कारोबार


संघीयता होइन, यसका विकृति पखाल्न चाहन्छौँ : स्वर्णिम वाग्ले

‘बालेन अबको प्रधानमन्त्री, विकृत आर्थिक मोडल बदल्छौँ’
संघीयता होइन, यसका विकृति पखाल्न चाहन्छौँ : स्वर्णिम वाग्ले

फाइल तस्बिर


नेपालखबर
माघ ५, २०८२ सोमबार १६:१५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले संघीयताका विकृतिलाई पखालेरै छाड्ने बताएका छन्। 

जनकपुरमा आयोजित पार्टीको उद्घोष सभालाई सम्बोधन गर्दै उनले संविधानकै धारामा टेकेर संघीयताका विकृति पखाल्ने बताएका हुन्। 

महोत्तरीको जलेश्वरमा आएर अर्थनीति लेखेको बताउँदै उनले भने, ‘अहिलेको संघीय ढाँचामा सुधार चाहिएको छ। ७ प्रदेश चलाउँदैनौँ तर संघीयताका विकृतिलाई चाहिँ पखाल्छौँ। संविधानकै धारामा टेकेर।’ 

उनले नेपालमा अपरिपक्व संसदीय अभ्यास गरिएको बताए। 

‘८८४ सांसदमध्ये ५५० जति प्रदेश सांसद छन्’, उनले थपे, ‘यसलाई सुधार्छौँ। सुशासनको जगमा सिंहदरबारकै नक्कल गरेर थोपरिएका प्रणाली सुधार्छौँ।’

प्रदेश संसद् र सरकारले सिंहदरबार र बानेश्वरकै नक्कल गरेको उनको भनाइ थियो। 

‘काण्डैकाण्डले भरिएको, मन्त्री फेरिइरहने यो प्रणाली सुधार्छौँ’, उनले थपे। उन्नत समावेशिताले बाँधेर देशको अनुहारजस्तो पार्टीको अनुहार हुनुपर्छ भनेर बोल्दै आएको पनि उनले बताए। 

‘बालेन अबको प्रधानमन्त्री, विकृत आर्थिक मोडल बदल्छौँ’
डा. वाग्लेले अबको प्रधानमन्त्री बालेन शाह हुने ठोकुवा गरे। 

‘यो देशको आगामी प्रधानमन्त्री बालेन्द्र शाह। उहाँ मधेशको छोरा र काठमार्डौं महानगरले रोजेको नेता पनि हो’, उनले भने, ‘सबैले भरोसा गर्नलायक सिंगो नेपालको निर्वाचित प्रधानमन्त्री बनाउँछौँ। महानगरमा गरेको काम देशभरि विस्तार गर्नु छ।’

बालेनको नेतृत्वमा बन्ने सरकारले हाल भइरहेको ‘धनीको लुटेर गरिबलाई बाँड्ने फोस्रो राष्ट्रवाद’लाई अन्त्य गर्दै २१औँ शताब्दीको भिजन दिएर अघि बढ्ने उनको भनाइ थियो।

वाग्लेले मधेश समृद्धिको खाकाको केन्द्रविन्दुमा आउनुपर्ने बताए। 

‘साँघुरिएको विकृत आर्थिक मोडल बदल्न चिन्तित छौँ’, उनले भने, ‘राष्ट्रिय समृद्धिको केन्दूविन्दुमा समृद्धिको इन्जिनका रुपमा मधेशलाई राखेका छौँ।’ 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad