पछिल्लो समय सेयरबजारले लामो फड्को मार्न सकिरहेको छैन। खासगरी भदौ २३ र २४ को जेनजी आन्दोलनपछि कारोबार सुस्ताइरहेको छ भने सूचकमा व्यापक उतारचढाव देखिनसकेको छैन।
आन्दोलनपछि बनेको वर्तमान सरकारले बजारलाई माथि उठाउन नीतिगत लचकता अपनाएको छ, केन्द्रीय बैंकले तदनुकूल नीति बनाएर सहजीकरण गरिदिएको छ। तर पनि बजार भने २५/२६ सय विन्दुमै अड्किरहेको छ।
देशमा छाएको राजनीतिक अन्योलका कारण लगानीकर्तामा आत्मविश्वास नबढेको बजारका जानकारहरू बताउँछन्। यस्तोमा देशमा अब चुनाव हुँदै छ।
यो चुनावी माहोल र त्यसपछिको अवस्थाले सेयरबजारलाई अब कता लैजाला ? सेयरबजारको वर्तमान स्थिति र भविष्यमा केन्द्रित रहेर नेपालखबरले सेयरबजारका जानकार एवं विश्लेषक मुक्ति अर्यालसँग गरेको वार्ता :
सेयरबजारले नीतिगत सपोर्ट पाइरहेको छ, बैंकहरूमा तरलता फालाफाल हुँदा सस्तो ब्याजमै ऋण पाउने अवस्था छ। तर पनि बजार किन २५ सयदेखि २६ सयकै अंकमा रुमलिइरहेको छ?
हो, अहिले नेपाल राष्ट्र बैंकले आफ्नो क्षमताअनुसार बजारलाई नीतिगत सहयोग गरेको छ। हामीसँग तरलता पर्याप्त छ, नीतिहरू तुलनात्मक रुपमा बजारमैत्री नै छन्। तर व्यापारी एवं लगानीकर्ताहरूको आत्मविश्वास अलि कमजोर भएको छ।
भदौ २४ गतेको आगजनीले आत्मविश्वासलाई धर्मराउन पुगेको थियो। यसको असर पनि अहिले अर्थतन्त्र र मार्केट दुवैमा देखिएको हो।
उनीहरूलाई नीतिगत अस्थिरताको डर पनि छ । सरकार तथा नियामकले अग्रगामी खालका स्थिर नीति बनाएर उनीहरूलाई सुरक्षित महशुस गराउन सक्नुपर्छ।

लगानी डुब्दैन, सरकारले थुन्ने–छेक्नेजस्ता आक्रमण गर्दैन भनेर आश्वस्त पार्नुपर्छ। यसो हुन नसकेकाले सेयरबजारले बढ्ने आधार तय गरे पनि लगानीकर्तालाई सुरक्षित महशुस नहुँदा माथि जानसकेको छैन।
हाम्रो सेयरबजारमा ‘म्यानिपुलेसन’ पनि अलि बढी छ। सेबोन (धितोपत्र बोर्ड)ले एक्सन पनि लिइरहेको छ। जुन सकारात्मक छ। तर लगानीकर्ता वा ट्रेडरको सेन्टिमेन्ट ‘अहिले कतै म डुब्ने त होइन’, ‘मलाई कसैले फसाइरहेको त छैन’ भन्ने डर व्याप्त छ।
आफूले लगानी गरेको सेयरको प्रतिकित्तामा ५ रुपैयाँ १० रुपैयाँ बढ्नेबित्तिकै बिक्री गर्ने मनोविज्ञान पनि छ। यो डरकै उपज हो। त्यसकारण मार्केट थोरै बढ्दा पनि बिक्री व्यापक रुपमा आउँछ। थोरै बढ्नेबित्तिकै बेच्ने कारणले जति बढ्न सक्थ्यो, त्यतिचाहिँ बढ्नसकेको पाइँदैन।
मंसिर र पुसमा सामान्यतया सूचक माथि गएको देखिन्छ। यो पटक त्यस्तो केही संकेत देखिएको छ?
अन्य समयभन्दा वैशाख, जेठ, असार र साउनमा बजारले उचाइ लिएको देखिन्छ। साउनमै ‘पिक’ लिएर पुनः घट्ने गरेको पनि देखिन्छ।
भदौ, असोज कात्तिकसम्म चाडबाड आउँछ। त्यसबेला चाडबाडमा हुने खर्च टार्नकै लागि पनि लगानीकर्ताले सेयर बिक्रीमा राख्ने गर्छन्। यसले बिक्री बढी हुने हुँदा बजार घट्ने गर्छ।
तर फेरि मंसिर र पुसमा भने प्रायः बजार बढ्ने गर्छ। पुसमा सूचीकृत कम्पनीहरूले धमाधम साधारणसभाहरू गर्छन्, लाभांशहरू वितरण गर्ने हुँदा पनि त्यसको बजारमा सकारात्मक असर पर्छ। त्यसैले यो दुई महिनामा बजार बढ्ने गर्छ। त्यस्तै माघ, फागुन र चैतमा बजार अलि सुस्त हुने गरेको देखिन्छ।

तर यो वर्ष चुनावी माहोल पनि छ। फागुनमा त्यसकारण अन्य वर्षको मार्केटको ट्रेन्ड (बजार प्रवृत्ति) फरक हुन सक्छ। यसले पनि बढाउन सहयोग पुग्ने हुँदा यसपटकको माघ, फागुन र चैत फरक देखिने सम्भावना पनि छ।
जेनजी आन्दोलनपछि नयाँ अनुहारहरू संसदीय राजनीतिमा आउँदै छन्। रवि लामिछानेसँग काठमाडौं महानगरका मेयर बालेन र विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको सहमति भएको दिन सेयरबजार पनि ठूलै अंकले बढ्यो, बजारले यसलाई सकारात्मक रुपमा लिएको हो?
यतिबेला रवि (लामिछाने), बालेन (शाह) कुलमान घिसिङ)जस्ता व्यक्तिहरू पनि एक भएर नयाँ पार्टीबाट चुनावमा आउँदै छन्।
यो नयाँ ‘एलायन्स’ बलियो भएर आयो भने त पक्कै पनि अर्थतन्त्रमा, सरकारले बनाउने नीतिमा र सरकारका समग्र कामहरूमा नयाँपन आउँछ भन्ने हो। अहिले बजारले यस्ता राजनीतिक चहलपहललाई ‘रियाक्ट’ गर्ने कुरा पनि यस्तै आशाहरूमा आधारित रहेर गर्ने हो।
लगानीकर्ताहरूले पनि यही नै त खोज्ने हो। स्थिर सरकार आउँछ भन्ने आशा हुन्छ। यसले पनि बजारलाई सकारात्मक सन्देश दिन्छ। यो अर्थतन्त्रका लागि मात्र नभएर सेयरबजारका लागि पनि आशाको केन्द्र हुनसक्छ। नयाँ नेतृत्व आउँदै गर्दा पनि मार्केटमा सूचक तन्किएर अलि माथि जान सक्ने सम्भावना रहन्छ।
सामान्यतया चुनावी वर्षहरूमा सेयरबजार बढ्छ भन्ने चलन छ।

तर २०५२ सालयता ६ पटक भएको चुनावले सेयरबजारमा आंशिक प्रभाव पारे पनि ठूलो प्रभाव भने देखिएको छैन नि! २०७९ को चुनावको पनि बजारमा खासै प्रभाव देखिएको थिएन। यस्तोमा फागुनमा हुनलागेको चुनाव बजार बढाउने सिँढी बन्न सक्ला?
पहिले नेपाली सेयरबजारलाई राजनीतिक उतारचढावले खासै प्रभाव पर्दैनथ्यो। धितोपत्रमा सूचीकृत कम्पनीहरू, लगानीकर्ताहरू थोरै थिए।
त्यसले गर्दा यो क्षेत्रप्रति चासो कम थियो। तर अहिले अवस्था त्यस्तो छैन। केही वर्ष अगाडिदेखि नेपाली सेयरबजारमा राजनीतिक उतारचढाव, दलहरूको बजारप्रतिका बुझाइ, सरकारका कदमहरूको प्रत्यक्ष प्रभाव पर्दै आएको छ। त्यसैले यसअगाडिका चुनाव र यो पटकको चुनावलाई लिएर बजारको प्रतिक्रिया फरक हुनसक्छ।
अहिलेको अवस्था फरक छ। अहिले नयाँ दलहरू आइरहेका छन्। लगानीकर्तादेखि सरकार र राजनीतिक दलहरूको बजारप्रतिको बुझाइ पनि सकारात्मक रहेको हुँदा चुनावको प्रभाव यस पटक बजारमा देखिनेवाला छ।
तर यति भन्दाभन्दै पनि चुनावकै कारण मात्र बजार बढ्छ भन्नुचाहिँ हुँदैन। चुनावपछि बनेको नयाँ सरकारले लिने नीतिहरूले अर्थतन्त्रलाई जति माथि लैजान सक्छ, त्यति बजार पनि माथि जाने हो।
थप अन्तर्वार्ता भिडिओमा

प्रतिक्रिया