कारोबार


सेयरबजारमा सेलाउन थाल्यो चुनावी ‘वेभ’

सेयरबजारमा सेलाउन थाल्यो चुनावी ‘वेभ’

नेपालखबर
फागुन ३, २०८२ आइतबार १७:१३, काठमाडौँ

चुनाव नआउँदै सेयरबजारमा देखिएको चुनावी लहर (वेभ) हराउन थालेको छ।

सरकारले चुनावको मिति तोकेसँगै माहोल अनुकूल बन्दा बढ्न थालेको बजारले अपेक्षित उचाइ नलिँदै पुनः पुरानै प्रवृत्ति दोहोर्याउन थालेपछि लगानीकर्ताले सक्रियता घटाउन थालेका हुन्।

निर्वाचनलाई नै आधार मान्दै पछिल्लो एक महिनामा बजारमा सूचकले २७७२ अंकसम्म फड्को मारेको थियो। माघ ११ गते ५७.५५ अंकले बढेर २७७२ अंकमा पुगेको बजार त्यसपछि भने उस्तै रहन सकेन। माघ सकिँदासम्म पुनः नेप्सेले सोही अंक छुन सकेको छैन। 

यसले गत साउनमै ३ हजार माथिको विन्दुमा २६ अर्बको कारोबार गरेका लगानीकर्ताको विश्वास चुनावले पुनः फर्काउन असफल भएको छ।

माघ महिनामा अधिकतम २७७२ अंक र १६ अर्बको कारोबार भएको छ। 

चुनाव हुने सुनिश्चिततापछि शासनप्रणालीमा फरकपनाको अपेक्षासहित लगानीकर्ता बजारमा फर्किएका थिए। तर उनीहरुको उत्साह हप्ता दिन पनि टिक्न सकेन। किनभने माघ ४ गते २६४० अंकमा पुगेको नेप्सेले माघ ११ गते २७७२ को विन्दु छोएर पनि फर्किएको हो।

सो दिन नै १३ अर्बको कारोबार गरेका लगानीकर्ताले भोलिपल्टै १६ अर्ब माथिको कारोबार गरेका थिए। चुनावी माहोलले सूचकमा ल्याएको सानो वेभमै लगानीकर्ता नाफा बुक गर्न लागेको देखिएका थिए। यसले बजारमा सप्लाई बढाउँदा त्यसपछिका दिनहरुमा चुनावी माहोलले बजार तताउन सकेन। 

त्यसपछि माघ १२ देखि २९ गतेसम्म लगानीकर्ताले धेरैमा १३ अर्ब ९५ करोड र थोरैमा ७ अर्ब ४५ करोडको कारोबार गरेका छन्। माघ महिनाको अन्तिम कारोबार दिन भने लगानीकर्ताले १० अर्ब ९० करोडको कारोबार गरेका छन्। 

गत साउनमा ३ हजारमाथि पुगेर फर्किएको नेप्सेलाई पुनः चुनावी वेभले माथि उचाल्ने आकलन गरिए पनि लगानीकर्तामा भने बजारलाई लिएर विश्वास बढ्न नसकेको देखिन्छ।

धरमरमै देखिन्छन् लगानीकर्ता 
बजारमा लगानीकर्ताहरु धरमरकै अवस्थामा देखिएका छन्। बजारमा आउने ‘भोल्युम’को अवस्थाले लगानीकर्ताहरुमा बजारलाई लिएर विश्वस्त हुन नसकेको देखाएको छ। 

सूचक बढे पनि लगानीकर्ताले गत साउनमै गरेको कारोबारको आधा रकम बराबरको कारोबार गर्न पनि डराइरहेका छन्। गत साउन महिनामा लगानीकर्ताले अधिकतम २६ अर्बको कारोबार गरेका थिए। नेप्से सूचक पनि ३ हजार माथि पुगेको थियो। 

चुनाव घोषणादेखि अहिलेसम्म बजारमा सोही बराबरको कारोबार हुनसकेको छैन। यसले लगानीकर्ता चुनावलाई लिएर बजार बढ्नेमा विश्वस्त हुन नसकेको देखिन्छ। 

धमाधम आईपीओ, बजारमा माग न्यून 
धमाधम आईपीओ बजारमा आउँदा त्यसले लगानीकर्तामा उत्साह छर्नुपर्ने थियो। तर आईपीओ आउँदै गर्दा बजारमा सेयरको सप्लाई बढे पनि डिमान्डमा भने सकारात्मक असर देखिन सकेको छैन। 

माग बलियो बन्न नसक्दा बजारमा सूचक र कारोबार दुवै साउनको रेकर्ड नजिक पनि पुग्न नसकेको देखिन्छ। 

चालू आवको ७ महिनामा १७ वटा कम्पनीहरुले आईपीओ निकाल्ने स्वीकृति पाइसकेका छन्।

त्यसमा १२ वटा कम्पनीहरुले आईपीओ निष्काशन गरिसकेका छन्। नयाँ सेयर सूचीकरणले बजारमा सप्लाई बढाए पनि सूचक नै बढाउने गरी उत्साह भने छर्न नसकेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad