कारोबार


निर्वाचन सम्पन्न गर्न सरकारलाई सघाउने निजी क्षेत्रको प्रतिवद्धता

निर्वाचन सम्पन्न गर्न सरकारलाई सघाउने निजी क्षेत्रको प्रतिवद्धता

नेपालखबर
कात्तिक १७, २०८२ सोमबार १७:१४, काठमाडौँ

व्यावसायिक संस्थाका छाता संगठनहरूले मुलुकको आर्थिक स्थायित्व, व्यवसायिक सुरक्षा र सुशासनका लागि सरकारलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। 

सोमबार राजधानी काठमाडौंमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै निजी व्यावसायिक संस्थाका प्रतिनिधिहरूले यस्तो प्रतिवद्धता जनाएका हुन्। पत्रकर सम्मेलनमा बोल्दै मिडिया अलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकारले संस्थाका प्रतिनिधिहरूको बैठकले व्यवसायिक सुरक्षाको लागि कानूनको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग आग्रह गर्ने निर्णय भएको पनि बताए।

उनकाअनुसार बैठकले राज्यले उद्यमी र व्यवसायीहरूको सुरक्षालाई अपरिवर्तनीय दायित्वको रूपमा स्वीकार गर्नुपर्ने निष्कर्ष समेत निकालेको छ। उनले आसन्न प्रतिनिधि सभाको निर्वाचन  तोकिएकै समयमा सम्पन्न गर्न सहयोग गर्ने तथा लोकतान्त्रिक अभ्यासको निरन्तरतामा निजी क्षेत्रको सकारात्मक भूमिकाका साथ अघि बढ्ने निर्णय समेत निजी संस्थाका प्रतिनिधिहरूको बैठकले गरेको छ।

बदलिदो आर्थिक अवस्थासँग सन्तुलन कायम गर्दै सरकारी कार्यालयहरूबाट प्रवाह गरिने सेवा, प्रक्रिया र सहजीकरणलाई व्यवसायमैत्री बनाउन सरकारले ठोस कदम चाल्नुपर्ने उनीहरूको माग छ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राजकर्णिकारले भने,‘निजी क्षेत्रका प्रतिनिधिहरूले सरकार, सुरक्षा निकाय र सम्बन्धीत सरोकारवाला निकायसँग प्रत्यक्ष संवाद गरी स्वतन्त्र र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सहयोग गर्ने, सुशासन र भ्रष्टाचार अन्त्यमा सहकार्य गर्ने र व्यवसायलाई प्राथमिकता दिने बद्लिदो अवस्थामा सरकारी कार्यालयबाट प्रवाह गरिने सेवा र गर्नुपर्ने सहजिकरणलाई सहज तथा व्यवसायमैत्री बनाउन सरकारलाई सार्वजनिक प्रतिवद्धताका लागि आह्वान गर्ने निर्णय पनि भएको छ।’

बैठकले निजी क्षेत्र, सरकार र नागरिक समाजबीचको विश्वासलाई सुदृढ पार्दै पारदर्शिता, उत्तरदायित्व र स्थायित्वमुखी आर्थिक नीति कार्यान्वयन गर्न सबै पक्षलाई आह्वान समेत गरेको छ। पत्रकार सम्मेलनमा बोल्दै स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान)का अध्यक्ष गणेश कार्कीले स्थिर नीति बिना देशको आर्थिक वृद्धि र लगानी सुरक्षाको वातावरण सिर्जना गर्न नसकिने बताए।

सरकार परिवर्तन भइरहे पनि दीर्घकालीन नीतिगत स्थायित्व आवश्यक रहेको उनको भनाइ छ। उनले निजी क्षेत्रको लागि वातावरण सिर्जना गर्न तथा लगानीको ग्यारेन्टी लिन सरकारसँग आग्रह समेत गर्नुभयो। 

उनले भने, ‘सरकार त परिवर्तन हुँदो रहेछ तर कम्तिमा एउटा स्थिर नीति हुनुपर्छ। निजी क्षेत्रलाई काम गर्ने वातावरण हुनुपर्छ। यसरी प्रत्येक ६ महिनामा नीति परिवर्तन हुँदै गएभने हामी काम गर्नसक्छौं कि सक्दैनौं भन्ने कुरा पनि आउन थाल्या छ। सरकारले सुरक्षाको ग्यारेन्टी गरेर व्यवसायिक वातावरण बनाइदियोस् हामी केही न केही काम गर्न सक्छौं। मुलुको आर्थिक उन्नति र आफ्नो व्यवसायिक लगानी सुरक्षित गर्न निजी क्षेत्र एक भएर अगाडि बढ्नुपर्छ।’

उनले निजी क्षेत्रको भूमिकालाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा व्यख्या गर्दै मुलुकको आर्थिक उन्नति र व्यवसायिक लगानी सुरक्षित गर्न निजी क्षेत्र एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad