कारोबार


आईटी क्षेत्रमा विदेशी लगानीकर्ताको ध्यान, ६ महिनामा २८८ आयोजनामा लगानी प्रतिबद्धता

आईटी क्षेत्रमा विदेशी लगानीकर्ताको ध्यान, ६ महिनामा २८८ आयोजनामा लगानी प्रतिबद्धता

नेपालखबर
फागुन १, २०८२ शुक्रबार १७:१९, काठमाडौँ

नेपालको सूचना प्रविधिसम्बन्धी क्षेत्र (आईटी)का उद्योगमा वैदेशिक लगानी बढ्न थालेको छ। पछिल्लो ७ महिनामा यो क्षेत्रमा सबैभन्दा धेरैवटा आयोजनाका लागि लगानी प्रतिबद्धता आएको हो।

उद्योग विभागका अनुसार संख्यागत हिसाबमा आईटी क्षेत्रमा लगानी प्रतिबद्धता धेरै आएको छ। 

माघ मसान्तसम्म यो क्षेत्रमा २८८ वटा आयोजनाका लागि लगानी प्रतिबद्धता स्वीकृत भएको हो। जुन माघ मसान्तसम्म लगानीका लागि स्वीकृति पाउने क्षेत्रमध्ये ५५ प्रतिशत हो।

समग्रमा माघ महिनामा १ अर्ब ४ करोडको लगानी प्रतिबद्धता विभागले स्वीकृत गरेको छ। 

माघ महिनामा मात्रै ४९ वटा आयोजनाका लागि प्रतिबद्धता स्वीकृत भएको हो। पछिल्लो ७ महिनामा भने ५२४ वटा आयोजनामा कुल ४० अर्ब २८ करोड बराबरको लगानी प्रतिबद्धता स्वीकृत भएको हो। जसमा अटोमेटिक रुटबाट माघ मसान्तसम्म ३५१ वटा आयोजनाका लागि ३ अर्ब २५ करोड रुपैयाँ लगानी प्रतिबद्धता स्वीकृत हुँदा विभागबाट भने १७३ वटा आयोजनाका लागि ३७ अर्ब ३ करोड लगानी प्रतिबद्धता स्वीकृत भएको छ।

पछिल्लो ७ महिनामा ३४ वटा आयोजना सेयर खरिदका लागि विभागबाट ४ अर्ब २६ करोडबराबरको लगानी स्वीकृत हुँदा ३३ वटा आयोजनामा प्रविधि हस्तान्तरणसम्बन्धी सम्झौता स्वीकृत भएको छ। 

यी क्षेत्रमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता 
रकमका आधारमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता कृषि क्षेत्रमा आएको छ। यो क्षेत्रमा २१ अर्ब ९० करोड बराबरको १४ वटा आयोजनामा लगानीका प्रतिबद्धता स्वीकृत हुँदा पर्यटनमूलक १५० वटा आयोजनामा १० अर्ब ८६ करोडको लगानी प्रतिबद्धता स्वीकृत भएको छ। 

यस्तै सेवा क्षेत्रमा ३४ वटा आयोजनामा ३ अर्ब ५४ करोड लगानी प्रतिबद्धता स्वीकृत हुँदा उत्पादनमूलक क्षेत्रका ३५ वटा आयोजनामा २ अर्ब ४० करोड प्रतिबद्धता स्वीकृत भएको छ। यस्तै आईटी क्षेत्रमा भने २८८ वटा आयोजनामा १ अर्ब २५ करोडको लगानी प्रतिबद्धता स्वीकृत भएको छ। संख्यागत रुपमा पछिल्लो ७ महिनामा सबैभन्दा धेरै आईटी क्षेत्रको आयोजनामा लगानी प्रतिबद्धता आएको छ। 

यद्यपि रकमका आधारमा भने यो क्षेत्र पाँचौँ स्थानमा छ। योबाहेक ऊर्जा क्षेत्रका एउटा आयोजनामा १८ करोड लगानी प्रतिबद्धता स्वीकृत हुँदा खनिज क्षेत्रमा २ वटा आयोजनामा ११ करोडको लगानी प्रतिबद्धता स्वीकृत भएको छ। 

यस्तै माघ मसान्तसम्म रोयल्टीमार्फत ४ अर्ब १९ करोड बराबरको रकम लगानीबापत विदेशीले फिर्ता लगेका छन्। यस्तै लाभांशबापत भने विदेशी लगानीकर्ताले १६ अर्ब २६ करोड रकम फिर्ता लग्दा सर्भिस फीमार्फत १० करोड रुपैयाँ स्वदेश फिर्ता लगेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad