कारोबार


व्यवसायी घिमिरे भन्छन्– खाडी तनावले नेपालमा तत्कालै पेट्रोलियम पदार्थ अभाव हुँदैन

व्यवसायी घिमिरे भन्छन्– खाडी तनावले नेपालमा तत्कालै पेट्रोलियम पदार्थ अभाव हुँदैन

नेपालखबर
फागुन १९, २०८२ मंगलबार १५:३३, काठमाडौँ

पेट्रोलियम व्यवसायी शिवप्रसाद घिमिरेले तत्काल पेट्रोलियम पदार्थ अभावको स्थिति सिर्जना नहुने बताएका छन्।

मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजनामा भएको ‘पश्चिम एसियाको द्वन्द्व: नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पर्ने असर’ विषयक अन्तर्क्रिया कार्यक्रममा घिमिरेले यस्तो बताएका हुन्।

‘समय–समयमा नेपालमा विभिन्न कारणले पेट्रोलियम पदार्थको अभाव हुँदै आएको छ। यसर्थ, विभिन्न मुलुकमा द्वन्द्व हुँदा नेपालमा पनि एक किसिमको अभावको त्रास फैलने गर्दछ’, घिमिरले भने, ‘यस्तो अवस्थामा विगतको अभ्यासलाई हेरेर पनि त्रसित हुनु स्वाभाविक हो। तर, समग्र स्थिति हेर्दा तत्कालै पेट्रोलियम पदार्थको अभाव हुने देखिँदैन।’

अहिले भएको द्वन्द्वका कारण एकातर्फ उत्पादन घटेर जाने, आपूर्ति शृंखलामा पनि समस्या पैदा गर्ने भए पनि त्यसले नेपालसम्म तत्कालै असर नगर्ने उनको तर्क छ। केही दिनअगाडि मात्रै ग्यास अभावको त्रास फैलिएका कारण पनि समग्र इन्धन नै अभाव हुने हो कि भन्ने त्रास जनमानसमा फैलिएको उनको भनाइ छ।

‘अन्य इन्धनको तुलनामा ग्यास आपूर्ति श्रृंखला भने  फरक किसिमको छ। हाम्रोमा ग्यासको बुलेट भारतको मात्रै प्रयोग हुने गर्दछ भने यसको ढुवानीकर्ता भारत मात्रै हो,’ उनले भने, ‘यहि कारण बुलेटको अभाव हुनु र भारतीय आयातकर्ताले पनि सुरक्षित र बढी नाफा खोज्दै भारतमा नै बढी ढुवानी गरिदिने गर्छन्। यसले नेपालमा समस्या पैदा गरेको छ।’

यही कारण बेलाबेला ग्यासको सवालमा समस्या आउने भए पनि हाल भने बुलेट अभावको समस्या समाधान भइसकेकाले ग्यासको अभाव नहुने उनको भनाइ छ। ग्यासका सवालमा अन्य समस्या समाधान भएको र जाडोका कारण बढी हुने खपतको मात्रा पनि घटेर जाने भएकाले अभावको त्रासमा रहनुपर्ने स्थिति नभएको घिमिरेले बताए।

अहिले पश्चिम एसियामा भएको युद्धका कारण इन्धन अभावको त्रासले सामान्य समयमा भन्दा बढी खपत भइरहेको उनले उल्लेख गरे। यसले गर्दा ग्यास अभावको समस्या केही मात्रामा देखिएको भएपनि यो समस्या समाधानतर्फ गइसकेको उनले बताए।

अर्कोतर्फ, द्वन्द्वका कारण उडान रद्द हुँदा हवाइ इन्धनको खपत घटेको र नेपालको सन्दर्भमा भण्डारण पनि पर्याप्त भएकाले त्रासमा रहनुपर्ने स्थिति नभएको घिमिरेले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad