नेपाल–चीनको प्रमुख व्यापारिक नाका रसुवागढी–केरुङ अवरुद्ध र तातोपानी नाकाबाट पर्याप्त मात्रमा मालवाहक सवारीसाधन पास नहुँदा नेपाली व्यवसायीहरू मारमा परेका छन्।
गत असार २४ को बाढी रसुवागढी नाका पूर्ण रुपमा बन्द छ भने असोजमा अरनिको राजमार्गअन्तर्गतको कोदारी सडक खण्ड स्तरोन्नति गरेसँगै तातोपानी नाका सञ्चालनमा आइरहेको छ।
तर तातोपानी नाकाबाट नियमितभन्दा कम संख्यामा चीनबाट मालवाहक सवारी साधन आइरहेको तातोपानी भन्सारका सूचना अधिकारी तुलबहादुर पाण्डेले जानकारी दिए।
‘विगतमा दैनिक २५, ३० वटा कन्टेनर आउने गरेको थियो। शनिबार २९ वटा कन्टेनर आएको थियो। कुनै दिन ८ देखि २० वटासम्म कन्टेनर आउने गरेको छ’, पाण्डेले भने, ‘यति नै संख्या भन्ने छैन।’
चीनबाट आइतबार र बुधबार विद्युतीय गाडी तथा मेसिनरी सामान मात्र आउने गरेको छ। यी दुई नेपालबाट खाली कन्टेनर पनि चीन जान दिइने गरिएको छैन। बाँकी पाँच दिन भने नेपालतर्फबाट जाने र चीनबाट आउने कन्टेनर छुट्ने गरेको छ। एक पटकमा सयभन्दा ईभी गाडी सयभन्दा बढी नेपाल भित्रिरहेको पाण्डेले जानकारी दिए। बुधबार १०८ वटा ईभी आएको थियो।
चीनतर्फ गाडीको चाप बढी भएको भन्दै कम मात्रामा मालवाहक सवारीसाधन आउन दिइएको छ। तर यस विषयमा चीनतर्फबाट आधिकारिक जानकारी भने नपाइएको उनी बताउँछन्।
‘रसुवागढी नाका बन्दा हुँदा तातोपानी नाकामा मालवाहक सवारीको चाप छ। साथै खासा बजार पुनर्निर्माण हुँदै छ’, पाण्डेले भने, ‘निर्माण सामग्रीको ढुवानीलगायत कारणले सवारीको चाप बढेको हुनसक्छ।’
सवारीको चाप व्यवस्थापन गर्न कम मात्रामा सवारी छोडिएको हुन सक्ने उनको अनुमान छ।
वातावरण सहज हुँदा चीनबाट दैनिक ३० देखि ४० वटा कन्टेनर नेपाल आउने गरेको उनी बताउँछन्। तातोपानी नाकाको अवरोधका सम्बन्धमा चीनका लागि नेपालको महावाणिज्यदूतसँग पनि वार्ता भइसकेको उनले जानकारी दिए।
नेपाल–चीनको मुख्य व्यापारिक नाका रसुवा–केरुङ अवरुद्ध हुँदा पनि थप समस्या भएको उनी बताउँछन्।
गत असार २४ गतेको बाढीका कारण रसुवागढी–केरुङ जोड्ने मितेरी पुल बगाउँदा यो नाकाबाट हुने व्यापारिक सम्बन्ध टुटेको थियो। चीनले रसुवागढी–केरुङ जोड्न अहिले बेलिब्रिज जडानकार्य गरिरहेको छ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बेलीब्रिज निर्माणकार्य गत असोजमै पुरा हुने अवस्थामा पुग्दा प्राविधिक समस्या आउँदा थप ढिलाई भएको बताउँछन्। यसले गर्दा पुल निर्माण हुने समय थप भइरहेको छ।
‘असोजमै नदीमाथि पुल राख्ने क्रममा समस्या आयो। तयार पुल जगमा राख्ने क्रममा केही लच्किएको थियो। त्यसपछि पहिला प्रस्ताव गरिएभन्दा अर्को स्थानमा पिलर बनाएर व्यवस्थित गर्ने काम भइरहेको छ’, उनले भने, ‘कहिले पुल तयार हुन्छ भनेर चिनियाँ पक्षले मिति तोकिसकेको छैन।’
कात्तिक १३ गतेको छलफलमा चिनियाँ पक्षले एक महिनाभित्र निर्माणसम्पन्न गर्ने बताएको अधिकारीले जानकारी दिए। तर अहिलेसम्म पुल निर्माण हुनसकेको छैन।
गत आर्थिक वर्षमा रसुवा नाकाबाट करिब ८५ अर्ब रुपैयाँबराबरका सामान चीनबाट नेपाल आयात भएको भन्सार विभागको तथ्यांक छ।
नेपाल र चीनले सन् २०१७ मा रसुवागढीलाई नाकालाई अन्तर्राष्ट्रिय नाका घोषणा गरेका थिए। त्यसयता दुवै देशले तातोपानीको तुलनामा रसुवागढी केन्द्रित हुँदै व्यापारिक गतिविधि गर्दै आएका थिए।
तातोपानी र रसुवागढी नाकाको विकल्पको रुपमा सरकारले गत असोजदेखि कोरोला नाका पनि सञ्चालनमा ल्याएको थियो। प्रतिकूल मौसमका कारण कोरोला नाका व्यापारिक गतिविधिका लागि सहज भने छैन। अत्यधिक चिसोका कारण कोरोला नाका हुँदै आउने गाडीहरू स्टार्ट गरेर राख्नुपर्ने बाध्यता छ। यसले गर्दा तेल समेत धेरै खर्च हुने गरेको हो। चिसो मौसम सुरु भएसँगै उक्त नाका बन्द छ।
चिसोको कारण कोरोला नाकाबाट सामान आउन नसकेको भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाले बताए।
चीनबाट नेपालमा लत्ताकपडा, जुत्ता, कस्मेटिक, इलेक्ट्रोनिक्स, फलफूल, सवारी साधनन र पार्टस आयात हुँदै आएको छ।
चालू आर्थिक वर्ष २०८२÷८३ को कात्तिकसम्म चीनबाट १ खर्ब ३२ अर्ब ५६ करोड ९८ लाख ३७ हजार रुपैयाँ बराबरको आयात भएको छ।
रसुवागढी नाका बन्द भए पनि कोदारी खण्ड मर्मतसम्भारपछि तातोपानी नाकाबाट हुने व्यापारिक गतिविधि अपेक्षाकृत रुपमा बढ्न नसकेको राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठ बताउँछन्।
‘रसुवागढी नाका बन्द हुँदा तातोपानी नाकामा पनि अवरोध भइरहेको छ। नियमित व्यापारिक गतिविधि हुनसकेको छैन’, उनले नेपालखबरसँग भने, ‘बजारमा आवश्यक मालसामानको अभाव हुने खतरा पैदा भइरहेको छ।’
व्यापारिक नाकामा हुने अवरोध हटाउन सरकारले आवश्यक पहल गर्नुपर्ने श्रेष्ठ बताउँछन्।
रन्जना कम्प्लेक्सका व्यवसायी रामबाबु गजुरेल नाकामा सामान अड्किँदा बजारमा सामानको अभाव हुनुका साथै कार्टेलिङको जोखिम हुने बताउँछन्।
‘बाढी पहिरोका कारण दसैंको अडर आउन सकेको छैन। जाडोको सामान पनि पूर्ण रुपमा आउन पाएको छैन। छिटपुट केही व्यवसायीको आइरहेको छ’, गजुरेलले भने, ‘मागभन्दा आपूर्ति कम छ। यस्तोमा जाडोको कपडा विगतभन्दा महँगो हुने जोखिम छ।’
जाडोका लागि मगाइएको कपडा समयमा नआउँदा सिजन सकिने जोखिम छ।
‘यो वर्ष नबिके अर्को वर्षका लागि स्टोर गरेर राख्नुपर्छ। यस वर्षका लागि ल्याइएको डिजाइन चल्छ÷चल्दैन भन्ने ग्यारेन्टी हुँदैन। चले पनि रेट (दर) घटाएर बेच्नुपर्छ। साथै स्टोर गरेर राख्दा मुसा लाग्ने र लगानी पनि फ्रिज हुन्छ’, उनले भने।
जाडोका लागि बजारमा बाक्ला कपडाहरू कम आएको उनी बताउँछन्।
Shares

प्रतिक्रिया