कारोबार


दसैँका खसीबोका: व्यापारी मालामाल, किसान निराश (तस्बिरहरू)

दसैँका खसीबोका: व्यापारी मालामाल, किसान निराश (तस्बिरहरू)

जनार्दन पोखरेल
असोज ११, २०८२ शनिबार १२:५४, सर्लाही, हरिवन

दुःख गरेर पालेका खसीबोकाको उचित मूल्य नपाउँदा दसैँको बेला सर्लाहीका किसान निराश बनेका छन्। 

पूर्वपश्चिम राजमार्गसँगै जोडिएको सर्लाहीको हरिवन–११ स्थित खसी बजारमा आज बिहानैदेखि दसैँको लागि खसीबोका किन्नेको ठूलो घुइँचो लागेको छ। 

तर, यस वर्ष व्यापारीले मूल्य घटाउँदा सस्तैमा खसीबोका बिक्री गर्नु परेको गुनासो किसाले गरेका छन्। 

दसैँ नजिकिएकाले खसीबोका किन्न ठूलो संख्यामा सर्वसाधारणदेखि व्यापारीसम्म आज (शनिबार) हरिवन बजार पुगेका छन्। दसैँको अष्टमी र नवमीमा खसीबोकाको काटमार बढी हुन्छ। 

आज बिहानैदेखि वीरगञ्ज, जनकपुर, लहान, हेटौँडा, नारायणगढ, गौर, सहितका ठूला सहर बजारबाट आएका व्यापारी किसानसँग खसीबोका किन्न तँछाडमछाड गरिरहेका देखिन्थे। 

वीरगन्जबाट खसिबोका किन्न आएका आलम अन्सारीले यस वर्ष महँगो दाम हाल्नु नपरेको भन्दै खुसी व्यक्त गरे। 

‘हाम्रो लागि यसपटक खसीबोकाको कारोबार राम्रो छ। माल धेरै आउँदा महँगो मूल्य हाल्नु परेको छैन,’ वर्षेनी दसैँको बेला हरिवनमा खसीबोका किन्न आउने अन्सारीले भने, ‘यस वर्ष विगत वर्षभन्दा खसीबोका ज्यादा आएको छ। त्यही भएर होला हामीलाई सस्तोमै मिलिरहेको छ।’

उनले बिहानै १० वटा खसी किनिसकेका छन्। आज ५० वटा खसीबोका लैजाने उनको योजना छ। 

हरिवन नगरपालिका-८ का किसान यमबहादुर श्रेष्ठले भने व्यापारिले उचित मूल्य नदिँदा सस्तोमै खसी बेच्नु परेको गुनासो गरे। 

‘दुईवटा खसीको कम्तीमा पनि ३६ हजार मूल्य पाउने आश गरेको थिएँ। तर, मूल्य नपाउँदा ३१ हजारमै बेच्नु पर्यो,’ श्रेष्ठले भने, ‘नबेचौँ भने दसैँ मान्न खर्च छैन। बेच्दा मासु अनुसारको भाउ पाइँदैन।’

उनले पाँचवटा खसीबोका बेच्न बजार पुर्याएका थिए। तर, सस्तोमै बेच्नु भन्दा तीनवटा घरमै फिर्ता लैजाने सोच बनाएको बताए। ‘अब यी तीनवटा चाहिँ नबेचौँ जस्तो लाग्यो। सस्तोमा दिनुभन्दा बरु घरै लैजान्छु,’ उनले भने। 

विशेषगरी हरिवनबाट जनकपुर र वीरगञ्ज जस्ता नजिकैका ठूला सहर बजारमा खसीबोका बढी जान्छ। त्यसैगरि काठमाडौँ, पोखरा, नारायणगढ, हेटौँडा लगायतका सहरमा पनि यहाँबाट खसीबोका जाने गरेको छ। 

हरिवन नगरपालिकाले किसानले ल्याएका खसीबोका जोखेर बेच्न पाउने व्यवस्था भने गरेको छैन। किसान र व्यापारी हचुवाकै भरमा खसीबोकाको किनबेच गरिरहेका छन्। सकेसम्म किसानलाई कम मूल्य दिएर व्यापारीहरु दसैँको मौकामा खसी–बोका फुत्काइरहेका छन्।

हरिवनमा सर्लाहीसँगै सिन्धुली र रौतहटबाटसमेत किसानले बिक्रीका लागि खसीबोका ल्याउने गरेका छन्। सिन्धुलीको क्यानेश्वर क्षेत्रबाट यहाँ खसीबोका धेरै आउने गरेको छ। सिन्धुलीबाट किसानले भन्दा पनि व्यापारीले खसीबोका बिक्रीका लागि ल्याउने गरेका छन्। 

दसैँ अघिको अन्तिम बजार भएकाले स्थानीय किसान आज जसरी पनि आफ्नो उत्पादन बिक्री गर्न हतारिँदै थिए। खसीबोका बिक्री गरेर प्राप्त हुने आम्दाीले दसैँ मान्नुपर्ने बाध्यता किसानलाई छ। 

हरिवनमा साताको दुईदिन बुधबार र शनिबार खसीबाख्रोको बजार लाग्छ। यो सर्लाहीकै सबैभन्दा ठूलो खसी बजार हो। हरिवन नगरपालिकाले चालु आर्थिक वर्षको लागि हरिवनको खसी बजार ७३ लाख रुपैयाँमा ठेक्का लगाएको छ। तर, किसानले आफ्नो उत्पादनको राम्रो मूल्य लिन सकुन् भन्नेतर्फ भने नगरपालिकाले चासो दिएको छैन। 

हरिवन बजारमा प्रत्येक बजारको दिन एक हजारको हाराहारीमा खसीबोका र बाख्रा खरिद बिक्री हुँदै आएको छ। 

थप तस्बिरहरू

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad