कारोबार


अमेरिकी व्यापारयुद्ध गलाइदिएको चीनको त्यो शक्ति

दुर्लभ खनिजमाथिको प्रभुत्वमा चीनले यसरी उछिन्यो अमेरिकालाई
अमेरिकी व्यापारयुद्ध गलाइदिएको चीनको त्यो शक्ति

नेपालखबर
मंसिर १३, २०८२ शनिबार १८:४५, काठमाडौँ

संयुक्त राज्य अमेरिकासँगको व्यापारयुद्धमा एउटा क्षेत्रमा पाएको सफलताको लाभ चीनले राम्रैसँग उठायो। त्यो हो– दुर्लभ खनिज उद्योग अर्थात् रेयर अर्थ।

(रेयर अर्थ भनेका १७ त्यस्ता धातु तत्व हुन्, जसमा असामान्य फ्लोरोसेन्ट, प्रवाहकीय र चुम्बकीय गुण हुन्छन्। फलामजस्ता सामान्य धातुमा थोरै परिमाणमा मिसाउँदा यी धातुहरु निकै उपयोगी हुन्छन्)

यिनको प्राकृतिक सञ्चितिसँगै उत्खनन, प्रशोधन र नवप्रवर्तनको दशकौँ लामो प्रयास बेइजिङका लागि महत्त्वपूर्ण साबित भएको छ। 

पश्चिमा सरकारको वैकल्पिक आपूर्ति शृंखला निर्माण गर्ने योजनाहरु सफल हुन अझै धेरै वर्ष लाग्नसक्ने विश्लेषकहरुको चेतावनीका बीच आगामी वर्षहरुमा विश्व अर्थतन्त्रमा तिनै १७ धातु तत्वहरुले महत्त्वपूर्ण भूमिका खेल्ने देखिएको छ। 

‘रेयर अर्थ’हरु रक्षा क्षेत्रका लागि महत्त्वपूर्ण छन्। लडाकु विमान, क्षेप्यास्त्र निर्देशक प्रणाली र राडार प्रविधिहरुमा यिनको प्रयोग गरिन्छन्। यसबाहेक दैनिक प्रयोगका यसका विविध क्षेत्र र दायराहरु छन्। जस्तो कि स्मार्टफोन, मेडिकल सामग्री र अटोमोबाइल। 

गान्झाउको दक्षिणपूर्वी खनिज उत्खनन क्षेत्रमा यसै महिना एएफपीले अवलोकन गर्न पायो। यो त्यही क्षेत्र हो जसले व्यापक मात्रामा यिट्रियम र टर्बियमजस्ता रेयरअर्थहरु उत्खननजन्य गतिविधि तीव्र बनाएको छ। 

चीनमा गोप्य उद्योगहरुमा मिडिया पहुँच विरलै दिइन्छ तर एएफपीका पत्रकारहरुले रेयर अर्थ खानीहरुमा भित्रिँदै र बाहिरिँदै गरेका दर्जनौ ट्रकहरु देखेका थिए। प्रशोधन कारखानाहरु निकै व्यस्त देखिन्थे। 

चाइना रेयर अर्थ ग्रुपका लागि गान्झाउमा नयाँ हेडक्वार्टरहरु धमाधम फैलिने र बन्ने क्रम चलिरहेको छ। यो खानी उद्योग क्षेत्रका दुई ठूला सरकारी कम्पनीमध्ये एक हो। यस वर्षका चुनौतीहरुकै कारण धेरै देशलाई दुर्लभ खनिज खोज्ने र उत्पादन र प्रशोधन बढाउने बाटो खोलिदिएको बताउँछन् ईएसएसईसी बिजनेस स्कुलका अर्थसम्बन्धी प्रवाचक हिरन लिम। 

‘यो लगानीले दीर्घकालीन लाभ दिनेछ’, उनले भने। 

व्यापार युद्ध 
अक्टोबरको सुरुतिर निर्यात कडाइलाई पन्छाएर चीनले त्यस्तो क्षेत्रमा कडाइ गरिदियो जसले विश्वको उत्पादन क्षेत्रहरुमा हलचल मच्चाइदियो। 

वासिङटनमा त यसले खतराको घण्टी नै बजाइदियो। यो त्यतिखेर भयो जतिखेर अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालयता बेइजिङसँग व्यापार युद्धतर्फ अघि बढिरहेको थियो। 

गत महिनाको अन्त्यतिर दक्षिण कोरियामा भएको उच्च महत्त्वको बैठकमा ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङले व्यापारयुद्धमा एक वर्षलाई विराम लगाउने सहमति गरेका थिए। अमेरिका र चीन विश्वका शीर्ष दुई अर्थतन्त्र हुन्। 

उक्त सम्झौताले दुर्लभ खनिज र अन्य अत्यावश्यक खनिजहरुको आपूर्ति निरन्तरतालाई सुनिश्चित गरेको छ। यसले अमेरिकाको कडा कदमलाई प्रभावकारी रुपमा नरम बनाइदिएको त छ नै, यसलाई बेइजिङको विजयका रुपमा व्यापकता दिइएको छ। 

‘रेयर अर्थहरु नै भविष्यमा चीन–अमेरिका आर्थिक पहलहरुको केन्द्रमा आउने देखिन्छ’, लिम भन्छन्, ‘अमेरिकालाई वार्ताको टेबलमा राख्न चीनले यस्ता कुरालाई अगाडि ल्याउने गरिरहेको छ।’ 

धेरैखाले रेयर अर्थहरुमा निर्भर उत्पादकहरुका लागि यसले चुनौतीपूर्ण वातावरण सिर्जना गरेको छ भने अल्पकालीन आपूर्तिलाई अनिश्चिततामा धकेलिदिएको उनको बुझाइ छ। 

वासिङटन र यसका पक्षराष्ट्रहरु अहिले वैकल्पिक खनिज उत्खनन र प्रशोधन शृंखला विकास गर्ने दौडमा छन्। तर यसले धेरै वर्षहरुको समय लिने विज्ञहरु बताउँछन्। 

धर्मरायो सर्वोच्चता 
शीतयुद्धताका अमेरिकाले रेयर अर्थहरुको उत्खनन र प्रशोधनमा नेतृत्व गरेको थियो। क्यालिफोर्नियामा माउन्टेन पास खनिजसँगै विश्व आपूर्तिलाई सहज बनायो। 

तर मस्कोसँगको तनाव साम्य र रेयर अर्थसम्बन्धी उद्योगहरुले निम्त्याएको वातावरणीय दुर्घटनापछि अमेरिकाले सन् १९८० र १९९० को दशकमा विस्तारै यो क्षमता लुकाउन थाल्यो। 

अहिले चीनले अधिकांश विश्व रेयर अर्थहरुको उत्खननमा प्रभुत्व जमाएको छ। अर्थात् झण्डै दुई तिहाइ नियन्त्रण कायम गरेको अनुमान छ। 

भौगर्भिक सर्वेहरुका अनुसार चीन विश्वका ठूला प्राकृतिक सञ्चितिहरुको घर बनेको छ। प्रशोधनमाथि त चीनकै एकाधिकार जमिसकेको छ। सबै विश्व प्रशोधनको १० भागमध्ये नौवटामा चीनकै प्रभुत्व छ। 

प्रशोधन प्रविधिमाथि पनि बेइजिङले कडाइ गर्दै पेटेन्ट र निर्यातमा कडा नियन्त्रण गरिरहेको छ। 

अमेरिका र युरोपेली संघ दुवै रेयर अर्थहरुमा आयातमा निर्भर छन्। जसले महत्त्वपूर्ण उद्योगहरुमा प्रभावशाली जोखिमलाई देखाउने बताउँछिन् बीएमआईमा कमोडिटिज विश्लेषक अमेरिलिया हेनिज। 

विकल्पको खोजी 
पछिल्ला वर्षहरुमा अमेरिकी रक्षा अधिकारीहरुले घरेलु उत्पादनलाई व्यापक बनाउन निर्देशन दिइसकेका छन्। यो २०२७ सम्म ‘माइन टु म्याग्नेट’ आपूर्ति शृंखलाको लक्ष्य प्राप्त गर्ने पहलकै एक हिस्सा हो। 

यसबाहेक वासिङटनले आफ्ना मित्रराष्ट्रहरुलाई चीनको विकल्पमा खनिज उत्खनन र प्रशोधनलाई तीव्रता दिन जोड दिँदै आएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना अस्ट्रेलियाका प्रधानमन्त्ती एन्थनी अल्बानिजसँग महत्त्वपूर्ण खनिज परियोजनाहरुको ८.५ अर्ब डलरको एक रेयर अर्थ सम्झौतामा हस्ताक्षर गरेका थिए। अस्ट्रेलियाको व्यापक क्षेत्रमा प्रशस्तै महत्त्वपूर्ण खनिजहरु रहेका छन्। 

वासिङटन आफ्ना रेयर अर्थ जोडिने वर्षौँसम्मका समस्याबारे अवगत भएको यसले देखाउँछ। 

सन् २०१० मा क्षेत्रीय विवादसँगै बेइजिङले जापानमा खनिज पठाउन रोकेको थियो। यसैले यो क्षेत्रमा चीनको नियन्त्रण कति छ भन्ने देखाएको थियो।

त्योसँगै तत्कालीन अमेरिकी राष्ट्रपति बराक ओबामाले रणनीतिक क्षेत्रहरुमा घरेलु उपलब्धतालाई जोड दिएका थिए।

तर १५ वर्षपछि पनि चीन नै प्रमुख रेयर अर्थ–शक्तिमा कायम छ। एएफपीबाट 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad