सोलुखुम्बुमा अवतरणका क्रममा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनापछि नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर कम्पनीहरुलाई चार बुँदे सर्कुलर जारी गरेको छ।
बुधबार उद्धार उडानको क्रममा ९एन–एएमएस कलसाइनको अल्टिच्युड एयरको हेलिकप्टर लोबुचेमा अवतरणको क्रममा दुर्घटना भएको थियो। यसलाई ख्याल गर्दै प्राधिकरणले अबदेखि ह्वाइटआउट वा कुहिरोको अवस्थामा व्यावसायिक उडान गर्न नपाइने भनेको छ।
त्यसैगरी हिमपात हुने क्षेत्रमा उडान भर्नैपरेमा हेलिकप्टर स्किडमा ‘बियर पज’ राख्नैपर्ने व्यवस्था गरिएको छ। यसबाहेक सम्भव भएसम्म सबैखाले उडानहरुमा मार्शलर अर्थात् अवतरणका बेला ग्राउन्डमा संकेत गर्ने मान्छेको व्यवस्था गरिने र अवतरण गरिराख्नुपर्ने उचाइका क्षेत्रहरुमा सुरक्षा सुनिश्चितताका लागि राम्ररी ग्राउन्ड कोअर्डिनेसन हुनुपर्ने उल्लेख गरेको छ।
त्यस्तै हिउँले भरिएका हेलिप्याडहरुबाट हिउँ (अन्य अवरोधक वस्तुहरु पनि) पूर्ण हटाइएको हुनुपर्ने पनि सर्कुलरमा उल्लेख छ।
प्राधिकरणले अपरेसन विभागसहित एयर डाइनेस्टी, अल्टिच्युड एयर, अन्नपूर्ण हेलिकप्टर्स, फिस्टेल एयर, हेलि एभरेस्ट, कैलाश हेलिकप्टर, मनाङ एयर, माउन्टेन हेलिकप्टर, प्रभु हेलिकप्टर, श्री एयरलाइन्स र सिम्रिक एयरलाई पत्राचार गरेको हो ।
Shares

प्रतिक्रिया