कारोबार


एयर इन्डिया र इन्डिगोका दुई ठूला जहाज आपसमा ठोक्किए: पखेटा कुच्चियो

एयर इन्डिया र इन्डिगोका दुई ठूला जहाज आपसमा ठोक्किए: पखेटा कुच्चियो

नेपालखबर
माघ २१, २०८२ बुधबार १४:४८, काठमाडौँ

भारतको मुम्बईस्थित छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा दुई ठूला व्यावसायिक जहाजका पखेटा (विङ-टिप) आपसमा ठोक्किएका छन्। मंगलबार साँझ करिब ७:३२ बजे भएको उक्त 'ग्राउन्ड कोलिजन' मा एयर इन्डिया र इन्डिगो एयरलाइन्सका दुई 'एयरबस ३२०' जहाज क्षतिग्रस्त भएका हुन्।

भारतीय नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) का अनुसार मुम्बईबाट तामिलनाडुको कोइम्बटोर उड्न लागेको एयर इन्डियाको जहाज एउटा ट्याक्सी-वेबाट अर्कोमा जाँदै गर्दा दुर्घटना भएको हो। सोही समयमा हैदराबादबाट मुम्बई अवतरण गरेर पार्किङ वे तर्फ आउँदै गरेको इन्डिगोको जहाजसँग यसको दाहिने पखेटा ठोक्किएको थियो।

२ जहाज ठोक्किँदा कुच्चिएको एयर इन्डियाको पखेँटा

दुवै जहाजको 'विङ-टिप' (पखेटाको अन्तिम भाग) मा क्षति पुगेको छ। टक्करपछि एयर इन्डियाको विमानको पखेटाको केही भाग कच्याककुचुक भएको छ। उडान भर्ने तयारीमा रहेको एयर इन्डियाको विमानमा रहेका यात्रुहरूलाई आकस्मिक रूपमा ओरालेर अर्को वैकल्पिक विमानमार्फत गन्तव्यतर्फ पठाइएको थियो।

डीजीसीएले दुवै विमानका चालक दलका सदस्य (पाइलट) र एयर ट्राफिक कन्ट्रोल (एटीसी) को भूमिकामाथि छानबिन सुरु गरेको छ। घटनाको समयमा भिजिबिलिटी र ग्राउन्ड कमाण्डको अवस्थाबारे 'ब्ल्याक बक्स' मार्फत विश्लेषण भइरहेको छ।

मुम्बई विमानस्थल भारतकै व्यस्त विमानस्थलमध्ये एक हो, जहाँका ट्याक्सी-वेहरूमा 'विङ-टिप' ट्यापिङका घटनाहरू यसअघि पनि हुने गरेका छन्। सामान्यतया विमानको आकार र ट्याक्सी-वेको चौडाइको तालमेल नमिन्दा वा पाइलटको 'स्टेरिङ' मा सामान्य त्रुटि हुँदा यस्ता घटना हुने गर्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad