अर्थमन्त्री रामेश्वर खनालले अर्थ मन्त्रालयमा कुनैपनि निर्णय तत्काल कार्यान्वयन गरिने प्रणाली विकास भएको दाबी गरेका छन्।
शनिबार काठमाडौँमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै मन्त्री खनालले मन्त्रालयले कुनैपनि विषय सुन्ने, छलफल गर्ने, निर्णय गर्ने र त्यसको कार्यान्वयनमा तत्काल लाग्ने प्रणाली तयार गरेको बताए।
‘हाम्रो अहिले अर्थ मन्त्रालय प्रणाली सुन्ने, छलफल गर्ने, निर्णय गर्ने, कार्यान्वयन गरिहाल्ने अवस्थामा छौं,’ खनालले भने, ‘कुनै पनि निर्णय गर्न विलम्व गरेका छैनौं। आश्वासनले मुलुकको विकास हुँदैन । आश्वासनले यहाँहरुलाई आश्वस्त पार्न सकिँदैन।’
अर्थमन्त्री खनालले भन्सार प्रशासनमा आमूल सुधार गरी भ्रष्टाचार नियन्त्रण गर्ने प्रयास भइरहेको पनि बताए। उनले भने, ‘मुलुकमा सुशासन र भ्रष्टाचार न्यूनीकरण नभए आम नागरिकले देशभित्र रोजगारी पाउन सक्दैनन् र विदेश जानुपर्ने अवस्था आउँछ। त्यसैले प्रत्येक मन्त्रालयमा सुधारको काम भईरहेको छ।’
उनले थपे, ‘अर्थ मन्त्रालयमा भन्सार प्रशासनलाई लागत कम गर्ने र प्रणाली प्रभावकारी बनाउने प्रयत्न भइरहेको छ। सबै नागरिकले विदेश जानुपर्ने बाध्यता आउन नदिन सक्दो पहल गरिरहेको छु।’
Shares

प्रतिक्रिया