कारोबार


जेनजी प्रदर्शनमा सिंहदरबार परिसरमै जले ५९६ सवारीसाधन

कुन मन्त्रालयमा कति जले? (विवरणसहित)
जेनजी प्रदर्शनमा सिंहदरबार परिसरमै जले ५९६ सवारीसाधन

निर्दोष घोरसाइने
असोज २७, २०८२ सोमबार १९:५५, काठमाडौँ

जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते सिंहदरबारभित्र करिब ६०० सवारीसाधन ध्वस्त भएका छन्। 

सहरी विकास र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार जेनजी प्रदर्शनका क्रममा सिंहदरबारभित्र ५९६ चारपांग्रे र दुईपांग्रे सवारी ध्वस्त भएका हुन्। 

मन्त्रालयका अनुसार सिंहदरबारपरिसरमा १९८ चारपांग्रे र ३९८ दुईपांग्रे ध्वस्त भएका छन्। 

प्रदर्शनका क्रममा ध्वस्त पारिएका सवारीसाधनको लगत सहरी र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संकलन गरेको सहरी विकास मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनालीले नेपालखबरलाई जानकारी दिए।

‘सहरी विकास मन्त्रालयले अन्य मन्त्रालयमा ध्वस्त भएको सवारीसाधनको लगत संकलनमा समन्वय गरिरहेको छ’, उनले भने, ‘भौतिक मन्त्रालयले आफ्नो मन्त्रालयको मातहतको समन्वयन गरिरहेको छ।’ 

सिंहदरबार परिसरभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १७ मन्त्रालय र अन्य निकायहरू छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने सिंहदरबार परिसरबाहिर रामशाह पथमा छ। १७ मध्ये दुई मन्त्रालयका सवारीसाधन प्रदर्शनका क्रममा ध्वस्त नभएको सहरी मन्त्रालयले जानकारी दिएको छ। परराष्ट्र र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सवारीसाधन प्रदर्शनका क्रममा जोगिएका थिए।

सहरी मन्त्रालयले संकलन गरेको विवरणअनुसार मन्त्रालय तथा निकायहरूको १६९ चारपांग्रे र २७२ दुईपांग्रेसहित ५४१ सवारी ध्वस्त भएका छन्। यस्तै भौतिक मन्त्रालयको २९ थान चार पांग्रे र २६ थान दुई पांग्रे ध्वस्त भएका छन्। 

सहरी मन्त्रालयले व्यवस्थापन गरेका सम्पूर्ण मन्त्रालयहरूको सवारी साधन संघीय संसद भवन बानेश्वरमा लगेर राखेको छ। यी ध्वस्त भएका सवारीसाधन कसरी व्यवस्थापन गर्ने भन्ने विषय टुंगोमा पुगिसकेको छैन। सम्भवतः मन्त्रिपरिषद्ले ध्वस्त भएका सवारीसाधन व्यवस्थापनको विषय टुंग्याउनेछ। 

‘ध्वस्त भएका सवारीसाधन सम्बन्धित मन्त्रालयमार्फत व्यवस्थापन गर्न कठिन हुन्छ। मन्त्रिपरिषद्ले एउटा मन्त्रालयलाई व्यवस्थापनको जिम्मा दिनेछ’, मैनालीले भने।  

सिंहदरबार परिसरभित्र सबैभन्दा धेरै सवारीसाधन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को ध्वस्त भएका छन्। प्रधानमन्त्री कार्यालयको १०५ वटा सवारीसाधन ध्वस्त भएका छन्। जसमा चार पांग्रे ३५ र दुई पांग्रे ७० वटा छन्। 

कुन कार्यालयका कति?

कार्यालयको नाम चार पांग्रे दुई पांग्रे संख्या
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् ३५ ७० १०५
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय १७ ४५ ६२
राष्ट्रिय सतर्कता केन्द्र ११ १९
अर्थ मन्त्रालय १४ ५४ ६८
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय २   
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय  
वन तथा वातावरण मन्त्रालय १० २० ३०
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय २६ ३७ ६३
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय  
कृषि तथा पशुपन्छी मन्त्रालय ३५ ४०
खानेपानी मन्त्रालय १६ २१
युवा तथा खेलकुद मन्त्रालय १४
राष्ट्रिय योजना आयोग  
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय १५ १७
मुद्रण विभाग १५ १७
सहरी विकास मन्त्रालय १० १४
राष्ट्रिय युवा परिषद्  
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग  
गृह मन्त्रालय २५ २२ ४७
महिला तथा बालबालिका मन्त्रालय   १५ १५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय २९ २६ ५५
जम्मा १९८ ३९८ ५९६

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad