चीनतर्फको व्यापार रसुवागढी र तातोपानी नाकाबाट आयात गर्ने आयातकर्तालाई पनि एलसी (प्रतीतपत्र)मार्फत भुक्तानी दिन चीन सहमत भएको छ। नेपाल–चीन नाकाबाट आयात गर्दा टीटी (टेलिग्राफिक ट्रान्सफर)बाट मात्रै गर्नुपर्ने व्यवस्था थियो।
यसको लागि मौद्रिक नीतिले ३० हजार डलरबराबरको मात्रै सुविधा दिएको छ। चीनबाट ठूलो परिमाण अर्थात् एलसी गरेर समान आयात गर्नुपर्दा जलमार्गबाट मात्रै ल्याउनुपर्ने बाध्यता छ। जुन कलकत्ता र विशाखापट्टनम हुँदै नेपाल भित्रिन्छ। तर अब भने चीनतर्फको नाकाबाट पनि एलसीमार्फत भुक्तानी गरी सामान आयात गर्न पाइनेछ। त्यसको लागि चिनियाँ बैंक तथा चीन सरकार सहमत भएको भन्सार विभागले जनाएको छ।
भन्सार विभागका अनुसार सो विषयलाई अन्तिम रुप दिन सेप्टेम्बर १६ देखि २१ सम्म चिनियाँ पक्ष र नेपाली पक्ष बीच वार्ता समेत हुँदै छ। नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक रामेश्वर दंगालले नेतृत्व गर्दै छन्। चीनतर्फको व्यापारलाई सहजता दिने गरी कस्टम एग्रिमेन्ट समेत गरेको र आगामी केही समयमा नै एलसीमार्फत आफ्नै नाका हुँदै सामान भित्र्याउनेसम्बन्धी समेत सम्झौता गर्नलागेको भन्सार विभागकी उपमहानिर्देशक मनमाया भट्टराई पंगेनीले जानकारी दिइन्। उनका अनुसार एक वर्षदेखि एलसीको विषयमा निरन्तर छलफल भइरहँदा चिनियाँ बैंकहरु त्यसको लागि सहमत भइसकेका छन्। दुई महिनापछि हुने छलफलमा यसको टुंगो लाग्ने उनको भनाइ छ।
एलसी खोलेर सामान आयात गर्दा के फाइदा?
एलसीसम्बन्धी कारोबार गर्न नसक्दा व्यवसायीले पहिल्यै भुक्तानी गरेर जोखिमपूर्ण रूपमा कारोबार गर्नुपर्ने हुन्छ। जुन कम्पनीबाट सामान आयात गर्ने हो, त्यसको खातामा रकम जम्मा गरेर मात्र ल्याउन पाउने हालको व्यवस्था छ। चीनतर्फको व्यापारमा यस्तो नीति अपनाइएको छ।
त्यस्तै, ३० हजार डलरको सामान नाकाबाट आयात गर्दा नेपाली व्यापारीले धेरै फार्मले आयात गरेको भनेर फर्जी फार्म देखाउने गर्छन्। यसले नेपालको राजस्वमा समेत धक्का पुगेको छ। एलसी खुल्ला गर्ने हो भने सोही अनुसारको सामान एकै व्यक्तिले आयात गर्न पाउँछन्। त्यस्तै एलसीमार्फत सामान आयात गर्दा पूर्ण भुक्तानी पहिले नै गर्नुपर्ने बाध्यता पनि हट्छ।

प्रतिक्रिया