखिन विश्वास व्यक्त गरेका छन्। 

निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको प्रमुख विषय राजनीतिक स्थिरता रहेको उल्लेख गर्दै हालै सम्पन्न निर्वाचनले त्यसतर्फ सकारात्मक संकेत दिएको उनले बताए। नेपालमा लगानी सुरक्षाको सुनिश्चितता आवश्यक रहेकोमा जोड दिँदै उनले निजी क्षेत्र निरन्तर त्यसको पक्षमा आवाज उठाउँदै आएको परिवर्तित जनादेशको परिवेशमा अर्थतन्त्रको दिशानिर्देश : निजी क्षेत्रको भूमिका र अपेक्षा विषय अन्तरक्र्रिया स्पष्ट पारे। 

सरकारद्वारा निजी क्षेत्रलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै अर्थतन्त्रको मेरुदण्डकै रूपमा निजी क्षेत्रलाई सबैले स्वीकार गरिसकेको धारणा व्यक्त गरे। साथै, सरकार गठनको तयारीमा रहेको दलले प्रतिबद्धतामा पनि निजी क्षेत्रलाई प्राथमिकता दिइएको भन्दै यसले आगामी दिनमा थप आशा जगाएको उनको भनाइ छ। 

उद्योग वाणिज्य महासंघले प्रस्तुत गरेका सुझावहरूलाई नीतिगत सुधारमार्फत कार्यान्वयन गर्ने प्रतिबद्धता समेत सरकार बनाउने दलबाट आएको उल्लेख गर्दै उनले सबै निजी क्षेत्र एकजुट भएमा विद्यमान समस्या समाधान गर्न सहज हुने बताए।  निजी क्षेत्रको एउटै आवाज रहेको सन्देश दिनुपर्नेमा जोड दिए। 

महासंघका वरिष्ठ उपाध्यक्ष तथा भावी अध्यक्ष अन्जन श्रेष्ठले वर्तमान अवस्थामा रोजगारीका लागि विदेश जानुपर्ने र उपभोगका लागि आयातमा निर्भर रहनुपर्ने यथार्थतर्फ संकेत गर्दै उत्पादनमुखी अर्थतन्त्रतर्फ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

साथै, उनले नयाँ सरकारसँग सुशासन, पारदर्शिता र आर्थिक सुधारको उच्च अपेक्षा रहेको बताउँदै लगानीमैत्री वातावरण निर्माण, करको बोझ न्यूनीकरण तथा व्यवसाय सञ्चालनमा सहजीकरण अत्यावश्यक रहेको धारणा राख्नु राखेका थिए। लाइन होइन, अनलाइन भन्ने अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्दै सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिँदै सरकार र निजी क्षेत्रबीच सहकार्य सुदृढ हुनुपर्ने उनको भनाइ छ।

श्रेष्ठले बहुमतसहित गठन हुन लागेको सरकारप्रति आशा व्यक्त गर्दै निजी क्षेत्रलाई प्रोत्साहन गरिएमा पूर्ण सहयोग गर्न तयार रहेको उल्लेख गरे। साथै आगामी दिनमा निजी क्षेत्रमाथि थप जिम्मेवारी आउने भएकाले एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिँदै खुला बजार अर्थतन्त्रको सुदृढीकरण र आफ्ना कमजोरीहरूमा सुधार गर्दै जिम्मेवार ढंगले अघि बढ्नुपर्ने धारणा उनले व्यक्त गरे। 

व्यवसायी शिव प्रसाद घिमिरे परिवर्तित जनादेशको परिवेशमा नयाँ अवसर र सम्भावना सँगै मध्यपूर्वमा उत्पन्न युद्धका कारण उत्पन्न भएको आर्थिक चुनौतीका बारेमा आफ्ना धारणा व्यक्त गरेका थिए। 

साथै, उनले नेपालको आर्थिक विकासमा निजी क्षेत्रको योगदान अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै रोजगारी सिर्जना, उत्पादन वृद्धि र राजस्व संकलनमा निजी क्षेत्रको अग्रणी भूमिका रहेको बताए । तर, नीतिगत अस्थिरता, प्रक्रियागत जटिलता, लगानीमैत्री वातावरणको अभाव तथा वित्तीय पहुँचमा कठिनाइ जस्ता समस्याले निजी क्षेत्रलाई अपेक्षित रूपमा अघि बढ्न अवरोध पु¥याइरहेको उनको भनाइ थियो । उनले यस्ता समस्याको दीर्घकालीन समाधानका लागि स्पष्ट र स्थिर आर्थिक नीति आवश्यक रहेकोमा जोड दिए। 

घिमिरेले नयाँ सरकारसँग निजी क्षेत्रले उच्च अपेक्षा राखेको उल्लेख गर्दै लगानी सुरक्षा, कर प्रणालीमा सुधार, उद्योग–व्यवसाय सञ्चालनमा सहजीकरण तथा पूर्वाधार विकासमा प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे। उनले सरकार र निजी क्षेत्रबीच विश्वासको वातावरण निर्माण गर्दै सहकार्यलाई संस्थागत गर्न सके मात्र आर्थिक पुनरुत्थान सम्भव हुने बताए।

कार्यक्रममा अर्थशास्त्री डा. विश्वास गौचनले मध्यपूर्वको युद्ध र दुई तिहाइ बहुमतको सरकारलाई सुझावÆ विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपालको आर्थिक संरचना, ऋण व्यवस्थापन तथा दीर्घकालीन आर्थिक सुधारका आवश्यक कदमहरूबारे विस्तृत कार्यप्रत्र प्रस्तुति गरेका थिए। उनले अन्तर्राष्ट्रिय परिस्थितिबाट उत्पन्न जोखिमले नेपालको अर्थतन्त्रमा पार्न सक्ने प्रभावबारे प्रकाश पार्दै त्यसअनुसार नीतिगत तयारी गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। 

उनले प्रस्तुत कार्यपत्रमार्फत निजी क्षेत्रको सुदृढीकरण, लगानीमैत्री वातावरण निर्माण, उत्पादनशील क्षेत्रको प्रवद्र्धन तथा आर्थिक पुनरुत्थानका लागि आवश्यक स्पष्ट रोडम्याप समेत प्रस्ताव गरेका थिए। साथै, निजी क्षेत्रलाई अर्थतन्त्रको मुख्य चालकका रूपमा स्थापित गर्दै सरकार–निजी क्षेत्र सहकार्यलाई थप प्रभावकारी बनाउने दिशामा ध्यान दिनुपर्नेमा उनले विशेष जोड दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad