कारोबार


‘जेनजी आन्दोलनपछि आर्थिक अवस्था झन् जटिल भयो, व्यक्तिगत र लगानी सुरक्षालाई प्राथमिकता दिऔँ’

‘जेनजी आन्दोलनपछि आर्थिक अवस्था झन् जटिल भयो, व्यक्तिगत र लगानी सुरक्षालाई प्राथमिकता दिऔँ’

फाइल तस्बिर


नेपालखबर
मंसिर ९, २०८२ मंगलबार १८:११, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले औद्योगिक विकासका एकद्वार प्रणाली आवश्यक भएको बताएका छन्।  

औद्योगिक वातावरण सुधारः दिगो अर्थतन्त्रको आधार भन्ने नारासहित ११औँ राष्ट्रिय उद्योग दिवसका अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार विभागमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले एकै प्रकारको कामका लागि पनि धेरै प्रकारका सरकारी संरचनाहरुले गर्दा उद्योगी व्यवसायीले झण्झट व्यहोर्नुपरेको बताएका थिए।

“हामीकहाँ एकै प्रकारका काम गर्ने सरकारी संस्थाहरु धेरै भए। व्यावसायिक वातावरण सहज र सरल गर्नुपर्नेमा जटिलता र झञ्झट थपिँदै गएको छ। यो अवस्थामा एकद्वार प्रणालीलाई प्रभावकारी बनाउँदै अनावश्यक संस्थाहरु कम गर्दै जानुपर्दछ”, अध्यक्ष ढकालले भने। 

अध्यक्ष ढकालले भदौ २३–२४ को आन्दोलनपछि देशको आर्थिक अवस्था झनै जटिल बन्दै गएको चर्चा गर्दै व्यक्तिगत र लगानीको सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताए।

पछिल्लो समय नेपाल उद्योग वाणिज्य महासंघको पहलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरको नीतिगत सुधारहरु सकारात्मक भएको उल्लेख गर्दै अध्यक्ष ढकालले भएका नीतिहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिए।

यस्तै अध्यक्ष ढकालले नेपालको निर्यात व्यापारको अवस्था सन्तोषजनक नरहेको अवस्थामा निर्यातमा दिइने नगद अनुदानलाई निरन्तरता दिनु पर्ने बताए।

“नगद अनुदान स्थगनको निर्णयले लगानी, निर्यात र रोजगारीमा गम्भीर असर पर्दछ। अहिले आर्थिक चाप छ भने यसको हिसाब राखौं र पछि भुक्तानी गर्ने व्यवस्था मिलाऔं । तर यसको निरन्तरता आवश्यक छ”, उनले भने। उद्योग विभागले गत असोज महिनामा एक सूचना जारी गर्दै चालू आर्थिक वर्ष २०८२/८३ मा थप दायित्व सिर्जना हुने गरी निवेदन नलिने जानकारी गराएको थियो।

उनले देश विकासको लागि बाह्य लगानीसँगै आन्तरिक पुँजीलाई एकत्रित पूर्वाधार विकास तथा उद्यमशीलताको विकास गर्नुपर्ने बताए।

“सरकारले वैकल्पिक विकास वित्त कोषको कुरा गर्नुअघि नै सरकारलाई नै सहयोग पुगोस् भनेर महासंघको पहलमा १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड स्थापना गरी काम सुरु गरेका छौँ। यसबाट ठूला पूर्वाधार विकास तथा अन्य उद्यमका लागि आवश्यक पुँजीको व्यवस्थापन गर्न सकिनेछ”, उनले भने।

अध्यक्ष ढकालले स्टार्टअप र नवप्रवर्तनलाई प्रोत्साहन गर्न सरकारले कोष स्थापना गरेको कदम सकारात्मक भएको बताउँदै उद्यमशीलताको विकास रोजगारी सिर्जनाको क्षेत्रमा महासंघ सधैँ सहकार्यको लागि तयार रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad