नेपाल प्रहरीले पोखरामा पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ। नेपाल प्रहरी प्रधान कार्यालय कल्याण कोषले पोखरा–७ सहिदचोकस्थित प्रहरी प्रदेश कार्यालयको परिसरमा पम्प बनाएको हो।
सो पम्पबाट आजदेखि पेट्रोल र डिजेल बिक्रीवितरण सुरु गरिएको गरिएको प्रहरी प्रदेश कार्यालयका पोखराका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।
‘प्रहरी कल्याण कोषबाट स्थापित पम्पबाट नियमित रुपमा इन्धन बिक्री वितरण सुरु गरेका छौँ। नेपाल आयल निगमले तोकेको सम्पूर्ण मापदण्ड पूरा गरेका छौँ, यहाँबाट २४सै घण्टा नै सेवा दिनेछौँ’, उनले भने।
नेपाल प्रहरीको यो पम्प गण्डकीमा दोस्रो हो। यसअघि नवलपरासीमा प्रहरीले पेट्रोल पम्प चलाएको छ।
सूचना अधिकारी सापकोटाका अनुसार रु नौ करोड ९६ लाख ६५ हजार लागतमा पेट्रोल पम्प निर्माण गरिएको हो। पम्प निर्माण कार्य एक वर्षअघि सुरु भएको थियो। पम्प निर्माणको जिम्मा ‘एनसी अल्फा हेक्स तेजस्वी जेभी’ले पाएको थियो।
नागरिक समाजको विरोधका कारण केही समय पम्प निर्माण रोकिएको थियो। सरकारी कार्यालय रहेको क्षेत्रमा पम्प निर्माण गर्न नहुने भन्दै नागरिक समाजकातर्फबाट अदालतमा रिट दाएर भएको थियो। पछि अदालतले सो रिट खारेज गरेपछि निर्माण कार्य पुनःसुरु भएको थियो। रासस
Shares

प्रतिक्रिया