कारोबार


एमसीसीअन्तर्गत ३१५ किलोमिटर प्रसारणलाइनका सबै खण्डको ठेक्का लाग्यो

एमसीसीअन्तर्गत ३१५ किलोमिटर प्रसारणलाइनका सबै खण्डको ठेक्का लाग्यो

नेपालखबर
असोज १०, २०८२ शुक्रबार १६:२७, काठमाडौँ

मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले एमसीसीअन्तर्गतका विद्युत् प्रसारणलाइन निर्माणसम्बन्धी सम्पूर्ण ठेक्का सम्झौता सम्पन्न गरेको छ।

शुक्रबार अन्तिम चरणको ११७ किलोमिटर खण्डको निर्माण सम्झौता गरेसँगै एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण गर्न लागिएको ३१५ किलोमिटर विद्युत् प्रसारणलाइन निर्माणसम्बन्धी सम्पूर्ण सम्झौता सम्पन्न गरेको हो।

सम्झौता कार्यान्वयनका सन्दर्भमा यो महत्त्वपूर्ण उपलब्धि रहेको एमसीएले जनाएको छ।

एमसीए–बोज्लर संयुक्त उपक्रमले काठमाडौँ जिल्लामा निर्माणाधीन लप्सीफेदी सबस्टेसनबाट नुवाकोट जिल्लामा निर्माणाधीन रातमाटे सबस्टेसन हुँदै मकवानपुर जिल्लामा निर्माणाधीन नयाँ हेटौँडा सबस्टेसनसम्मको ११७ किमि प्रसारण लाइन निर्माण गर्नेछ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक खरिद प्रक्रियाबाट एमसीए–नेपालले प्रदान गरेको उक्त ठेक्का करिब ७६६.५० लाख अमेरिकी डलरको रहेको छ। यस सम्झौता अन्तर्गत उक्त ४०० केभी प्रसारण लाइनको डिजाइन, स्थापना, परीक्षण तथा सञ्चालनलगायतका काम गरिनेछ। 

एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र आशिष–बोज्लर संयुक्त उपक्रमका प्रतिनिधि निर्माण गौलीले आज एक समारोहबीच एमसीसी र एमसीए–नेपालका पदाधिकारीहरूको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षरण गरेका थिए। 

हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन एल. फ्रान्सिस्कोले भने, ‘यस सम्झौतामा भएको हस्ताक्षरले नेपाल कम्प्याक्ट कार्यान्वयनमा भइरहेको उल्लेख्य प्रगतिको प्रतिनिधित्व गर्छ। यो उपलब्धि यस महत्वपूर्ण प्रसारण लाइनको सफलतापूर्ण निर्माण तथा नेपाली जनताको भावी विकास एवं समृद्धिका लागि एमसीए–नेपालको गहन प्रतिबद्धता तथा लगनशीलताको परिणाम हो।’
एमसीए–नेपालका कार्यकारी निर्देशक विष्टले भने, ‘आज आशिष–बोज्लर संयुक्त उपक्रमसँग यो सम्झौतामा हस्ताक्षर गरेर एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनका सन्दर्भमा एमसीए–नेपालले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। विद्युत् प्रसारण आयोजना अन्तर्गत विद्युत् प्रसारण लाइनका सबै खण्डको निर्माणसम्बन्धी सम्झौता सम्पन्न हुनु महत्वपूर्ण उपलब्धि हो।’

एमसीए–नेपालले नुवाकोट जिल्लामा निर्माणाधीन रातमाटे सबस्टेसनदेखि तनहुँ जिल्लामा निर्माणाधीन नयाँ दमौली सबस्टेसनसम्मको, उक्त सबस्टेसनदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा निर्माणाधीन नयाँ बुटवल सबस्टेसनसम्मको र त्यहाँदेखि नेपाल–भारत सीमासम्म गरी १९८ किमि विद्युत् प्रसारण लाइन निर्माणका लागि सम्झौता यस अघि नै गरिसकेको छ। यसका अतिरिक्त रातमाटे सबस्टेसन, नयाँ दमौली सबस्टेसन र नयाँ बुटवल सबस्टेसन निर्माणसम्बन्धी सम्झौता पनि भइसकेको छ।

एमसीसी नेपाल कम्प्याक्ट निजी क्षेत्रबाट लगानी अभिवृद्धिका लागि सकारात्मक वातावरण सिर्जना गर्दै नेपालको दीर्घकालीन आर्थिक विकासका लागि प्रदान गरिएको ऐतिहासिक सहायता हो। विद्युत् प्रसारण आयोजना र सडक मर्मत आयोजना कार्यान्वयन गरी महत्वपूर्ण पूर्वाधार सुदृढीकरण, सीमापार ऊर्जा व्यापार अभिवृद्धि र नेपालको यातायात सञ्जालमा सुधार गरेर अन्तरआवद्धता विस्तार गर्दै आर्थिक वृद्धिमा टेवा पु¥याउने उद्देश्य एमसीसी नेपाल कम्प्याक्टले लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad