अध्यागमन विभागले आफूलाई उपलब्ध गराएको अनलाइन पोर्टल मार्फत् पदयात्रा अनुमति लिन सेवाग्राही एजेन्सीहरूलाई आग्रह गरेको छ।
उक्त कार्यको लागि कुनै पनि कर्मचारी तथा बिचौलियालाई विभागमा नपठाउन विभागले सूचित गरेको छ।
शुक्रबार सूचना प्रकाशित गरी विभागले भनेको छ, ‘पदयात्रा अनुमति (ट्रेकिङ पर्मिट) प्रदान गर्ने कार्यलाई पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सेवा प्रदान गर्ने व्यवस्था गरेको छ। तथापि, अनलाइन प्रणालीको प्रारम्भिक चरणमा सेवाग्राही एजेन्सीहरूलाई पर्न सक्ने असुविधालाई सम्बोधन गर्ने उद्देश्यले केही समयका लागि विभागका एजेन्सी शाखाका कर्मचारीहरूद्वारा प्रत्यक्ष सम्पर्क मार्फत सेवाप्रवाह गर्दै आएको थियो। यस सन्दर्भमा विभागमा एजेन्सीका प्रतिनिधिहरु स्वयं उपस्थित हुँदा पूर्णरुपमा सुशासन कायम गर्ने विभागको लक्ष्यमा चुनौती थपिएको साथै, कतिपय ट्रेकिंग एजेन्सीका कर्मचारीहरूले स्वयं विचौलियाको रूपमा कार्य गर्दै मोलमोलाइ गरी अवैध क्रियाकलापमा संलग्न हुने गरेको तथ्यहरु समेत फेला परेका छन्।’
विभाग यस्ता क्रियाकलापहरूलाई कडा रूपमा निषेध गर्दै, पारदर्शिता, उत्तरदायित्व र निष्पक्ष सेवाको वातावरण कायम राख्दै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछ। यसलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन सबै सेवाग्राही एजेन्सीहरुले आफूलाई उपलब्ध गराएको अनलाइन पोर्टल मार्फत् पदयात्रा अनुमति लिनुहुन र उक्त कार्यको लागि कुनै पनि कर्मचारी तथा विचौलिया यस विभागमा नपठाउन सूचित गरिएको छ।
एजेन्सीहरूले पदयात्रा अनुमतिको लागि पेश गरेको अनलाइन निवेदन उपर एक कार्यदिन भित्र कारबाही गरिने पनि विभागले स्पष्ट पारेको छ।
यसरी सोही दिन ढिलो गरी दिउँसो ३:०० बजे भन्दा पछि पेश हुन आएका निवेदनको हकमा अर्को कार्यदिनको सुरुमा क्रमशः (दिनको १:०० बजे सम्म) कारबाही गरिनेछ र अनलाइन प्रणालीमा राजस्व भुक्तानी भएका आवेदनहरुका हकमा सोहि समय भित्र सम्वन्धित एजेन्सीको अनलाइन पोर्टलमा पदयात्रा अनुमति उपलब्ध गराइनेछ।
यस प्रक्रियामा कुनै समस्या आइ जानकारी गराउनु परेमा एजेन्सी पोर्टलमा उपलब्ध मोबाइल नम्वरमा सम्पर्क गर्न आग्रह गरिएको छ।


प्रतिक्रिया