नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको राजीनामा माग्दै २३ औँ दिनपनि कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।
नेप्सेलाई कमजोर बनाउन तथा स्वार्थकेन्द्रित निणर्य गरेर संस्थाको क्षवि धुमिल गरेको भन्दै कर्मचारीहरूले अध्यक्ष हेमन्त बस्याल र सीईओ चुडामणि चापागाईंविरुद्ध आन्दोलन गर्दै आएका छन्।
दैनिक कामलाई निरन्तरता दिँदै आन्दोलनमा उत्रिएका कर्मचारीहरूले ६ महिनाअघि नियुक्त भएका अध्यक्ष बस्यालले नेप्सेलाई सुधार्नुको साटो थप कमजोर बनाउने काम गरेको आरोप लगाएका छन्।

अध्यक्ष बस्यालको कन्सल्टेन्सी र नेप्सेबीच पुरानो भुक्तानी विवाद रहेकै अवस्थामा उनी नेप्सेको अध्यक्षमा स्वार्थ बाझिने गरी नियुक्त भएको र सोलगत्तै उनले पुरानो हिसाब मिलाउने गलत उद्देश्यसहित नेप्सेमा प्रवेश गरेर समग्र संस्थालाई नै कमजोर बनाएको कर्मचारीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
अध्यक्षले आएको ६ महिना बितिसक्दा समेत नेप्से पुनर्संरचना गर्न कुनै कदम नचालेको बरु नेप्सेको छवि धुमिल बनाउन तल्लीन रहेको कर्मचारीहरूको भनाइ छ।
कर्मचारीहरूले असोज ८ गतेदेखि धर्ना तथा कालोपट्टी बाँधेर विरोध जनाउँदै आएका थिए। २३ औँ दिनमा भने कर्मचारीहरूले नेप्सेकै कार्यलयको भित्तामा ‘सीईओ चापागाईं हराएको’ सूचना टाँसेका छन्। त्यस्तै असक्षम भन्दै अध्यक्ष हेमन्त बस्याल र सीईओ चुडामणि चापागाईं विरुद्ध नारावाजी समेत गरेका छन्।


Shares

प्रतिक्रिया