कारोबार


कर्मचारीमाथि आक्रमण भएको भन्दै नेपाल इन्भेस्टमेन्ट मेगाका कर्मचारीले गराए राष्ट्र बैंकको ध्यानाकर्षण

कर्मचारीमाथि आक्रमण भएको भन्दै नेपाल इन्भेस्टमेन्ट मेगाका कर्मचारीले गराए राष्ट्र बैंकको ध्यानाकर्षण

नेपालखबर
पुस २३, २०८२ बुधबार १३:१०, काठमाडौँ

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक कर्मचारी युनियनले पछिल्लो समय बैंक तथा वित्तका कर्मचारीमाथि आक्रमण, दुर्व्यवहार, कुटपिटजस्ता गतिविधि र क्रियाकलाप बढेको भन्दै आपत्ति जनाएको छ। 

नेपाल राष्ट्र बैंकका गभर्नरलाई विरोध पत्र लेख्दै युनियन अध्यक्ष शिवहरी भण्डारीले राष्ट्र बैंकको ध्यानाकर्षण गराएको हो। 

‘पछिल्लो समय वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारीहरुमाथि प्रत्यक्ष, अप्रत्यक्ष रुपमा विभिन्न समूहहरुको प्रहारको केन्द्र बन्दै जाने स्थिति व्याप्त हुँदै गएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसै सिलसिलामा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड घोराही शाखामा कार्यरत कर्मचारीहरुलाई कर्जा असुलीको सिलसिलामा अराजक, अपराधी र उद्दण्ड व्यक्तिद्वारा ज्यान मार्ने नियतसहित गरिएको निर्घात कुटपिट गर्नेजस्तो अमानवीय बर्बर तथा आपराधिक घटनाप्रति यस युनियन खेद प्रकट गर्दछ।’

नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरुमाझ विभिन्न चुनौतीहरुलाई झेल्दै वित्तीय अनुशासन कायम गर्ने, केन्द्रीय बैंकहरूको स्वायत्तता कायम राखी मौद्रिक सहजीकरण, श्रम बजार र व्यापारिक विखण्डनलाई रोक्दै अगाडि बढेको यस विषम अवस्थामा समेत सर्वसाधारण जनताको ४.९७ खर्ब निक्षेप सुरक्षा गरी सोही निक्षेपलाई कर्जाका रुपमा करिब ३.४ खर्ब रकम जनतामाझ लगानी गर्दै यस बैंकले सयौं ग्राहक वर्गको व्यवसायमा हातेमालो गर्दै देशको अर्थतन्त्रमा टेवा पुर्याउँदै आएको उल्लेख गरिएको छ।

‘संस्थाले अत्याधुनिक प्रविधि, वित्तीय ज्ञान र उत्कृष्ट ग्राहक सेवाका लागि केन्द्रित रही ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आईरहेको छ । जसका लागी संस्थामा अहोरात्र खटिने कर्मचारी वर्गको महत्वपुर्ण भुमिका रहेको कुरामा दुईमत छैन । यसरी समग्र अर्थतन्त्रमानै सहयोगी भूमिका खेल्दै आएको देशकै ठुलो मध्यको एक यस नेपाल इन्भेष्टमेण्ट मेगा बैंकमा कार्यरत कर्मचारीहरुको पेशागत मर्यादा तथा पेशागत सुरक्षामा यस नेपाल ईन्भेष्टमेण्ट मेगा बैंक कर्मचारी युनियन सदैव कृयाशिल रहँदै आयको व्यहोरा अवगत गराउन चाहान्छौँ’, युनियनले भनेको छ। 

वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारीहरूमाथि प्रत्यक्ष, अप्रत्यक्ष रुपमा विभिन्न समूहहरूको प्रहारको केन्द्र बन्दै जाने स्थिति व्याप्त हुनु दु:खद भन्दै युनियनले खेद प्रकट गरेको छ।

‘राज्यले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको ज्यान, पेशागत मर्यादा तथा सुरुक्षाको सुनिश्चचता गर्न यस युनियन सम्बन्धित सबैको ध्यानकर्षण गराउन चाहन्छ। यदि यस्ता खालका अराजकता कायम रहदा सम्म पनि राज्य, नियामक निकाय, सुरक्षा संयन्त्र अझै मौन बस्ने र नेपाल बैंकर एसोसिएसनलगायतका संस्थाहरु टुलुटुलु हेरिबस्ने हो भने यस युनियन बैंकको सम्पुर्ण शाखा कार्यालयहरुको चाबी नेपाल रास्ट्र बैंकमा र जगेडा चाबीहरु अर्थ मन्त्रालयमा बुझाई सम्पुर्ण कर्मचारीका साथ धर्नामा बस्न बाध्यहुने चेतावनी दिन चाहन्छौँ’, विज्ञप्तिमा उल्लेख छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad