कारोबार


यी हुन् ६० प्रतिशत भौतिक प्रगति भएका राष्ट्रिय गौरवका आयोजना

यी हुन् ६० प्रतिशत भौतिक प्रगति भएका राष्ट्रिय गौरवका आयोजना

बबई सिँचाइ आयोजना (सिँचाइ विभाग)


नेपालखबर
पुस २१, २०८२ सोमबार १७:२८, काठमाडौँ

सरकारले राष्ट्रिय गौरवको आयोजनाको सूची तन्काएर २६ वटासम्म पुर्‍याएको छ। तर कामको गति बढाउन नसक्दा पुरानै आयोजनाले पनि ४० प्रतिशतभन्दा माथिको भौतिक प्रगति गर्नसकेका छैनन्।

हालसम्म २६ मध्ये दुई आयोजना सम्पन्न भएका छन् भने ९ आयोजनाले भौतिक प्रगति ६० प्रतिशत माथि पुर्‍याएका छन्।

नेपाल राष्ट्र बैंकले तयार पारेको गौरवका आयोजनाहरुको प्रगति अवस्थाबारे आव २०८१/८२ को असार मसान्तसम्म प्रतिवेदनमा भौतिक प्रगति न्यून रहनेमा १५ आयोजना देखिएका छन्।

तथ्यांकअनुसार सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति ४४.२ प्रतिशत छ। त्यसैगरी सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना ३६.८ प्रतिशत, महाकाली सिँचाइ आयोजना २६.६ प्रतिशत, रेलवे तथा मेट्रोतर्फको पूर्वपश्चिम विद्युतीय रेलमार्गको बर्दिवास–चोचा खण्ड ४८ प्रतिशत र पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, काँकडभिट्टा–गड्डाचौकीको ३.४ प्रतिशत भौतिक प्रगति देखिएको हो। 

यस्तै उत्तर दक्षिण (कोशी करिडोर) लोकमार्गअन्तर्गतको खाँदबारी किमाथांका सडकको भौतिक प्रगति ४५ प्रतिशत पूरा हुँदा सोही आयोजनाको खाँदबारी–किमाथांका (च्याम्ताङु–घेङुगप्पा खण्ड) सडकको भौतिक प्रगति भने शतप्रतिशत पूरा भएको छ। 

योबाहेक उत्तर–दक्षिण सलिसल्ला सडकको भौतिक प्रगति अहिलेसम्म शून्य रहँदा सोही लोकमार्गको कर्णाली करिडोर (हिल्सा–सिमिकोट) सडकको ३६ प्रतिशत निर्माणकार्य सम्पन्न भएको हो। 

यता काठमाडौँ–तराई (मधेश) द्रुतमार्गको पनि २०८२ असारसम्म आइपुग्दा जम्मा ४२.१ प्रतिशत मात्रै भौतिक प्रगति देखिएको हो। झण्डै चार दशकले चलिरहेको मेलम्ची (प्रथम) आयोजनातर्फको यांग्री–लार्के नदी डाइभर्सन (दोस्रो चरण)को पनि भौतिक प्रगति असारसम्म जम्मा १२.५ प्रतिशत मात्रै देखिएको हो। 

राष्ट्रिय गौरवका आयोजनामध्ये राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रम पनि भौतिक प्रगति जम्मा ६.४ प्रतिशत मात्रै देखिँदा गिरिजा प्रसाद क्रिकेट रंगशालाको भौतिक प्रगति शून्य देखिएको हो। मूलपानी क्रिकेट एकेडेमीको भने भौतिक प्रगति ४२ प्रतिशत पुगेको तथ्यांकमा उल्लेख छ।

सुस्त गतिमै निर्माणाधीन रहेका राष्ट्रिय गौरवका आयोजनाहरुमध्ये ९ वटाले भौतिक प्रगति ६० प्रतिशतभन्दा माथि पुर्‍याएका छन्। सरकारले हाल २७ वटा आयोजनालाई गौरवको आयोजनाको रुपमा सञ्चालन गरिरहेकोमा १५ आयोजनाको प्रगति अपेक्षितभन्दा धेरै कम देखिएको हो। दुईवटाको भने यसअघि नै सम्पन्न भइसकेको छ। 

६० प्रतिशत काम सकिएका यी आयोजना 
जम्मा २६ वटा आयोजनामध्ये तामाकोशी माथिल्लो जलविद्युत् आयोजना यसअघि नै सम्पन्न भएर सञ्चालनमा आइसकेको छ भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि गत वर्षबाट सम्पन्न भएर सञ्चालनमा आइसकेको छ। सम्पन्नपछि बाँकी रहेका २४ आयोजनामध्ये ९ वटा आयोजनाले भने आफ्नो भौतिक प्रगति ६० प्रतिशतभन्दा माथि पुर्‍याएका छन्। 

जसमा बबई सिँँचाइ आयोजनाको भौतिक प्रगति २०८२ असारसम्म ८२.३ प्रतिशत हुँदा रानीजमरा कुलरिया सिँचाइ आयोजनाको ७४.८ प्रतिशत, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ६७.५ प्रतिशत, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल ९८.८ प्रतिशत, हुलाकी लोकमार्गको ७२.८ प्रतिशत, पुष्पलाल मध्यपहाडी लोकमार्गको ८१.७ प्रतिशत, उत्तर दक्षिण (कालीगण्डकी करिडोर) अन्तर्गत दुईवटै आयोजनाको क्रमशः ७९.९ प्रतिशत र ८५.० प्रतिशत भौतिक प्रगति सम्पन्न भएको हो। 

यस्तै योबाहेक कर्णाली करिडोरअन्तर्गतका (लालिबगर दुल्लिकुन्ना खण्ड र घाटपारी चौर बद्रीगाउँ भुक्काखोला खण्डको मात्रै भौतिक प्रगति ८३.९ प्रतिशत पुगेको छ तर समग्र करिडोरको भने प्रगति ६० प्रतिशत माथि देखिँदैन। 

यस्तै मेलम्ची खानेपानी आयोजना (प्रथम चरण)को प्रगति ९९.५ प्रतिशत देखिँदा लुम्बिनी विकास कोष ८९ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad