कारोबार


दुई दिनका लागि मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविर भ्रमणमा रोक

दुई दिनका लागि मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविर भ्रमणमा रोक

फाइल तस्बिर


रासस
असोज १८, २०८२ शनिबार ११:७, म्याग्दी

मनसुन बाहिरिने समयमा सक्रिय भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरको भ्रमणमा रोक लगाइएको छ। 

शनिबार र आइतबार पदमार्ग र आधार शिविरमा पर्यटकहरूलाई रोक लगाइएको अन्नपूूर्ण गाउँपालिका–४ को कार्यालयले जनाएको छ।

वडाध्यक्ष लोकबहादुर पुनले सार्वजनिक सूचना जारी गरेर वर्षा र हिमपातको सम्भावना भएकाले आधार शिविर तथा पदमार्गमा पर्यटकले दुःख पाउने तथा दुर्घटनाको जोखिम देखिएको हुँदा रोक लगाइएको जानकारी दिए। 

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको फेदीमा पुग्ने आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ। दसैँको विदा सुरु भएपछि पदमार्ग र आधार शिविरमा घुमघामका लागि दैनिक १०० जनाको हाराहारीमा पर्यटकहरू जाने गरेका थिए।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले सार्वजनिक सूचना जारी गरेर वर्षा नरोकिँदासम्म पुनहिल, घोडेपानी, मोहरेडाँडा, गुर्जा, ढोरपाटन, धौलागिरि चक्रीय पदमार्गलगायत पर्यटकीयस्थलको भ्रमणमा नजान अनुरोध गरेको छ। 

म्याग्दीको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा शनिबारदेखि आगामी सोमबारसम्म साँझ ५ः०० देखि बिहान ६ः०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ। 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेशलगायत देशका विभिन्न भू–भागमा मध्यमदेखि र भारी वर्षाको चेतावनी दिएसँगै म्याग्दीमा सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad