कारोबार


राष्ट्रिय सभाका सांसदहरू भन्छन्ः निर्वाचनलाई ब्यापक बहसको विषय बनाऔँ

राष्ट्रिय सभाका सांसदहरू भन्छन्ः निर्वाचनलाई ब्यापक बहसको विषय बनाऔँ

नेपालखबर
कात्तिक २६, २०८२ बुधबार १८:४७, काठमाडौँ

राष्ट्रिय सभाका सांसदहरूले सरकारले निर्वाचनसम्बन्धी छलफललाई व्यापक बहसको विषय बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै सांसदहरुले निर्वाचन केन्द्रित छलफलमा ध्यान दिन सरकारलाई सचेत गराएका हुन्।

बैठकमा बोल्दै सांसद पदमबहादुर परियारले राष्ट्रिय महत्वको विषय भएकाले निर्वाचनको विषयमा सरकारले व्यापक छलफल अघि बढाउनुपर्ने बताए। उनले समितिले पनि सरकारलाई बोलाएर निर्वाचनको तयारीको बारेमा छलफल गर्नुपर्ने बताए। 

सांसद परियारले भने,‘यो निर्वाचन सम्बन्धि ऐनहरु आउँदैछ। निर्वाचन हुँदैछ। यसलाई फोकस गरेर केही छलफल राखौैँ। यो सार्वजनिक नीति नै भएकाले सोहीअनुसार छलफल अघि बढाउनु पर्छ। खासगरी निर्वाचन सम्बन्धि विषय समसामयिक पनि छ। यो राष्ट्रिय महत्वको विषय पनि भयो। यसको छलफल गरौै।’
 

निर्वाचन हुने अवस्था मुलुकमा नरहेको पनि सांसदहरुले जिकिर गरेका छन्।

सांसद सुमित्रा बिसीले मन्त्रीहरुकै राजीनामा माग्न थालिएको भन्दै फागुन २१ गते निर्वाचन हुने वातावरण नरहेको बताइन्।

उनले निर्वाचनको वातावरण बनाउनका लागि सरकारले शान्ति सुरक्षाको अवस्था मजबुत बनाउने काम गर्न नसकेको आरोप समेत लगाइन्। 

सांसद बिसीले भनिन्, यो निर्वाचनको बारेमा छलफल तत्काल गर्नुपर्ने देखिन्छ। अहिले पनि म आफूलाई लागेको विदेशमा भएका नेपालीहरुले भोट हाल्ने कुरा त्यति सुरक्षित र व्यवहारिक हुँदैन होला अहिले मलाई लागि राखेको छ। यसमा अलि व्यापक छलफल गर्नु पर्छ। अहिले यो शान्ति सुरक्षाको कुराहरू छन्। जेलबाट निस्केकाहरुले बाहिरको क्षति गर्ने त छ नै। घर परिवारकै सदस्यलाई टुक्राटुक्रा पारेको समाचार आईरहेको छ। ६  महिनामा चुनाव गर्ने भन्ने छ। समय परिस्थिति हेर्दाखेरी स्वयम सरकारको स्थिति हेर्दा पनि भएका मन्त्रीहरुको पनि राजीनामा माग्न थालिएको छ। त्यसैले निर्वाचन हुने अवस्था देखिँदैन।’

सांसद गोमादेवी तिमिल्सिनाले संघीय संसदको सेवा सुविधा कटाउने र घटाउने काम गरेको भन्दै सरकारको आलोचना गर्नुभयो। उनले जेन—जी आन्दोलनले ध्वस्त बनाएका दस्तावेजहरुको खोजी गर्न पनि सरकारको ध्यानाकर्षण गराइन्। 

सांसद तिमिल्सिनाले भनिन्,‘अर्थमन्त्रीले हाम्रो पाईरहेका सुविधा पनि घटाएको, कटाएको अवस्था छ। त्यो पनि छलफल गरिएको छ अरु समितिहरुमा। हामीले पनि सरकारका प्रतिनिधिहरु बोलाएर यो विषयमा छलफल गर्नुपर्छ। अर्को राष्ट्रिय महत्वका दस्तावेजहरुको बारेमा जस्तो अहिले आगलागि भयो नि। यो दस्तावेजहरु खोजेर पाईन्छ, पाइँदैन? यसको खोजी गर्न जरुरी छ।’

सांसद तिमिल्सिनाले मुलुकको अवस्थाबारे जानकारी लिन पनि समितिले सरकारका प्रतिनिधिहरु छलफल गरेर अघि बढ्नुपर्ने अवस्था रहेको समेत बताएन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad