नेकपा एमालेका नवनिर्वाचित केन्द्रीय सदस्य सूर्य थापा (सूर्यबहादुर थापा क्षेत्री) ले पार्टीको एघारौँ महाधिवेशनमा उपमहासचिवमा उठेका तर केन्द्रीय सदस्य पदमा पनि हारेका विष्णु रिमालविरुद्ध ‘अनुचित र आपराधिक टिप्पणी’ भइरहेको भन्दै खेद प्रकट गरेका छन्।
थापाले शुक्रबार फेसबुकमा लामो स्टाटस लेख्दै ‘रिमाललाई हराउन सारा सीमा र मर्यादा नाघेर लागेकाहरू’लाई खुसी नमनाउन चेतावनी पनि दिएका छन्।
‘कुनै पनि चुनावमा जित र हार हुनसक्छ, हुन्छ र स्वाभाविक मानिन्छ। सबै उम्मेदवारको जित सम्भव हुँदैन नै। तर नेकपा (एमाले) को हिजो सम्पन्न एघारौँ महाधिवेशनको मत परिणामपछि कमरेड विष्णु रिमालप्रति गरिएका अनुचित र आपराधिक टिप्पणीहरू अत्यन्त खेदजनक छन्’, उनले लेखेका छन्, ‘राजनीतिक पृष्ठभूमि, योगदान, योग्यता, क्षमता, व्यवहार र हरेक क्षेत्रमा उहाँसँग दाँजिनसक्ने बनेर अघि बढ्न खोज्ने हरेकलाई उच्च सम्मान नै छ। तर 'प्रधान अन्तरविरोध नै उहाँसँग रहेको'जस्तो गरी गति छाड्ने हर्कत कसैले नगर्दा राम्रो हुन्छ। उहाँलाई हराउन सारा सीमा र मर्यादा नाघेर लाग्नेहरूले खुसी मनाउन कुनै जरुरी छैन। यो उहाँको कुनै हार होइन।’
यस क्रममा थापाले रिमालको व्यापक प्रशंसा गर्दै उनलाई हराएकामा चाँडै महाधिवेशन प्रतिनिधिहरूलाई 'न्याउरी मारी पछुतो'जस्तो हुने दाबीसमेत गरेका छन्।
‘एकजना राजनीतिज्ञमा अत्यावश्यक सैद्धान्तिक स्पष्टता, राजनीतिक सुझबुझ, भाषा, प्रविधि, व्यवस्थापन र हरेक क्षेत्रमा स्पष्ट र काबल एक हस्तीलाई हराएर परिणाममा अध्यक्ष केपी शर्मा ओलीलाई कमजोर पार्न खोज्नेहरूको इच्छा, आकांक्षा र मनसाय पूरा भएको भाष्य निर्माण गर्न सकिएको कसैलाई लागेको छ भने त्यो झन् ठूलो भ्रम हुनेछ’, थापाले लेखेका छन्, ‘यद्यपि यो महाधिवेशनको सर्वोपरि निर्णय हो, तथापि निकै छिटो 'न्याउरी मारी पछुतो'जस्तो सबैलाई अनुभव हुनु अनिवार्य छ।’
यस्तो छ सूर्य थापाको पूरा स्टाटस :
कुनै पनि चुनावमा जित र हार हुनसक्छ, हुन्छ र स्वाभाविक मानिन्छ। सबै उम्मेदवारको जित सम्भव हुँदैन नै।
तर नेकपा (एमाले) को हिजो सम्पन्न एघारौँ महाधिवेशनको मत परिणामपछि कमरेड विष्णु रिमालप्रति गरिएका अनुचित र आपराधिक टिप्पणीहरू अत्यन्त खेदजनक छन्।
हो, उहाँले आफ्ना सहयोद्धाहरूलाई 'ग्याङ अफ फाइभ'जस्ता लाञ्छना लगाएर आफू अग्लो देखिने कोसिस कहिल्यै गर्नुभएन। 'अध्यक्ष केपी शर्मा ओलीलाई मैले मात्र जोगाएको, बचाएको र प्रतिरक्षा गरेको छु' भन्दै निजी प्रशंसा, प्रचार र मार्केटिङमा पनि लाग्नुभएन। पार्टी बाहिर र भित्रका तमाम घेराबन्दी, प्रहार र नियोजित दुष्प्रचारको वास्तासमेत गर्नुभएन।
प्रधानमन्त्रीको मुख्य सल्लाहकारका रूपमा उहाँको कार्यसम्पादनलाई मैले २० महिना सँगै टिममा रहेर स्वयंले पनि देखेको छु। उहाँसँग प्रधानमन्त्रीलाई भेट्न नदिएको/भेट्न नपाएकोजस्ता अनुचित आरोप लगाएर तथाकथित 'हराऊ अभियान' सञ्चालन गरेका केही मित्रहरूलाई यतिबेला केही भन्नु पनि छैन। खासमा उहाँ एउटा जितमा खुसीले दंग पर्ने र एउटै हारमा मर्माहत र स्तब्ध बनेर आहत एवं निराश हुने कमजोर धरातलमा रहेको मान्छे होइन।
मेरो अनुभवमा उहाँ अविरल निष्ठामा बाँच्ने र पूरा योग्यताका साथ पाएको जुनसुकै जिम्मेवारी योग्यतम ढंगले पूरा गर्ने कर्मयोगी हो। बाँकी कुनै पद विशेषमा हुँदा वा नहुँदा उहाँलाई केही फरक पर्दैनजस्तो लाग्छ। बरु पार्टीलाई उहाँको जरुरत सधैँ र अप्ठेरोमा अझ बढी हुन्छ।
उहाँजस्ता अलराउन्डर पौरखी नेताको अपरिहार्यता सदैव पार्टीलाई हुन्छ। व्यक्तिग रूपमा भन्नुपर्दा आफ्नो स्वार्थका निम्ति अनावश्यक र नक्कली लोकाचार प्रदर्शन गर्ने तथा निकट बन्ने उहाँको स्वभावै छैन। मान्छेको योग्यता, क्षमता र निष्ठासँग प्रतिस्पर्धा गर्न नसक्नेहरूले संसारभरि नै यसैगरी व्यक्तिगत आक्रमण, परपीडन र बदनाम अभियानको सहारा लिने गर्दै आएको इतिहास साक्षी रहेको छ।
राजनीतिक पृष्ठभूमि, योगदान, योग्यता, क्षमता, व्यवहार र हरेक क्षेत्रमा उहाँसँग दाँजिनसक्ने बनेर अघि बढ्न खोज्ने हरेकलाई उच्च सम्मान नै छ। तर 'प्रधान अन्तरविरोध नै उहाँसँग रहेको'जस्तो गरी गति छाड्ने हर्कत कसैले नगर्दा राम्रो हुन्छ। उहाँलाई हराउन सारा सीमा र मर्यादा नाघेर लाग्नेहरूले खुसी मनाउन कुनै जरुरी छैन। यो उहाँको कुनै हार होइन।
एकजना राजनीतिज्ञमा अत्यावश्यक सैद्धान्तिक स्पष्टता, राजनीतिक सुझबुझ, भाषा, प्रविधि, व्यवस्थापन र हरेक क्षेत्रमा स्पष्ट र काबल एक हस्तीलाई हराएर परिणाममा अध्यक्ष केपी शर्मा ओलीलाई कमजोर पार्न खोज्नेहरूको इच्छा, आकांक्षा र मनसाय पूरा भएको भाष्य निर्माण गर्न सकिएको कसैलाई लागेको छ भने त्यो झन् ठूलो भ्रम हुनेछ। यद्यपि यो महाधिवेशनको सर्वोपरि निर्णय हो, तथापि निकै छिटो 'न्याउरी मारी पछुतो'जस्तो सबैलाई अनुभव हुनु अनिवार्य छ।
यसैबीच विष्णु रिमालले आफू पराजित हुनु कुनै चिन्ताको विषय नभएको बताएका छन्।
एकजना उपमहासचिव उम्मेदवार आफू र एकजना उपाध्यक्षबाहेक अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको टिम प्रायः सर्वसम्मत रूपमा अनुमोदन भएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि एउटै मार्गमा सँगसँगै रहने प्रतिबद्धता पनि जनाएका छन्।
‘हाम्रो पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन साँच्चै असाधारण रह्यो। गरिमा, उत्साह र सामूहिक उपलब्धिको गहिरो अनुभूतिसहित सम्पन्न भयो। तपाईंलाई विदितै छ- ११औँ केन्द्रीय समितिको नयाँ नेतृत्व चयनका क्रममा महाधिवेशनमा स्वस्थ र कमरेडली प्रतिस्पर्धा देखियो। पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीद्वारा प्रस्तावित टिम प्रायः सर्वसम्मत रूपमा अनुमोदित भयो, जसमा एकजना उपमहासचिव म स्वयं एकजना उपाध्यक्षबाहेक सबै निर्वाचित हुनुभयो’, रिमालले फेसबुकमा लेखेका छन्, ‘यो न त अस्वाभाविक हो, न त चिन्ताको विषय। यस्ता परिणामहरू लोकतान्त्रिक प्रतिस्पर्धाका स्वाभाविक र स्वस्थ अभ्यास हुन्। हामी जनताको बहुदलीय जनवादको मूल भावनाबाट दृढ रूपमा निर्देशित छौँ। पहलकदमी लिनु, प्रतिस्पर्धालाई आत्मसात् गर्नु, आफ्नो श्रेष्ठता स्थापित गर्नु, र नेतृत्वको म्यान्डेट प्राप्त गर्नु। यही भावनामा हामी सबैले परिणामलाई आत्मविश्वास, संयम र प्रतिबद्धताका साथ स्वीकार गरेका छौँ।’
उनले अगाडि लेखेका छन्, ‘यहाँहरूका आत्मीय र उत्साहवर्धक शब्दहरूका लागि हृदयदेखि धन्यवाद, कमरेड। पार्टीभित्र मेरो औपचारिक भूमिका परिवर्तन भए पनि हाम्रो साझा संकल्प र कमरेडली भावना यथावत् छ। आगामी दिनहरूमा पनि हामी एउटै मार्गमा सँगसँगै अघि बढ्नेछौँ।’
Shares

प्रतिक्रिया